साप्ताहिक संवाददाता
कुरा जापानको एउटा गाउँको हो । जापानका गाउँमा हाम्रो पहाडतिर जस्तै सल्लाको काठबाट घर बनाइन्छन् । यस्तै सल्लाले बनाइएको एउटा घरमा एउटा नवविवाहित जोडी बस्थ्यो । महिला स्थानीय स्वास्थ्यचौकीमा काम गर्थिन् । पुरुष केही बिरामी थिए, त्यसैले घरमै बिस्तारै हस्तकलाका सामग्री निर्माण गर्दै श्रीमतीको प्रतीक्षा गर्थे ।
एक दिनको कुरा हो, पलङछेउको झ्यालको चेपमा बिरामी युवाले एउटा अनौठो कीरा देखे । जंगलको रूखतिर पाइने उक्त कीरा कसरी झ्यालको चेपमा आएर बस्यो, उसलाई अनौठो लाग्यो । साँझ उनले श्रीमतीसँग भने, 'आज मैले ऊ त्यो झ्यालको चेपमा जंगलमा पाइने कीरा देखें, घरमा नबस्ने त्यो जंगली कीरा कसरी यो घरमा आएर बस्यो, मलाई अनौठो लाग्यो । श्रीमतीले उत्सुकता जनाएपछि उनीहरू मोमबत्ती लिएर झ्यालछेउमा गए, त्यो कीरा त्यहीँ थियो । दुवैले आश्चर्य माने र त्यो भाग्ला भन्ने आशंकामा चुपचाप फर्किए । (उनीहरू त्यो कीरा घरमै बसोस् भन्ने चाहन्थे, सायद ।)
भोलिपल्ट श्रीमती काममा गइन् । युवक एक्लै भए । उनी बिस्तारै झ्यालको छेउमा पुग्दा छक्क परे, त्यो कीरो अझै त्यहीँ थियो । उनलाई अचम्म लाग्यो । रूखको तल र माथि कुदिरहने त्यो कीरा, हिजोदेखि किन त्यहीँ बसिरहेको छ ? ती युवाले ध्यानपूर्वक कीरालाई हेरे र तीन छक्क परे । त्यो कीरा झ्यालको दुई काठका बीचमा ठोकिएको काँटीका बीचमा अड्किएको रहेछ । थाहा भयो, मिस्त्रीहरूले केही महिनाअघि झ्यालको चौकोस ठोक्दा त्यो कीरा काँटीमा गाडिएको रहेछ । तैपनि जिउँदै थियो ।
ती पुरुषले आश्चर्य र अविश्वासले उसलाई हेरिरहे र त्यसको पीडामा एकछिन रोए । सोचे, आखिर के खाएर बाँचिरहेको छ ? यत्रो समयसम्म ऊ किन मरेन ?
साँझ उनले श्रीमतीलाई सबै कुरा भने । श्रीमती अचम्ममा परिन् । दुवै मैनबत्तीको उज्यालोमा त्यसलाई हेर्न थाले । कीरा वास्तवमै केही महिनाअघि चौकोस ठोक्दा काँटीमा गाडिएको रहेछ । त्यसलाई निकाल्न झ्याल नै भत्काउनुपर्ने अवस्था थियो । उनीहरू किंकर्तव्यविमूढ कीराको अवस्था हेरिरहे । केही बोल्नै सकेनन् । हेर्दाहेर्दै केही समयपछि एउटा अर्को त्यस्तै कीरा झ्यालमा देखियो । उनीहरू श्वास रोकेर त्यो नयाँ कीरालाई हेर्न थाले । उसको मुखमा एउटा मरेको कमिलो थियो । त्यो कीरो झ्यालको चेपमा छिर्यो । मुखको कमिलो काँटीले च्यापिएको कीराको मुखमा राखिदियो । काँटीमा च्यापिएको कीराले कमिला खायो र खुसीको एउटा अनौठो आवाज निकाल्यो । त्यसपछि कमिला ख्वाइदिने कीरा फनक्क फर्किएर उफ्रिदै नाच्यो । यसरी नाच्दा उसका दुबै प्वाँख फैलिए ।
थाहा भयो, च्यापिने भाले रहेछ र खाना ल्याइदिने पोथी ।
राति ती जोडी अँगालोमा बाँधेर निकै बेर रोए । 'मैले सोचेको थिएँ, म असल श्रीमती हुँ, किनभने बाहिर म कमाउन जान्थें र तिमीलाई मीठो-मसिनो ख्वाउँथे ।' श्रीमतीले भनिन्- मलाई माफ गर, आज थाहा भयो, मेरो प्रेम त्यो कीराको जत्ति पनि रहेनछ ।'
हेमजी, तपाईं जसलाई प्रेम गर्नुहुन्छ, उसलाई यति माया गर्नुहोस् कि तपाईंको माया त्यो कीराको भन्दा कम नहोस् । तपाईंले उनलाई म प्रेम गर्छु भन्नै पर्दैन, आफै सबै कुरा थाहा हुन्छ । विचरा त्यो कीरा, जो काँटीमा फसेको थियो, अनि त्यो कीरा, जसले उसलाई दैनिक जंगलबाट आहारा लिएर आउँथी, उनीहरूसँग प्रेमका लागि व्यक्त गर्ने उचित शब्द छैन, केवल एउटा आवाज छ, तैपनि उनीहरू बिच गम्भीर प्रेम छ ।