पैसाको पर्व मानिने तिहारको अवसर पारेर साप्ताहिकले युवा व्यवसायी केशवसँग पैसा कमाउने सूत्रका सम्बन्धमा लामो कुरा गरेको थियो । मानिसको जीवनमा पैसाको महत्त्व, पैसाले दिने सन्तुष्टि तथा उनले पैसा कमाउन प्रयोग गरेको शैलीका बारेमा पनि बहस गरेको थियो । कुराकानीका क्रममा केशवले दैनिक सयौं युवाको विदेश पलायन रोक्न सकिने टिप्स पनि दिएका छन् ।
५० रुपैयाँ बोकेर काठमाडौं आएको केटो छोटो समयमै अर्बपति भयो भन्ने चर्चा सुनिन्छ । खासमा तपाईंसँग कति सम्पत्ति छ ?
तपाईं जतिसुकै धनाढ्य हुनुहोस्, उद्योग-व्यवसायीसँग नगदको सधैं अभाव हुन्छ । नयाँ-नयाँ उद्योग-व्यापारमा हात हाल्न मन लाग्छ । व्यापारमा अघि बढ्ने हो भने त्यो आवश्यक पनि हुन्छ । तैपनि आजको मितिमा सबै व्यापार-व्यवसाय बेचेर नगद जम्मा गर्छु भनेर लागें भने मेरा सबै कम्पनीको सेयर मूल्य २०-५० करोड हुन्छ होला ।
अर्ब पुग्दैन ?
पुग्दैन । बाहिरबाट ठूलो देखिनु र वास्तविकतामा केही फरक हुन्छ । जग्गा-जमिनको मूल्य घटबढ भैरहन्छ । त्यसैले मूल्यको कुरा तोक्न गाह्रो हुन्छ । व्यवशायमा आज करोडपति भोली रोडपति पनि हुन सक्छ । मेरो विचारमा पैसा भन्दा पनि उसको इज्जत ठूलो कुरा हो ।
तपाईंको उमेर धेरै देखिँदैन, कति वर्षमा यो पैसा कमाउनुभयो ?
व्यवस्थित रूपमा व्यापार गर्न थालेको २०५८ सालदेखि हो । म अहिले ३७ वर्षको भएँ । मेरो व्यवसायको वास्तविक विस्तार भएको धेरै भएको छैन ।
पहिलो पटक सबैभन्दा ठूलो आम्दानी कहिले गर्नुभयो ?
त्यही २०५८ सालमा बैंकले लिलाम गर्न लागेको जग्गा सस्तोमा किन्ने मौका पाएँ । त्यसलाई बैंकमा धितो राखेर बलाजुमा दुई रोपनी जग्गा किनें । उक्त जग्गामा चौडा बाटो बनाई प्लटिङ गरें । त्यो जग्गा बेच्दा एकैपटक ३२ लाख रुपैयाँ फाइदा भएको थियो । मेरो पहिलो ठूलो कमाइ त्यही थियो ।
गाउँबाट आएको मान्छे, जग्गामा लगानी गर्नुपर्छ, डिजाइन गर्नुपर्छ भनेर कसरी थाहा पाउनुभयो ?
म गाउँमा छँदादेखि नै अध्ययनमा अब्बल थिएँ । इन्जिनियरिङ मेरो रुचिको विषय थियो । यहि रुचिका कारण मैले इन्जिनियरिङ कन्सल्टेन्सीहरूमा काम गरें । ती अफिसमा काम गर्दा मैले घरको डिजाइन बनाउने, जग्गा प्लटिङको नक्सा बनाउने आदि काम सिकें । सबैभन्दा महत्त्वपूर्ण कुरा, म जुन इन्जिनियरिङ अफिसमा काम गर्थें, त्यो अफिसले बैंकका लागि जग्गा मूल्यांकनको काम गथ्र्यो । त्यसैले बैंकका पदाधिकारीहरूसँग मेरो चिनजान थियो । मेरो प्रगतिमा बैंकहरूको ठूलो योगदान छ । गोजीमा थोरै पैसा हुँदा पनि बैंकहरूले मेरो क्षमतामा विश्वास गरे । रुचिले मलाई घर-जग्गाको डिजाइन सिकायो, त्यसमा बैंकहरूले लगानी गरिदिए । मेरो प्रगतिको पहिलो कारण बैंकहरू नै हुन् ।
घर जग्गामै प्रशस्त आम्दानी हुन्थ्यो, त्यसलाई छाडेर कुखुरापालनतिर आउनुको कारण के थियो ?
मैले सीतापाइला, धापासीजस्ता स्थानमा घर-जग्गामा लगानी गरेर राम्रो पैसा कमाएँ । जब मानिसको गोजीमा पैसा आउन थाल्छ, तब ऊ उक्त पैसा कि त मोज मज्जा गरेर उडाउन थाल्छ कि त पैसा कमाइहालें अब देश-समाजका लागि योगदान दिने खालको काम गर्नुपर्छ भन्ने सोच्छ । म गरिब किसान परिवारबाट आएका कारण किसानलाई सहयोग हुने किसिमको काम गर्न चाहन्थें । पैसा कमाएपछि म देशका विभिन्न कुनामा किसानका लागि सबैभन्दा छिटो र उच्च आम्दानी गर्ने बाटो खोजिरहेको थिएँ । म आफैं पनि घर-जग्गा जस्तै चाँडै पैसा कमाउने बाटो पनि खोजिरहेको थिएँ । मैले आफ्ना लागि कुखुरापालन र अन्डा उत्पादन लागि सबैभन्दा उपयुक्त देखें । त्यसपछि अन्डा (लेयर्स) माउ र बच्चा सबै किसिमका कुखुरा उत्पादनतर्फ लागें । त्यसअघि नै कुखुराका लागि दाना उत्पादन गर्न थालिसकेको थिएँ । जब किसानले कुखुरा उत्पादन गर्न थाले, त्यसलाई आफैंले खरिद गर्नु किसानहरूका साथै मेरा लागि पनि फाइदाजनक थियो । त्यसैले चिस्यान केन्द्र खोले र किसानहरूसँग जिउँदा कुखुरा किन्न थाले । अत्याधुनिक स्लटर हाउस (वैज्ञानिक विधिद्वरा कुखुरा काट्ने मेसिन) खोलें ।
किसानलाई कसरी प्रत्यक्ष फाइदा दिन सकिन्छ भन्ने हिसाबले म कुखुरासँग नजिकिएको हुँ । मेरो विचारमा यो ५० हजार लगानी गरेर ५० दिनमा ५० हजार नै कमाउने अनौठो उद्योग हो । अहिले म ६ जिल्लाका सयौं किसानसँग जोडिएको छु र उनीहरूको जीवनस्तर माथि उठिरहेको पनि देखिरहेको छु ।
घर-जग्गाको काम छाड्नुभएको छैन । कुखुरापालनको क्षमता बढाइरहनुभएको छ । फेरि रेस्टुराँ पनि खोल्नुभएको छ, किन यति धेरै ठाउँमा हात हाल्नुभएको ?
किसानले जुन मासु सय रुपैयाँमा बेच्छन्, त्यही मासु रेस्टुराँमा परिकार बनेर आइपुग्दा ५ सय रुपैयाँ किलो पुग्छ । किसानले उत्पादन गरेको मासुबाट आफैंले रेस्टुराँमा परिकार बनाउने हो भने ताजा परिकार त पाइन्छ नै, आधाभन्दा बढी सस्तो हुँदो रहेछ । मसँग किसानले उत्पादन गरेको ताजा मासु छ भने त्यसलाई किन उपयोग नगर्ने भनेर रेस्ट्राँमा हात हालेको हुँ । जस्तो कुखुराको चल्लासँगै म दाना पनि बेच्छु, त्यसैगरी बजारमा अरूलाई मासु बेच्नुभन्दा त्यसलाई परिकार बनाएर बेच्नु बढी फाइदाजनक हुन्छ, अर्कातिर उपभोक्ताले सस्तोमा परिकार पाउँछन् । एक प्रकारले रेस्टुराँ पनि कृषकसँग प्रत्यक्ष जोडिएकाले यो काम गरेको हुँ ।
रेस्टुराँमा नेपाली कफी, अग्र्यानिक कफी पनि बेच्न पाइने, ताजा ब्रेड पनि खान पाइने नयाँ शैली भित्र्याएपछि यो व्यवसाय फाइदामा जाने विश्लेषण गरेरै रेस्टुराँ खोलेको हुँ।
तपाईंले सौराहामा होटल पनि खोल्नुभयो। त्यसको कारणचाहिँ के होला ?
विदेशमा नेपालको एक बन्डल पैसा एउटा नोटमा रूपान्तरण हुन्छ। नेपालको मुद्रा पनि डलर वा युरोजस्तो बलियो होस् भन्ने हरेक नेपालीको चाहना हो। यस्तो चाहना गरे पनि हामी सरकारलाई दोष दिन्छौं। मैले सोचें, देश विकास गर्न सबैभन्दा पहिले कृषिलाई महत्त्व दिनुपर्छ। प्रत्येक किसान आर्थिक रूपमा मजबुत भए हामी पनि बलिया हुन्छौं। यस अर्थमा कृषि नेपालको आधारभूत कुरा हो। कुखुरापालन गराएर मैले सयौं परिवारलाई बलियो बनाइरहेको छु। त्यसपछि नेपालले पैसा कमाउने दोस्रो क्षेत्र पर्यटन हो। होटल खोलेर पर्यटकलाई एक दिन बढी नेपाल बसाउन सकिन्छ र विदेशी मुद्रा देशमै राख्न सकिन्छ भनेरै मैले होटल खोलेको हुँ। मेरो होटल सुरुदेखि नै नाफामा गयो। उक्त पैसाले मैले पोखरा र ककनीमा जग्गा किनें र केही समयभित्रै त्यहाँ होटल खोल्ने तयारी गर्दैछु।
छोटो समयमै धेरै पैसा कमाउनुभयो, यो भाग्य हो कि कर्मको प्रतिफल ?
मेरो विचारमा कर्मले भाग्य बनाउँछ। कर्म नै नगरी भाग्य बन्दैन। म भाग्यलाई भन्दा कर्मलाई महत्त्व दिन्छु।
तपाईंको काम गर्ने शैली के हो ?
म कर्मचारी छान्दा निकै ध्यान पुर्याउँछु। जसलाई जे काममा रुचि छ, उसले त्यही काम गर्नुपर्छ। त्यस्ता मानिसले उक्त काम राम्रोसँग गर्न सक्छन्। म पैसाको महत्त्व बुझेको, दुःख चिनेको, कर्मलाई नै पूजा गर्ने व्यक्तिलाई मात्र काममा राख्छु। म कति पैसा आम्दानी भयो भन्नेमा भन्दा कर्मचारीले आफ्नो ड्युटी राम्रोसँग गरिरहेका छन् कि छैनन् भन्ने कुरामा ध्यान दिन्छु। असल मानिसलाई काम दिएपछि आफैं आर्थिक प्रगति हुन्छ भन्ने कुरामा विश्वास राख्छु।
त्यसबाहेक जुन व्यक्ति जुन काममा छ, त्यसमा उसलाई स्वायत्तता दिन्छु। स-साना कुरा पनि मसँग सोध्नुपर्ने अवस्थाबाट मुक्त गरिदिन्छु। सातामा एकपटक मिटिङ गर्छु। सबै कर्मचारीलाई बिहानको खाना अफिसमै ख्वाउने व्यवस्था मिलाएको छु। कर्मचारी र किसानका सबै समस्या सकेसम्म समाधान गर्ने प्रयास गर्छु।
कति घण्टा काम गर्नुहुन्छ ?
मैले १० वर्ष बिहान ५ बजेदेखि राति ९ बजेसम्म काम गरें। अहिले व्यापार व्यवस्थित हुँदै गएपछि बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म मात्र काम गर्छु। बाँकी रहेको समय स्वास्थ्य र परिवारलाई दिन्छु। सुरुमा कमाउनुपर्ने बाध्यताले श्रीमती तथा छोराछोरीलाई समय दिन पाएको थिइनँ, अहिले धेरै समय उनीहरूलाई दिन्छु।
पैसा कमाउन साथीभाइ तथा रक्सी-चुरोटको सहारा चाहिन्छ भनिन्छ, तपाईंको अनुभवले के भन्छ ?
म जाँडरक्सी, चुरोट केही पनि खान्नँ। अरूको रमाइलोमा सामेल हुन्छु, तर त्यसमा डुब्दिनँ। कहिलेकाहीँ काम लिननै पनि अरूका लागि त्यसो गर्नु जरुरी हुन्छ। यो नेपालीहरूको संस्कार नै भैसकेको छ। तैपनि म पैसा कमाउन यस्ता कुराको सहारा लिनुपर्छ भन्ने मान्दिनँ। मेहनत नै पैसा कमाउने मुख्य सूत्र हो।
धेरै मानिस पैसा कमाउन चाहन्छन्, तर सकिरहेका हुँदैनन्। पैसा कमाउन चाहनेहरूका लागि मुख्य टिप्स के-के हुन् ?
रुचिको काम गर्नु नै पैसा कमाउने पहिलो सूत्र हो। मानिसले जेमा आफ्नो रुचि छ त्यसमा मन लगाएर काम गर्नुपर्छ। जो पैसा कमाउन चाहन्छन् तर सकिरहेको छैनन् भने उनीहरूले बुझ्नुपर्छ— म गलत ठाउँमा छु। कुनै पनि क्षेत्रमा १० वर्ष मेहनतपूर्वक काम गर्यो भने नेपालमा त्यो मान्छे ठूलो हुन्छ, धनी हुन्छ र सन्तुष्ट हुन्छ।
व्यापारमा असफल मानिसलाई के सुझाव दिनुहुन्छ ?
एकपटक असफल भएपछि मानिस हतास हुन्छ। आफूबाट के कमजोरी भयो, त्यो कमजोरीलाई नदोहोर्याई अघि बढ्नुपर्छ। धेरै मानिस समस्याबाट डराउँछन्, भाग्छन्। म भन्छु, समस्यालाई फेस गर्नुपर्छ। समस्याबाट डराएर त्यसको समाधान हुँदैन, डटेर मात्र समाधान हुन्छ।
पैसा कमाउँदै गएपछि मानिसमा के-कस्ता परिवर्तन आउँछन् ?
सुरुमा मान्छेले 'म' लाई महत्त्व दिन्छ। 'म' कसरी पेट पालौं, समाजमा कसरी नाम कमाउं भन्ने सोचेर काम गर्न थाल्छ। जब 'म' केही हुन थाल्छ, उसमा 'मेरो' भन्ने भावना पलाउँछ। 'मेरो' नाम, 'मेरो' सम्पत्ति, 'मेरो' इज्जत उसलाई प्यारो हुन्छ। त्यसपछि उसलाई के थाहा हुन्छ भने 'मेरो सम्पत्ति, मेरो नाम' तबसम्म सुरक्षित हुँदैन, जबसम्म 'हामी' मिल्दैनौ। 'हामी' भित्र 'मेरो' को सुरक्षा देख्न थालेपछि उसमा मिलेर काम गर्ने बानीको विकास हुन्छ। अन्त्यमा 'म' नै 'हामीहरू' हुन्छौं।
धेरै सम्पन्न मानिसमा 'म’ र मेरो भन्ने भावना हुन्छ। उनीहरू हामी सबै बन्नुपर्छ भन्ने भावना राख्दैनन्, किन होला ?
एक्लै सम्पन्न हुनुमा कुनै मज्जा छैन। जबसम्म मिल्ने साथीहरू आफू समान हुँदैनन्, आफ्ना परिवारका सदस्य कोही तल कोही माथि हुन्छन् भने त्यो सम्पन्नता खल्लो हुन्छ। मेरो विचारमा सबै सँगै माथि जानुपर्छ। सबै नेपाली धनी भएपछि मात्र मेरो पनि इज्जत बढ्छ। नत्र म पनि गरिव देशको नागरिक हुन पुग्छु, चाहे म जतिसुकै सम्पन्न किन हौं ।
कृषिमा हात हालेर अरूलाई पनि सम्पन्न बनाउने काम गरिरहनुभएको छ, तर मानिसको जात ईष्र्यालु हुन्छ। तपाईंको अनुभवले के भन्छ ?
नेपाली समाज सम्पत्तिलाई बढी महत्व दिन्छ। जतिबेला मसँग स्टोभमा हाल्ने मट्टीतेल हुँदैनथ्यो, चामल र तरकारी हुँदैनथ्यो, त्यो बेला म आफन्तको घरमा खान खान पुग्थें। त्यतिबेला कतिपय घरबाट म भोकै फिर्ता भएको छु। उनीहरूको व्यवहार नै यो केटो मेरो घरमा नआइदेओस् भन्ने हुन्थ्यो। केही साथीभाइले एउटा दुनट ख्वाएर मेरो भोक टारिदिएका छन्। आज ती व्यक्तिहरू नै मलाई घरमा खाना खान बोलाउँछन्, मरिहत्ते गर्छन्। दुनट ख्वाउने साथीहरू भने त्यसको क्रेडिट लिन चाहँदैनन्। मेरो अनुभवले के भन्छ भने आफन्तहरूलाई ९९ पटक गुन लगाउनुहोस् तर एकपटक बैगुन गर्नुभयो भने उनीहरूले त्यही एकपटकको बैगुन सम्झन्छन्। साथीहरूलाई ९९ पटक अस्वीकार गर्नुहोस् तर एकपटक गुन गर्नुभयो भने उनीहरूले त्यही गुन सम्झिरहेका हुन्छन्।
जब तपाईं महँगा गाडी चढ्नुहुन्छ, संसार घुम्नुहुन्छ, त्यतिबेला के सम्झनुहुन्छ ?
विदेश जाँदा जब म बेन्च कार चढ्छु, सबैभन्दा महँगो होटलमा बस्छु, त्यति बेला मेरो मुटु चसक्क दुख्छ। मलाई चरचरी खुट्टा फुटेका, मरीमरी हाड घोट्दा पनि पेटभरि खान नपुगेका दाजुभाइ तथा आमाबुवाहरूको सम्झना आउँछ। कुनै बेला म पनि त्यस्तै अवस्थामा थिएँ भन्ने कुरा सम्झन्छु। उनीहरूका लागि केही योगदान गर्न पाए हुन्थ्यो भन्ने लाग्छ।
केही गरिरहनुभएको छ कि यो भावना मात्र हो ?
आम्दानीको केही प्रतिशत यस्तै काममा लगानी गर्नुपर्छ भनेर एउटा संस्था खोल्दैछु। पहिले अनौपचारिक रूपमा गर्थें, अब औपचारिक ढंगले, योजनाबद्ध रूपमा काम गर्ने विचार छ। तैपनि मेरो उद्देश्य के हो भने उद्योगपतिका नाताले मैले त्यस्ता उद्योग खोल्नुपर्छ, जसले बढीभन्दा बढी मानिसलाई रोजगारी दिन सकोस्। प्रत्यक्ष योगदान गर्दा मानिसमा अहम बढ्छ। म ठूलो मान्छे हुँ भन्ने घमन्ड उत्पन्न हुनसक्छ। आजका दिनसम्म मैले आफ्नो धरातल बिर्सिएको छैन, विर्सन पनि चाहन्नँ। त्यसैले कृषिमै काम गरौं, बढीभन्दा बढी किसानलाई काम दिऊँ र उनीहरूको स्तर उकासौं भनेर लागिरहेको छु।
भविष्यको योजना के छ ?
मेरा धेरै साथीभाइ एवं आफन्त अब किन काम गर्नुपर्यो, आनन्दपूर्वक बसेर खाए भैहाल्यो नि भन्छन्। मेरो विचारमा मलाई मात्र आनन्द भएर हुँदैन। मलाई मेरो मनले मेरो परिवार भोकै मर्दैन भनेर चुप लागेर बस्न दिदैन। त्यसरी बसें भने म बिगि्रएँ, बरबाद भएँ भन्ने लाग्छ। केही दिनअघि कृषिसम्बन्धी एउटा सेमिनार भएको थियो। उक्त सेमिनारबाट के थाहा भयो भने हाम्रो देशमा पशुपालनका लागि २५ अर्ब रुपैयाँको दाना आउँदो रहेछ। कृषि प्रधान मुलुकमा विदेशबाट अर्बौं रुपैयाँको दाना आउनु कति दुर्भाग्यको कुरा हो ? म चाहन्छु, सबै बाँझो जग्गामा भटमास, सूर्यमुखी, तीलजस्ता खाद्यपदार्थ लगाउन पाइयोस्। विदेशबाट करोडौं रुपैयाँका फलफूल, तरकारी आउँछन्। कागती मात्र पनि करोडौं मूल्यको आउँछ। यस्तो अवस्थामा हामीले कुनै यस्तो काम गरौं, जसले विदेश जाने युवाहरूलाई रोक्न सकियोस्, काम दिन सकियोस्। त्यसैले पनि चुप लागेर बस्न सकिँदैन, केही न केही गरिरहन मन लाग्छ।