काठमाडौंको मुख्य किनमेल केन्द्र असनस्थित एक मिठाई पसलमा काम गर्ने रामप्रसाद गमालले आफूले दसैंअघिदेखि नै मिठाई बनाउन थालेको बताए। 'हामीले दसैं अघिदेखि मिठाई बनाउन थालेका हौं, दसैंमा समेत घर जान पाइएन' उनले भने। आफूहरूले जहिले पनि दसैं अघिदेखि तिहारको काम थाल्ने उनको दाबी थियो। 'दसैं अघिदेखि काम नथाले त भ्याइँदै भ्याइँदैन,' गमालले भने। पसलको नाम बताउन नचाहने रामप्रसादले आफूहरूले बनाएका मिठाई राजधानीका अधिकांश पसलमा पुग्ने जानकारी दिए।
पाटनका एक व्यवसायीले प्रतिस्पर्धाका कारण मिठाईमा रंग मिसाउन बाध्य भएको वताए। नाम उल्लेख गर्न नचाहने ती व्यवसायीका अनुसार व्यवसायमा टिक्न पनि मिठाईमा मिसावट गर्नुपर्छ। 'आकर्षक नबनाई कसैले किन्दैन, व्यवसाय नै धरापमा पर्छ, त्यसैले व्यवसायमा टिक्न पनि रंगको प्रयोग अत्यावश्यक छ' उनको दाबी थियो। दीपावलीका अवसरमा जतिसक्दो व्यापार गर्नुपर्ने भएकाले प्रतिस्पर्धी पनि अस्वस्थ्य हुने व्यवसायीहरू नै बताउँछन्।
नाम उल्लेख नगर्ने सर्तमा बाँगेमुडास्थित एक मिठाई पसलमा कार्यरत कामदारले आफूले काम गर्ने पसलमा बजारबाट फिर्ता आएका मिठाईको पुनः प्रयोग हुने कुरा स्वीकार गरे। 'बजारमा बिक्री नभएर फिर्ता आएका कुनै पनि मिठाई खेर जाँदैनन्, फेरि मुछमाछ गरेर पकाउँछौं तर खानेहरूले त्यसको सुइकोसम्म पाउँदैनन्' उनले भने। 'तिहारलाई भनेर एक महिनादेखि बनाइएका मिठाई कसरी शुद्ध हुन्छन् ?' उनले प्रतिप्रश्न गरे। उनले मिठाई घरमै बनाएर खान सल्लाह पनि दिए। रंगीचंगी मिठाई खानुभन्दा सामान्य सेल, जेरी, मालपुवा आदि खानु उपयुक्त हुने उनको भनाइ छ।
दीपावलीका लागि बनाइने विभिन्न प्रकारका मिठाई करिब एक महिना अघिदेखि तयार पारिन्छन्। ती मिठाईलाई विभिन्न किसिमले भण्डारण गरिन्छ। विभिन्न्न अखाद्य रंग मिसाएर बनाइने यस्ता मिठाई स्वास्थ्यका लागि विषसमान हुन्छन्।
गत वर्ष वाणिज्य विभागले गरेको अनुगमनमा राजधानीका विभिन्न पसलबाट खाद्य रंग मिसाइएका, ढुसी परेका, मिति नाघेका, कीरा परेका तथा एसिडसमेत प्रयोग भएका मिठाई बरामद भएको थियो। त्यसैगरी मिठाई पकाउने भान्सा, मिठाई बनाउने क्रममा प्रयोग हुने भाँडाकुँडा आदि पनि उत्तिकै फोहोर पाइएको थियो। अधिकांश पसलले बजारबाट फर्काइएका मिठाईलाई पुनः प्रयोग गरेर गँुदपाक, लगायत अन्य मिठाई बनाएको पनि विभागले फेला पारेको थियो। मिठाई पसलमा प्रयोग गरिएको पानी समेत दूषित थियो। त्यस्तै मिठाई बनाउन प्रयोग हुने चिनीको चास्नीमा मौरी, झिँगा तथा साङ्लाहरू मरेर तैरिरहेका थिए।
मिठाईलाई आकर्षक देखाउन प्रतिबन्धित रंगसमेत प्रयोग गरिएको पाइन्छ। बालबालिकाहरूले बढी मन पराउने लड्डुमा मेटानिल एलो नामक अखाद्य रंग प्रयोग हुन्छ। मिठाई मा प्रयोग हुने रोडामाइन, सेन्थेटिक डाइज, हाईड्रा, मेटालिक एल्लो आदि रंगले मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। यी रंगहरू गंलैचा तथा कपडा रंग्याउन प्रयोग हुन्छ। यी रंगको प्रयोगले एलर्जी, अल्सर, हैजा, आँखाको ज्योति गुम्ने, शुक्रकिट नष्ट हुने, हेमोग्लोविन नष्ट हुने, फुड पोइजन, झाडापखाला जस्ता समस्या देखा पर्ने चिकित्सकहरू बताउँछन्। यस्ता मिठाईको विकल्पमा फलफूल उपभोग गर्न सकिने चिकित्सकहरूको सुझाव छ।