झापा, सुरुङ्गाका ५ फिट ९ इन्च अग्ला जीवन ओडारीले हेन्डसम नेपालमा सहभागी हुँदा बेस्ट पर्सनालिटीको उपाधि हात पारेका थिए। त्यसपछि निरन्तर रूपमा मोडलिङमा क्रियाशील ओडारीले ग्ल्यामरस नेपालद्वारा आयोजित एक दर्जनभन्दा बढी फेसन शोमा र्याम्प वाक गरिसकेका छन्। उनले गायक आनन्द कार्कीको एउटा गीतमा नायिका शोभिता सिम्खडासँग अभिनय गरेका छन्। डान्स, फाइट तथा अभिनयको तालिम लिइसकेका ओडारी भन्छन्- 'हिरोका लागि पूर्ण रूपमा तयार छु।' मोडलिङलाई व्यक्तित्व विकासको महत्त्वपूर्ण पाटो मान्छन् उनी। मोडलिङमा लागेर बाँच्न सक्ने आधार तयार हुँदै गएको ओडारीको दाबी छ। आफू प्रेममा नपरे पनि प्रेम-प्रस्ताव प्रशस्तै आउने उनले बताए। सिम्पल र आफूलाई बुझ्ने खालकी युवती मन पराउने प्रेमलाई दुई आत्माको देन मान्छन्। प्रेम छ भने विवाहअघि फिजिकल सम्पर्क राखे पनि फरक नपर्ने ओडारीले बताए।