भारत-भुटानको सीमावर्ति सहर जयगाउँमा गएको शनिबार बाबु बोगटीले तहल्का मच्चाए। राजेश घतानीद्वारा निर्मित तथा बाबु आफैंद्वारा अभिनीत चलचित्र बितेका पलको प्रिमियर शोमा सहभागी बोगटीले आधा दर्जनजति गीत सुनाए। जयगाउँका दर्शकमाझ अत्यधिक रुचाइएको तुल्सी आँगनमा रोपौला गीत उनले बारम्बार दोहोर्याए। उक्त अवसरमा बाबुको साली-साली गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो। उक्त गीतमा श्रीमतीकी बहिनी सालीलाई एउटा विम्बका रूपमा प्रस्तुत गरिएको बाबुले बताए। बाबु सोमबार मिरिकमा आयोजित कन्सर्टमा पनि सहभागी भए। बाबुलाई झापाली गायक कुमार लिम्बू, गायिका जिना रसाइली, कोलकाताकी गायिका शीतल दियाली, राजेश घतानी, भुटानी गायक ओला आदिले पनि साथ दिएका थिए। कार्यक्रममा बितेका पलकी नायिका केकी अधिकारी पनि सहभागी थिइन्।