ललितपुरको पाटन ऐतिहासिक स्थलका रूपमा पिरिचित छ। त्यहाँ वर्षभरि अनेक जात्रा तथा नृत्यहरू देखाइन्छ। पाटन कार्तिक नाचका कारण पनि प्रख्यात छ। यो नाच वि.सं. १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले प्रारम्भ गरेको बताइन्छ। कार्तिक नाच अन्तर्गत नै तत्कालीन समयको रहनसहन र जीवन पद्धतिलाई समेटेर 'बाःथःप्याखं अर्थात् बाठाहरूको नाटकसमेत देखाइन्छ। सिद्धिनरसिंह मल्ल, उनका छोरा श्रीनिवास मल्ल हुँदै नाति योगनरेन्द्र मल्लको पालासम्म आइपुग्दा विभिन्न देवीदेवताको नाच थपेर यसलाई कात्तिक महिनाभरि सञ्चालन गरिएको भए पनि हाल यो नाच आठ दिनमात्र सञ्चालन हुन्छ। विशेष गरेर यो नाच मंगलबजारको पश्चिमतर्फको डबलीमा देखाइन्छ। नेपालको सांस्कृतिक इतिहासमा यसलाई लामो नृत्यवाटिका पनि मानिन्छ। यस अवसरमा कृष्णलीला, श्रीवराह तथा नृसिंह अवतारमा आधारित नाच देखाइन्छ।