नेपालको इतिहासमा आफ्नो सनकका लागि प्रसिद्ध राजाहरूको कुनै कमी छैन, तर एक जना राजा भने पागलपनकै सिकार भएर राजगद्दी त्याग्न बाध्य भए। यसरी राजगद्दी त्याग्न बाध्य राजा थिए— हिजोआज काठमाडौंको परिचय बनेको काष्ठमण्डपका निर्माता लक्ष्मीनरसिंह मल्ल। काष्ठमण्डपकै निर्माणपछि त्यतिबेला कान्तिपुर भनिने काठमाडौंले नयाँ नाम पाएको थियो। राजा लक्ष्मीनरसिंह मल्लको समयमा काठमाडौंका प्रसिद्ध व्यापारी थिए— काजी भीम मल्ल। नाताले भीम मल्ल राजा लक्ष्मीनरसिंह मल्लका बहिनी ज्वाइँ थिए। तिनै भीम मल्लको ख्याति चौतर्फी भएपछि शत्रुहरूले भीम मल्लविरुद्ध राजा लक्ष्मीनरसिंह मल्लको कान फुके। ती षड्यन्त्रकारीहरूको कुरामा विश्वास गर्दै राजा लक्ष्मीनरसिंह मल्लले काजी भीम मल्ललाई आफ्नो गाथगद्दी ताकेको आरोपमा मृत्युदण्ड दिए। आफ्ना पतिले मृत्युदण्ड पाएपछि राजा लक्ष्मीनरसिंह मल्लकी बहिनी तथा भीम मल्लकी श्रीमतीले 'नेपाल दरबारको भलो चाहनेको यस्तै गति होस्' भनेर श्राप दिएका कारण अहिले पनि नेपाललाई सतिले सरापेको देश भनिन्छ। ज्वाइँ भीम मल्लले मृत्युवरण गरेको केही समयपछि राजा लक्ष्मीनरसिंह मल्लले सत्य कुरा थाहा पाए। त्यसपछि आफ्नो कुकर्मका कारण पश्चातापमा परेका राजा लक्ष्मीनरसिंह मल्लले मानसिक सन्तुलन गुमाए। यसरी राजाले मानसिक सन्तुलन गुमाएपछि उनका युवराज प्रताप मल्लले विक्रम संवत् १६९६ मा उनलाई गद्दीबाट हटाएर आफैं राजा भए। गद्दीबाट हटाइएको १८ वर्षपछि विक्रम संवत् १७१४ मा राजा लक्ष्मीनरसिंह मल्लको पागलपनकै अवस्थामा निधन भएको थियो।