टाटु एवं पियर्सिङका सौखिन तथा रक मेटल संगीत रुचाउने कति छन् भन्ने कुरा यस वर्षको 'साइलेन्स फेस्टिभल-२०१४' बाटै प्रस्ट हुन्छ । काठमाडौंको भृकुटीमण्डपमा गत कात्तिक ३ गतेदेखि ५ गतेसम्म चले उक्त फेस्टिभलमा सयौं टाटु सौखिनहरूले आ-आफ्नो रुचिअनुसार टाटु खोपाए । अन्तर्राष्ट्रिय स्तरको उक्त फेस्टिभलमा २० देशका टाटु आर्टिस्ट तथा सौखिनहरूको सहभागिता थियो । टाटु एन्ड लाइफ स्टाइल कन्भेसन नामकरण गरिएको फेस्टिभलमा स्वदेश तथा विदेशका रक गायकहरूले प्रस्तुति दिएका थिए भने नेपालकी झरना गुरुङले पहिलो पटक बडी सस्पेन्सन गराएकी थिइन् ।उक्त फेस्टिभलमा झरना गुरुङले शरीरभरि छेडेर डोरीमा झुन्डिएको दृश्य देखेर दर्शकहरू चकित भएका थिए । नेपाल इन्कको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नयाँ तथा पुराना कार एवं मोटरसाइकलहरूको प्रदर्शन पनि गरिएको थियो । तीन दिनसम्म चलेको कार्यक्रमको अन्तिम दिन बाइक स्टन्ट प्रदर्शनीमा दर्शकहरू रमाएका थिए भने जिन्दावाद ब्यान्डको दैनिक प्रस्तुतिले दर्शकहरूलाई नचाएको थियो ।