साप्ताहिक संवाददाता
जितु नेपाल तथा शिवहरि पौडेलद्वारा संयुक्त रूपमा निर्देशित यो टेलिश्रृंखलामा समसामयिक विषयवस्तुमा व्यंग्य गरिन्छ । ५ सय भागको खुसियाली साटासाट गर्न जीरे खुर्सानीको युनिट गोंगबुस्थित हिमालय वृद्धाश्रम पुगेको थियो । जीरे खुर्सानी टोलीले त्यहाँ आश्रति ज्येष्ठ नागरिकसँग बसेर बिहानको खाना खाँदै सफलताको खुसीयाली साटासाट गरेको हो । त्यस क्रममा युनिटले वृद्धवृद्धाहरूलाई कपडा तथा जुत्ता-चप्पलसमेत वितरण गरेको थियो । उक्त समारोहमा टेलिश्रृंखलाका निर्देशक, मुख्य कलाकार तथा प्राविधिकहरू सहभागी थिए । टेलिश्रृंखलामा जितु नेपाल तथा शिवहरि पौडेलसहित राजाराम पौडेल, किरण केसी, सविता गुरुङ, मनोज आचार्य, देवीराम पराजुली, नीरज नेपाल आदि कलाकारले अभिनय गरिरहेका छन् । यसअघि श्रृंखलाले २ सय भाग पूरा गर्दा कुष्ठरोगीहरूलाई सम्मान गरेको थियो भने ३ सय भाग पूरा गरेको अवसर पारेर खगेन्द्र नवजीवन विशेष शिक्षा मावि, जोरपाटीका बालबालिकाहरूलाई सहयोग गरेको थियो । श्रृंखलाले ४ सय भाग पूरा गरेको अवसरमा पर्वतको रानीपानीका अपाङ्ग बालिकाहरूलाई सम्मान गरिएको थियो ।