साप्ताहिक संवाददाता
कलाकार : दयाहाङ राई, खगेन्द्र लामिछाने, सुशांक मैनाली, ऋचा शर्मा, रजनी गुरुङ, प्रकाश घिमिरे तथा राज थापा ।
व्यवसायिक रूपमा सफल चलचित्र 'लुट' का निर्देशक निश्चल बस्नेतद्वारा निर्देशित दोस्रो चलचित्र 'टलकजंग भर्सेस टुल्के' को सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ । टे्रलर सार्वजनिक भएपछि दर्शकहरूको प्रतीक्षाको विषय बनेको यो चलचित्रमा पृथक् पृष्ठभूमिको कथा बुनिएको बताइन्छ । चलचित्रमा नयाँ तथा पुराना कलाकारले उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
चलचित्रमा नायिका ऋचा शर्माले थारु युवतीको भूमिका निर्वाह गरेकी छिन् । रवीन्द्रसिंह बानियाँले निर्माण गरेको यो चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । लामिछाने रंगमञ्चमा स्थापित भैसकेपछि चलचित्रमा आएका हुन् । चलचित्रमा खगेन्द्र नै टुल्केको भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा टुल्केले आफ्नो पहिचान खोज्न गरेको संघर्षलाई आकर्षक शैलीमा चित्रण गरिएको छ । एउटा सोझो गाउँले युवकले आफ्नो गुमेको परिचय खोज्न गरेको संघर्षको कथालाई चलचित्रको मुख्य विषय बनाइएको छ । यो चलचित्रका लागि र्यापर यमबुद्धले गाएको एउटा गीत दर्शकको रोजाइमा परिसकेको छ ।
निर्देशक : लक्ष्मण सुवेदी
संगीतकार : टंक बुढाथोकी
कलाकार : सलोन बस्नेत, अनु शाह, रिस्ता बस्नेत, जोन तामाङ, शिशिर भण्डारी, सोभित बस्नेत तथा नारायण पुरी ।
एक दशकदेखि रंग पत्रकारिता गर्दै आएका सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेब्यु निर्देशनको चलचित्र 'एउटा साथी' आज शुक्रबारदेखि प्रदर्शन आउँदैछ । चलचित्रमार्फत यो क्षेत्रमा पुस्ता हस्तान्तरणको क्रम प्रारम्भ गरेको निर्देशक सुवेदीको दाबी छ । चलचित्रमा पुराना निर्देशक सोभित बस्नेतका छोरा सलोन बस्नेत तथा कलाकार बिपना बस्नेतकी छोरी रिस्ता बस्नेत मुख्य भूमिकामा छन् । काठमाडौं, कुलेखानी, हेटौंडा आदि स्थानमा छायांकन गरिएको यो चलचित्रमा युवापुस्ताको प्रेमकथा चित्रण गरिएको छ । रोमान्टिक प्रेमकथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको यो चलचित्रमार्फत युवापुस्ताको प्रेम, विछोडजस्ता विषय समावेश गरिएको छ । चलचित्रको 'खाली-खाली थियो मन' तथा 'शीतल पवनलाई सोध न' गीत लोकप्रिय भैसकेका छन् । रामचन्द्र खनालले निमर्ाण गरेको यो चलचित्रमा रामजी लामिछाने तथा गम्भीर विष्टको नृत्य-निर्देशन छ भने राजेन्द्र खड्गीको द्वन्द्व-निर्देशन छ । चलचित्र एउटा साथीका मुख्य सहायक निर्देशक सुशील पंगेनीले नै यो चलचित्रको कथा पनि लेखेका हुन् ।