तिहारको अवसर पारेर चुच्चेपाटी, चावहिलस्थित केएल टावरले गायक आनन्द कार्कीलाई एकल गायन कार्यक्रममा प्रस्तुत गरेको छ । गत असोज ४ गते प्रारम्भ भएको दसैं-तिहार सप एन्ड विन कार्यक्रमको समापन समारोहमा आयोजित कन्सर्टमा गायक कार्कीले करिब दुई दर्जन लोकप्रिय गीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय बनाएका थिए । कार्यक्रममा गायक कार्कीलाई गायिका सुधा रत्नले युगल गायनमा साथ दिएकी थिइन् । 'यी हल्लाहरू हुन्...' गीतबाट प्रारम्भ भएको गायक कार्कीको एकल गायन 'भरे आउँछु सपनीमा...' सम्म पुगेर टुंगिएको थियो । पाँच जना वाद्यवादकसहित प्रस्तुत भएका गायक कार्कीले कन्सर्टमा केही हिन्दी गीत समेत प्रस्तुत गरेका थिए ।