कम उमेरमा गर्भवती हुँदा आमा र शिशुको ज्यान जाने उच्च जोखिम हुने भए पनि बाँकेमा २१ प्रतिशत कम उमेरका किशोरी सुत्केरी हुने गरेको जिल्ला जनस्वास्थ्यको तथ्यांकले देखाएको छ । सरकारले मातृशिशु मृत्युदर घटाउन २० वर्ष पुगेपछि मात्रै विवाह गर्न सचेतना अभियान सञ्चालन गरिरहेका बेला कम उमेरमै सुत्केरी हुनेहरूको यही डरलाग्दो तथ्यांक सार्वजनिक भएको हो ।
१५ वर्षको हुँदा विवाह गरेको भिमीले बताइन् । 'सानै उमेरमा मायाप्रेम भयो अनि विवाह गरियो,' उनले भनिन्, 'यस्तो हुन्छ भन्ने थाहै भएन ।' गत आर्थिक वर्ष बाँकेमा ९ हजार ८ सय ८५ महिला सुत्केरी भएको जिल्ला जनस्वास्थ्यले जनाएको छ । तीमध्ये २० वर्षमुनिका २ हजार ८ सय ९३ किशोरी सुत्केरी भएका थिए । सुत्केरी हुने क्रममा २२ जना आमाको मृत्यु भएको थियो ।
'सानै उमेरमा विवाह गरी गर्भवती हुने घटना धेरै आउँछन् । १४ वर्षका किशोरी पनि गर्भजाँचका लागि आउने गरेका छन्,' कम्दी उपस्वास्थ्यचौकीकी अनमी मोहनी शाहले भनिन्, 'आधुनिक समयमा सानै उमेरमा प्रेम हुने र शिशु जन्माउने घटना आम भैसकेको छ ।' २० वर्ष नपुगी सुत्केरी भए शिशु स्वास्थ्य नहुने र आमाको ज्यान जाने खतरा हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । परिपक्व नभई किशोरीले शिशु जन्माउदा कुपोषण हुने, एनिमियाको संक्रमण एवं पाठ्यघर खस्न सक्ने समस्या देखिने जिल्ला जनस्वास्थ्यकी पब्लिक हेल्थ स्टाफनर्स शोभा अधिकारीले बताइन् ।
अश्लील चलचित्र हेर्ने बानी तथा देखासिकीका कारण किशोर-किशोरीहरू कम उमेरमै प्रेममा फस्छन् । त्यस्तै बालविवाहका कारण पनि किशोरीहरूले कम उमेरमै गर्भधारण गर्नुपर्ने बाध्यता छ । त्यसका लागि सानै उमेरका बालबालिकालाई पनि स्वास्थ्य तथा यौनशिक्षा दिन आवश्यक भएको स्वास्थ्यकर्मीहरूको सुझाव छ ।