काभ्रेको पाँचखाल क्षेत्रमा आवश्यक एम्बुलेन्सका लागि रकम संकलन गर्ने उद्देश्यले स्थानीय पुफा फुटबल चौरमा मनोरञ्जक कार्यक्रम सम्पन्न भएको छ । अघिल्लो बिहीबार सम्पन्न उक्त कार्यक्रममा लोकप्रिय कलाकारहरूले स्थानिय दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा गायिका कोमल ओलीको प्रस्तुतिमा युवायुवती तथा वृद्ध दर्शकहरूसमेत नाचेका थिए । कार्यक्रममा गायक रामकृष्ण ढकालको प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो । रोज मोक्तानका लोकगीतमा रमाएका दर्शकहरूलाई गायक विजय लामा तथा भरत सिटौलाले थप नचाएका थिए । कार्यक्रममा गायक बादल प्रसाईं, गायिका श्रुति सिंह तथा बनेपाको सांगीतिक समूह ग्लुमी गाइजका गायक हरि कर्माचार्यले पनि आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए ।