हुक्काहुक्की मनाउन पूर्वका राजवंशी, कोच, ताजपुरिया, ऋषदिेव, माझी, गन्गाई समुदायले सामूहिक रूपमा हुक्काहुक्की खेलको आयोजना गर्छन् । 'दादो-दादी हुक्का दे' भन्दै सनपाटको डाँठ बालेर आकाशतिर फाल्ने खेल हुक्काहुक्की विशेषत: लक्ष्मीपूजाको साँझ खेलिन्छ ।
दिवंगत हजुरबुबा, हजुरआमा वा जोसुकै पितृहरूलाई 'हामीले तिमीलाई सम्झिएका छौं हामीलाई आशीर्वाद देऊ' भनी आशीर्वाद माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको झापाका स्थानीय पत्रकार आत्माराम राजवंशी बताउँछन् । लक्ष्मी पूजाको बिहानै आ-आफ्नो धान खेतमा गई 'लोकेर धान आउल बाउल हामार धान दुधेर चाउल, लोकेर धान हेकाबेका हामार धान दुधेर टेका सोरा.... सोरा' (अरू भन्दा हाम्रो धान राम्रो फलोस, अरूको धान भन्दा हाम्रो धान दूधको जस्तो होस्) भन्दै आशीर्वाद माग्छन् । खेतबाट इलुवा (एक प्रकारको घाँस) घरमा ल्याएर सनपाटको डाँठलाई बाँधेर हुक्का बनाउँछन् । घरको देवता र महाराजथानमा हुक्का चढाएर देवतासँग घरका सबै सदस्यलाई वर्षभरि निरोगी र सुख सयलमा राख्नु भन्दै आशीर्वाद लिने चलन छ ।
साँझपख सामूहिक रूपमा हुक्कामा आगो सल्काएर हुक्काहुक्की खेल खेल्छन् । हुक्का-हुक्की खेल खेलिसकेपछि मान्यजनहरूबाट आशीर्वाद लिई प्रसादका रूपमा पिठ्ठ (चामलको पीठोबाट बनाइएको एक परिकार) खाने चलन छ ।