कोटेश्वरका सविन पोख्रेल हुन् वा धरानका क्वानछाङ हाङ राई, चितवनका जीवन लामा हुन् वा धनगढीका कैलाश चन्द सबैको ज्यान चट्ट मिलेको छ । आकर्षक फिटिङ पहिरन छ । लवाइ-खवाइ पनि एउटै छ । यस्तो समानताको प्रमुख कारण उनीहरूले पछ्याएको फेसन एसेसरिज ट्रेन्ड नै हो । उनीहरूको उमेर एउटै, रोजाइ एउटै अनि फेसन एउटैले भन्न बाध्य पार्छ— उनीहरू फेसन एसेसरिज सेलेक्सनमा समान रुचि राख्छन् । कलेज जाँदा युनिर्फम लाउन बाध्य भइए पनि अन्य समयमा आयुष फिटिङ पहिरनमा हिँड्न मन पराउँछन् । बजारमा कस्तो फेसन चलेको छ, उनीहरू टपक्क टिपिहाल्छन् । कसिलो सर्ट र पाइन्टमा साइड ब्याग भिर्ने चलन पनि अहिले बढेको छ । प्राय: साइड ब्यागमा हिँड्न रुचाउने चितवनका जीवन कालो टिसर्ट, चुज जिन्सको पाइन्ट, सेतो कन्भर्स हो, यो बिना म अधुरो हुन्छ । यस्तो फेसन एसेसरिज कन्सियस युवा अहिले प्रशस्तै छन् ।
अरूभन्दा फरक ड्रेस सेन्स देखाउन उनीहरू यस्ता एसेसरिजतर्फ लागेका हुन् । सन्देश राईको हातमा प्राय: बाला छुट्दैन । उनी साधारण बालाभन्दा फरक खालका बेल्ट शैलकिा बाला लगाउँछन् । दाहिने हातमा बाला लगाएर गिटार बजाउने राई भन्छन्- गिटार बजाउँदा यसले छुट्टै आनन्द दिन्छ । सामान्य जुत्ता र बेल्टको के कुरा गर्ने ? अहिले एसेसरिजमा थुप्रै नौला ट्रेन्ड पनि थपिइरहेको छ । युवापुस्तामा अहिले टप, कुन्डल र टनेल लगाउने ट्रेन्ड पनि विकसित भएको छ । मेटल, प्लास्टिकदेखि काठका टप र कुन्डल लगाउनेहरू पनि उत्तिकै छन् । स्टिलका टप लगाउनेहरूको संख्या सबैभन्दा बढी छ । अहिले शरीर छेड्नेहरू पनि कम छैनन् । उनीहरू प्राय: परेला, जिब्रो तथा ओठमा पियर्सिङ गराउँछन्, जसले उनीहरूलाई फरक देखाइरहेको हुन्छ । उनीहरूमा नयाँ खालको फेसन चेतना विकसित भएको छ । अहिले पियर्सिङ नयाँ फेसन एसेसरिजका रूपमा थपिएको छ । यसलाई पछिल्लो फेसन एसेसरिजका रूपमा पनि लिइन्छ ।
फेसन एसेसरिजका रूपमा सामान्यत: जुत्ता, बेल्ट, सिक्री, पर्स, रुमाल, बाला, माला, आंैठी, घडी, चस्मा, टोपी, कुन्डल, लेन्स तथा पियर्सिङ आदिको नाम लिइन्छ, साथमा अन्य ग्रुमिङ त छँदैछ । युवापुस्तालाई लक्षित गर्दै फेसन एसेसरिज पसलहरू पनि निकै खुलेका छन् । युवाहरू अहिले कन्भर्स र पार्टी सुजमा ठाँटिन मन पराउँछन् । पुरानो गान्धी चस्मादेखि रेवन चस्मा पनि उनीहरूको छनौटमा पर्छन्, जसले उनीहरूलाई थप फेसनेबल देखाउन मद्दत गरेको छ । मझौला तथा साना खालका एसेसरिजतर्फ पनि युवाहरूको ध्यान केन्दि्रत भएको छ । आफूलाई फरक र फेसनेबल देखाउन युवाहरू यस्ता एसेसरिज प्रयोग गर्छन् । अहिले उनीहरूमा आँखामा लेन्स लगाउने ट्रेन्ड पनि उत्तिकै छ । उनीहरू आँखामा लगाइएको कृत्रिम लेन्सबाट अर्को संसारको फेसन एसेसरिज ट्रेन्ड हेर्न सधैं हतारमा हुन्छन् ।