एक
पहिलो तर उत्कृष्ट प्रेम । यो प्रेममा केटालाई केटी मनपर्छिन्, केटीलाई केटा मनपर्छ । बिना कुनै कारण मनपर्छ तर परिस्थिति यति गाह्रो हुन्छ, जसको मिलनको कल्पना गर्दा पनि रौं ठाडो हुन्छ । यो प्रेम अप्ठ्यारो ठाउँमा आएको तर पाक्न बाँकी रहेको पिलो जस्तै हुन्छ, न त देखाउन मिल्न, न त निचोर्न नै । हामीले पढ्ने गरेका लैला-मञ्नु, हिर-राञ्झा, राजकुमारी र तबेलाको केटाका प्रेम कथाहरू यस्तै प्रेम हुन् । यो प्रेममा एक पटकको हेराइ, एकपटकको स्पर्श, एकपटकको चुम्बन नै जीवन बिताउन पुग्ने ऊर्जादायक हुन्छ । हो, पहिलो कोटीको प्रेम त्यो हो, जसमा दुवैबीच प्रेम त हुन्छ तर परिस्थिति यस्तो हुन्छ कि दुवै चाहेर पनि मिल्न सक्दैनन् वा समाजले मिल्न दिँदैन । कतिपयले जीवन त्याग गर्छन्, कतिले आफ्नो प्रेमलाई खोकिलामा च्यापेर जीवन पर्यन्त त्यसलाई जीवन जिउने आधार बनाउँछन् ।
दुई
दोस्रो, मध्यम प्रेम । यो प्रेममा केटालाई केटी मनपर्छिन्, केटीलाई केटा मनपर्छ । बिना कुनै कारण मनपर्छ । (अँ धनको आकर्षण, रुपको आकर्षण यी दुवै प्रेममा हुँदैन) यो प्रेममा मिलन सजिलो त हुँदैन तर प्राप्तिका लागि धेरै संघर्ष गर्नुपर्छ । उनीहरू पहिले आफ्नो प्रेमलाई परिपक्व बनाउँछन् । त्यसलाई जीवनभर तान्ने इन्धन (करियर, समाजसँग संघर्ष गर्ने क्षमता र आफूलाई सहयोग गर्ने जमात) तयार गर्छन् । घर-परिवारलाई मनाउने प्रयास गर्छन् । ठाउँ-ठाउँमा उनीहरू संघर्ष गर्छन् र अन्तत: भागेर वा मागेर विवाह गर्छन् । यो प्रेममा, प्रेमभएको दिनदेखि विवाहको दिनसम्म वा परिवारले स्वीकार नगरेसम्म संघर्ष नै संघर्ष हुन्छ ।
हामीले हेर्ने अधिकांश चलचित्र, साहित्य एवं अमर गाथाहरूमा यस्तो प्रेमको चर्चा पाइन्छ । धेरैलाई यो पहिलो कोटीको प्रेम लाग्न सक्छ । तर यो प्रेम मध्यम प्रेम नै हो, कारण विवाह अघि यो प्रेममा जति तडप, जति बैचैनी र जति समर्पण हुन्छ, विवाहपछि घट्दै-घट्दै जान्छ । केही वर्षपछि उनीहरूले आफूहरूबीच त्यस्तो प्रेम थियो भन्ने कुरा बिर्संदै जान्छन् । उनीहरूको प्रेम देखेर निर्देशकले चलचित्र बनाउँछन्, साहित्यकारले उपन्यास लेख्छन् अनी उनीहरू आफ्नो कथामा बनेको चलचित्र हेरेर अपसोच गर्छन् ।
तीन
तेस्रो तर निम्नकोटीको प्रेम त्यो हो, जसमा एकोहोरो प्रेम हुन्छ । बिना कुनै कारण राम्रो लाग्छ, बिना कुनै कारण प्रेम हुन्छ र बिना कुनै कारण उसको देब्रेतर्फको छातीमा घाउ हुन्छ । यसमा पहिलो कोटीको प्रेम जस्तै एक पटकको हेराइ, एकपटकको छुवाइ नै जीवनभरिका लागि ऊर्जादायक हुन्छ । रातको निन्द्रा हराम हुन्छ, दिनको चैन खराब हुन्छ । अनि दोस्रो कोटीको प्रेम जस्तै उनलाई पाउन दिनरात प्रयास गर्छ, संघर्ष गर्छ । यद्यपि जसरी एकहातले ताली बज्दैन, बिनाकागज कलमले लेख्न सक्दैन, बिनासिम मोबाइलको अर्थ हुँदैन, ठीक त्यस्तै त्यो एकोहोरो बाँसुरी लामो समय बज्न सक्दैन । त्यस्ता प्रेमी वा प्रेमीकाले आफ्नो प्रेम महान हो भनेर जतिसुकै कराउन, त्यसको कुनै अर्थ हुँदैन । यही कारण विज्ञहरूले यो प्रेममा जतिसुकै तडप होस्, यसलाई तेस्रो कोटीको प्रेममा राखेका छन् ।
यो तहको प्रेमका बारेमा पनि सिनेमा बनेका छन्, कथा लेखिएका छन्, तर जति आकर्षण पहिलो र दोस्रो श्रेणीले आकर्षण गर्छन्, यो श्रेणीको प्रेमले मानिसको ध्यान तान्न सक्दैन ।