साप्ताहिक संवाददाता
लिगको प्रारम्भिक खेलमा युगान्डाविरुद्ध नेपालले खराब सुरुवात गरे पनि त्यसयता दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । अमेरिकाविरुद्ध वषर्ाले प्रभावित दुई खेलमा नेपाललाई धेरै हदसम्म भाग्यले साथ दियो । अमेरिकाविरुद्धको खेलपछि डिभिजन 'टु' मा उक्लने तय भैसकेको थियो । अन्तिम खेलअघि नेपालको बाटोमा अवरोध थियो त झीनो न झीनो गणितीय समीकरण मात्र ।
त्यसको औपचारिकता पनि नेपालले मलेसियाविरुद्धको खेलमा पूरा गर्यो । अन्तिम खेलमा नेपाल ३६ रनले विजयी भयो । पहिले ब्याटिङ गरेको मलेसिया १ सय ४२ रनमा अलआउट भयो । नेपालको इनिङ्स २५ ओभरमा रोकिँदा २ विकेट गुमाउँदै ८९ रनको स्थितिमा थियो ।
पहिलो खेलमा भने नेपाल युगान्डासँग २० रनले पराजित भएको थियो । त्यसमा पहिले ब्याटिङ गरेको युगान्डाले ८ विकेटमा २ सय ३ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन मात्र बनाएको थियो । नेपालले बर्मुडाविरुद्ध दोस्रो खेलमा भने सम्हालिएर खेल्यो र आफ्नो आत्मविश्वास फर्काउन सफलता प्राप्त गर्यो । उक्त खेलमा नेपाल ८ विकेटले विजयी भयो । बर्मुडा सय रन बनाएर अलआउट भएपछि नेपालले ११ दशमलव १ ओभरमै उक्त जित हात पारेको थियो ।
नेपालको स्थिति अझ अनुकूल भएको सिंगापुरविरुद्ध प्राप्त १ सय ९० रनको जितपछि हो । त्यसमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय १४ रनको शतकीय इनिङ्स खेले । अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रको यो पहिलो शतक हो भने समग्रमा सातौं । उक्त खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटमा २ सय ६३ रन बनायो । जवाफमा सिंगापुर २१ दशमलव ४ ओभरमा ७३ रनमै समेटियो ।
अमेरिकाविरुद्धको वषर्ाले रद्द खेलमा नेपाल भाग्यमानी सावित भएको हो । त्यसमा अमेरिकाले पहिले ब्याटिङ गर्दै बनाएको २ सय ५ रनको लक्ष्यसामु नेपाल वषर्ाले खेल रोकिनुअघि ३ विकेट गुमाएर २७ रनको स्थितिमा थियो । निश्चित थियो, नेपाल दबाबमा आइसकेको थियो । अमेरिकाविरुद्ध भोलिपल्ट फेरि खेलिएको खेल पनि वषर्ाकै कारण पूरा हुन सकेन । उक्त खेलमा अमेरिकाले पहिले ब्याटिङ गर्दै ९ विकेटमा २ सय २३ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले २२ ओभरभित्र १ विकेटमा ७३ रन बनाएको थियो । त्यसपछि खेल पुन: अवरुद्ध भयो र डक वर्थ लेविस नियमअनुसार नेपाल १० रनले विजयी भयो ।
लिग चरणका खेलपछि नेपाल ८ अंकसहित शीर्ष स्थानमा पुग्यो । युगान्डाको पनि समान ८ अंकमा भए पनि नेपालको नेट रन रेट युगान्डाको तुलनामा अत्यधिक राम्रो छ । डिभिजन 'टु' मा उक्लिएपछि अब के हुनेछ ? प्रशिक्षक पुबुदु दसानायकेले भनेजस्तै यसले नेपाली क्रिकेटका लागि अब अवसरका अनेकौं ढोका खोल्नेछ । डिभिजन 'थ्री' मै रहने हो भने नेपाली क्रिकेट अझै पछाडि धकेलिन सक्थ्यो । अब तत्काल नेपालले नामिबियामा हुने डिभिजन 'टु' खेल्न पाउनेछ, जुन जनवरी १५ देखि हुनेछ । उक्त प्रतियोगिता पनि आफैमा छनोट प्रतियोगिता हो ।
यसमा सफलता प्राप्त गर्न सके, नेपालले आईसीसी इन्टरकन्टिनेन्टल फोर डे प्रतियोगिता खेल्न पाउनेछ । यस्तै डिभिजन 'टु' को अर्थ, आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने अवसर पनि हो । नेपाल पछिल्लो वान डे विश्वकप छनोटमा खराब प्रदर्शन गर्दै डिभिजन 'थ्री' मा झरेको थियो । त्यति बेला नेपाल सहभागी १० टिममध्ये नवौं स्थानमा थियो ।