सन् २०१६ का लागि पनि लाखौं नेपालीले डिभी चिठ्ठा भरेका छन् । काठमाडौं र नेपालका प्रमुख सहरका चोक-चोकमा डिभी भरिदिने सयौं व्यवसायी सक्रिय थिए । लाममा बसेका डिभी भर्नेहरूको आँखामा अमेरिका जाने ठूलो सपना देखिन्थ्यो । के अमेरिका साँच्चै स्वर्ग हो ? लाखौं नेपाली किन अमेरिकाको सपना पालिरहेका छन् ? डिभी परेर अमेरिका जानेहरूको अवस्था कस्तो छ ? साप्ताहिकले यस विषयमा लामो सोधखोज गर्यो । खोजी गर्दै जाँदा सन् २००८ मा डिभी भरेर अमेरिका पुगेका एक जना पर्यटक गाइड सुरज शाक्य फेला पारे ।
लाखौं नेपालीले अमेरिका जान डिभी भरे । उनीहरू आफूलाई डिभी परोस् भनेर प्रार्थना पनि गरिरहेका छन् । तपाई अमेरिकाबाट फर्कनुभयो, किन होला ?
नेपालीहरूका लागि अमेरिका स्वर्गजस्तै हो । स्वर्ग भन्नाले कहिल्यै बिजुली नजाने, बस्नका लागि आरामदायक घर, डुल्नका लागि आफ्नै गाडी, अनलिमिटेड इन्टरनेट त्यो पनि हाइस्पिड, क्षमताअनुसारको काम र पैसा । हामी नेपालीले नेपालमा नपाएका सबै कुरा अमेरिकाले उपलब्ध गराउँछ । यो कोरा कल्पना होइन, यथार्थ हो । तैपनि म नेपाल फर्किएँ, किनभने जीवनको आवश्यकता पैसा र वैभव मात्र होइन, सम्भवतः सन्तुष्टि नै सबैभन्दा ठूलो कुरा हो ।
नेपालमा प्रेमिका छाडेर जानुभएको थियो कि ?
थिएन, प्रेमिकालाई यही छाडेर जानै पर्दैनथ्यो नि । भए विवाह गरेरै लान सकिन्थ्यो ।
त्यसो भए साह्रै सम्पन्न हुनुहुन्थ्यो होला, होइन ?
त्यस्तो पनि होइन, मैले अहिले काम गरिरहेको क्षेत्र मेरो रुचिको क्षेत्र हो । आफ्नो रुचिको क्षेत्रमा काम गर्न पाउनु ठूलै कुरा हो । म विराटनगर मिल्स एरियाको सामान्य परिवारको सदस्य हुँ । मेरो बुवा जुद्ध म्याच फ्याक्ट्रीमा काम गर्नुहुन्थ्यो ।
सानैदेखि पर्यटन क्षेत्रमा लाग्ने चाहना थियो कि ?
होइन, मलाई त चित्रकारितामा रुचि थियो, तर कमर्स पढें, किनभने कमर्स पढेपछि सजिलै जागिर पाइन्छ, जागिर खाएर, विवाह गरेर जीवन चलाउनुपर्छ भन्ने परिवारको सोचाइ थियो । जागिर खोज्दै जाँदा पर्यटन क्षेत्रमा आइपुगे ।
कसरी ?
सुरुमा म प्रेसमा काम गर्थें । पुष्कर जोशी नामका एक जना दाइले नेपालको भविष्य पर्यटनमा छ । कुनै नयाँ भाषा सिकेर पर्यटन क्षेत्रमा लाग, त्यहाँ तिमीले नयाँ मानिसहरूको संगत पाउँछौ, पैसा कमाउँछौ र जीवन अघि बढ्छ भन्ने सुझाव दिनुभयो । त्यही सुझावका आधारमा मैले फ्रेन्च भाषा सिकें । त्यतिबेला म उत्कृष्ट भएँ । उत्कृष्ट हुनेले फ्रान्समा तीनमहिने भाषा कोर्स सिक्ने छात्रवृत्ति पाउँथ्यो । त्यही आधारमा नेपाल फर्किएर सांगि्रला र र्याडिसन होटलमा रिसेप्सनिस्टको काम गरें । पछि फ्रान्सेली केन्द्रमै असिस्टेन्ट लाइब्रेरियनको जागिर पाएँ ।
पहिलोपल्ट विदेश (फ्रान्स) जाँदा तपाईंको मनमा कस्ता भावना आएका थिए ?
म विराटनगरको सामान्य मान्छे, काठमाडौं आउनु पनि ठूलो कुरा थियो । यस्तो मान्छे फ्रान्स पुग्दा यो पो वास्तविक संसार हो भन्ने लाग्यो । नेपाल कहिल्यै यस्तो हुन सक्दैन, यस्तो देशमा पो बस्नुपर्छ भन्ने लाग्यो ।
त्यसपछि विदेश जाने मौका कहिले आयो ?
असिस्टेन्ट लाइब्रेरियनको जागिरबाट जीवन निर्वाह गर्न पुग्ने पैसा आउँथ्यो । मेरो मनमा भने विदेश जाने भूत सवार थियो । त्यो सन् २००० पछिको कुरा थियो । नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । धेरै नेपाली कुनै न कुनै बहानामा युरोपेली मुलुक बेल्जियम पुगेर शरण्ाार्थी भएर जीवन गुजारिरहेका थिए । एक जना पर्यटकलाई धेरै फकाएपछि मेरो उद्देश्य पुरा भएको थियो ।
तर बेल्जियमबाट फर्कनुभयो, किन ?
जब म बेल्जियम पुगें, त्यहाँ नेपालीहरूको विजोग देखेर छक्क परें । उनीहरू जुन दुःख बेल्जियमको नागरिक हुन गरिरहेका थिए त्यति दुःख यहाँ गरे त देश उहिल्यै उभों लाग्ने थियो जस्तो लाग्यो ।
फेरि पनि डिभी चिठ्ठा भर्नुभयो, त्यसको कारणचाहिँ के थियो ?
अरूतिर समस्या भए पनि अमेरिका स्वर्ग हो भन्ने आम नेपालीको धारणा छ । हरेकको मुखबाट अमेरिकाको नाम सुनेपछि जो पनि आकषतिर् भैहाल्छ ।
जब डिभी पर्यो, यो मान्छे अमेरिकाको नागरिक हुन लाग्यो भन्ने थाहा भएपछि मानिसले कस्तो व्यवहार गर्दा रहेछन् ?
जुन मानिस केही अघिसम्म सामान्य हुन्छ, डिभी चिठ्ठा पर्यो भन्ने वित्तिकै विशेष नजरले हेर्दा रहेछन् । हिजो जुन केटीले प्रेम अस्वीकार गर्छे, अमेरिका जाने भएपछि त्यही युवतीले विवाह गरे पनि हुन्थ्यो भनेजस्तो गर्दा रहेछन् । कतिपय साथीभाइले आफ्ना मान्छेसँग कागजी विवाह गरेर अमेरिका लगे २० लाखसम्म दिने प्रस्ताव राख्दा रहेछन् ।
के डिभी पर्ने मान्छे वास्तवमै विशेष हो ?
चिठ्ठा पर्नु भनेको भाग्यको खेल पनि हो । विशेष प्रतिभा भएका, वैज्ञानिक, चिकित्सक, विशेष काममा दक्षता भएकाहरूका लागि त्यो भूमि ठीक छ । किनभने त्यहाँ प्रतिभाको कदर गरिन्छ । हामीजस्ता सामान्य मानिस त्यहाँ सामान्य कामदार मात्र हुन्छौं जसको कुनै इज्जत हुँदैन । नेपालमा विभिन्न जातजातिलाई अपहेलना भयो भन्ने कुरा उठ्छ तर जब कुनै व्यक्ति अमेरिका जान्छ र त्यहाँका एसियन तथा अफ्रिकन मूलका मानिसमाथि भएको हेपाहा प्रवृत्ति देख्छ त्यतिबेला थाहा हुन्छ, हामी धेरै संस्कारवान् छौं । त्यति मात्र होइन, हाम्रो देशमा पनि मागी खाने मान्छे धेरै छन् तर त्यहाँका माग्नेको अवस्था अत्यन्तै दारुण छ । बर्कले सिटीको युनिभसिर्टी आभेन्यूस्थित म्याकडोनाल्ड छिर्दा आउने गन्ध र नेपालका सरकारी अस्पतालका शौचालयबाट आउने गन्ध उस्तै हुन्छ । यस अर्थमा अमेरिका भन्ने बित्तिकै सबै राम्रो भन्ने मलाई लागेन ।
अमेरिकामा कस्ता नेपाली देख्नुभयो ?
धेरैजसो दोहोरो चरित्रका लागे । नेपाल छँदा देशका बारेमा वास्तै नगर्नेहरू त्यहाँ नेपालको चिन्ता गर्थे । कुनै नेपालीसँग काम लिनु परे हामी त नेपाली दाजुभाइ हौं, एक-अर्कालाई सहयोग गर्नुपर्छ भन्थे । जब कुनै नेपालीले सहयोग खोज्छ, उसैले विदेशको ठाउँमा प्राक्टिकल हुन सिक्नुहोस् भन्छ ।
सबै त्यस्तै हुन्छन् र ?
अमेरिका जाँदा जुन व्यक्तिले मलाई राख्छु भनेर वचन दिएका थिए, एयरपोर्टमा उनी मलाई लिनै आएनन् । घर पुग्दा उनी त आफ्नो घरै छाडेर हिँडेका रहेछन् । पछि फोन गर्दा अरुतिरै सेटल हौ भने । त्यति बेला शिव काफ्ले नामका पाल्पाली दाजुसँग संयोगले भेट भयो र उहाँले मलाई सहयोग गर्नुभयो ।
त्यसैले सहयोग गर्ने नेपालीहरू पनि हुन्छन् । कतिपयको बाध्यता पनि हुन सक्छ ।
कति समयपछि अमेरिकाबाट नेपाल फर्कनुभयो ?
आलियँस फ्रान्सेजमै चिनेका मित्र विष्णु नेपालको सहयोगमा छ महिना ह्यूस्टनको एउटा मोटलमा काम गरें । त्यो नाइट ड्युटी थियो । लगातार रात्रिकालीन काम गर्दा-गर्दा वाक्क भएँ अनि अब कहिल्यै अमेरिका आउँदिन भनेर नेपाल फर्किएँ ।
छ महिनामै ? साथीभाइले के भने ?
सबैले गाली गरे । साथीभाइहरूले त म धेरै कमाउँछु भन्ने सोचेका रहेछन् । यता नेपालमा चाहिँ धेरैजसो साथीभाइ जग्गाको कारोबारमा लागेर करोड-करोडका कुरा गर्न थालेका रहेछन् । आफ्नै देश पनि बिरानो जस्तो लागेपछि बाध्यताबस फेरि अमेरिका फर्किएको थिएँ ।
त्यसपछि के गर्नुभयो ?
आर ई आई भन्ने स्टोरमा काम गरें । ट्याक्सी चलाएँ । त्यसक्रममा एप्पल कम्पनीको साक्रेमान्टोस्थित अफिसमा फ्रान्सेली भाषी चाहिएको कुरा थाहा भयो । मैले आवेदन दिएँ । त्यहाँ मेरो अन्तर्वार्ता लिनेको भन्दा मेरो फ्रेन्च भाषा राम्रो थियो त्यसैले तुरुन्तै काम पनि पाएँ ।
कमाइ कस्तो थियो ?
निकै राम्रो थियो, तर अनुशासन भने निकै कडा । एप्पलका प्रोडक्टहरू किन उत्कृष्ट छन् भन्ने कुराको प्रत्यक्ष जानकारी त्यहाँ भयो । अनुशासित भै काम गरे केही पनि असम्भव हुँदैन भन्ने कुराबो बोध त्यतिबलै भयो ।
त्यस्तो जागिर पनि छाडेर नेपाल फर्कनुभयो, योचाहिँ अचम्मको कुरा होइन ?
धेरैले मलाई गाली गरे । जुन दिन गि्रनकार्ड फिर्ता गर्न म अमेरिकी राजदूतावास गएँ, त्यहाँका कर्मचारी पनि आश्चर्यचकित भए । उनीहरूले मजस्ता नेपाली कमै भेटेका थिए रे । मलाई त्यहाँको लाइफ एकदमै मोनोटोनस लाग्यो । निन्द्रा लाग्ने गरी डेढ घण्टा गाडी चलाएर काम गर्न जा, घर फर्केर सुत, भोलि फेरि एकाबिहानै गाडी चलाएर काम गर्न जा । म नेपालमा पर्यटक घुमाएर हिमाल, पहाड गरेको मान्छे यसरी कलसेन्टरमा कति समय टिक्न सक्थें र ? ढिलो चाँडो फर्कनैपर्छ भने किन चाँडै नफर्कने ? मलाई लाग्यो, अमेरिकामा विकास भैसकेको छ, हामी त त्यहाँ भैसकेको विकासलाई टिलिक्क टल्काउन मात्र गएका हौं । विकास त नेपालमा पो गर्नुपर्छ । त्यहाँ हामी सेवक हौं, जबकि नेपालमा नेता (राजनीतिक अर्थमा होइन) बन्ने अवसर छ । नेपालमा धेरै काम गर्न बाँकी छ । त्यो कामको नेता बन्ने कि सेवक ? यही प्रश्नले मलाई नेपाल फर्कायो ।
यति मात्र कारण हो ?
अमेरिका बस्ने हरेक नेपालीसँग सोध्नुहोस्, उसले यही जवाफ दिन्छ । अमेरिका पुगेपछि मानिस त्यहाँको सिस्टममा फस्दै जान्छ र फर्कन सक्दैन । म पनि अरू नेपालीजस्तै राति नेपालको सपना देख्थें र बिहान अमेरिका बस्नु परेकामा पछुताउँथें । नेपालमै कुनै क्षेत्रमा काम गर्दा पैसाको दुःख भए पनि पश्चातापचाहिँ हुँदैन भन्ने लाग्यो र फर्किएँ । मलाई एप्पल कम्पनीको जागिर पनि नेपालको गाइड पेसाका अगाडि फुच्चे लाग्यो ।
अमेरिकाबाट फर्किएको पाँच वर्ष भैसकेको छ । अहिले पनि पुरानो स्कुटर, फ्रान्सेली पर्यटकको सेवा अनि सोखको चित्रकलाबाहेक केही गर्नुभएको छैन । चिन्ता लाग्दैन ?
लाग्दैन, म सन्तुष्ट छु । म विदेश नगएको भए सम्भवतः मेरो मनमा विदेशमा राम्ा्रो हुन्थ्यो भन्ने कुराले सताइरहने थियो । अहिले म पूण्र् निष्ठाका साथ आफ्नो काम गर्छु । मलाई के लाग्छ भने हामी नेपालीले अमेरिका युरोप आदि मुलुकको भिसा सजिलै पाउने भए यसरी ज्यानै फालेर विदेश जाने प्रयत्न गर्दैनथ्यौं । बरु घुम्न जान्थ्यौं होला ।
अमेरिकाबाट फर्किएर पैसा पनि कमाउन सकिनँ, कुनै नाम पनि राख्न सकिन भन्ने लाग्छ कि ?
फ्रान्सबाट नेपाल घुम्न आउने पर्यटकहरूलाई नेपाली साहित्यका बारेमा केही जानकारी हुँदैन । जबकि फ्रान्सेलीहरू कला र साहित्य भनेपछि भुतुक्कै हुन्छन् । उनीहरू नेपाल घुम्न आएका बेला यहाँको कला तथा साहित्य अध्ययन गर्न चाहन्छन् । म पनि यस्तै काम गर्न चाहन्छु ।