यो दृश्य कुनै सामान्य कार्यक्रमको थिएन । संयुक्त राष्ट्र संघको ६९ औं महाससभाका बेला इक्वेटर पुरस्कार-२०१४ वितरण गर्न हलिउड कलाकारले सञ्चालन गरेको विशेष कार्यक्रम थियो । त्यहाँ राष्ट्रसंघका १ सय ९३ राष्ट्रका सरकारी प्रतिनिधि तथा अतिथिहरू उपस्थित थिए । वातावरणसंरक्षणका क्षेत्रमा कपिलवस्तुको जगदीशपुर तालमा र कास्कीको पार्सेमा राम्रो काम गरेका संस्थाले पुरस्कार जितेपछि नेपाली प्रतिनिधिहरू त्यहाँ उपस्थित भएका थिए ।
संसारका १ सय २१ देशबाट १ हजार २ सय ३४ संस्थाले पुरस्कारका लागि आवेदन गरेकोमा १७ मुलुकका २६ संस्थाले पुरस्कार जितेका छन् । जगदीशपुरमा जैविक विविधता संरक्षणमा उत्कृष्ट काम गरेबापत एड नेपाल तथा कास्कीको संरक्षण क्षेत्र व्यवस्थापन समिति पार्सेलाई उक्त कार्यक्रममा विशेष सम्मान हस्तान्तरण गरिएको हो ।
समारोहमा नेपाली प्रतिनिधिहरूलाई न्युजिल्यान्डकी पूर्व प्रधानमन्त्री तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम प्रमुख हेलेन क्लार्कले जनही ५ हजार डलरसहित प्रमाणपत्र प्रदान गरेकी थिइन् । नेपालले पहिलो पटक यो पुरस्कार प्राप्त गरेको हो ।
यो पुरस्कारका लागि आवश्यक रकम हलिउड अभिनेत्री कोनी बि्रटन, हलिउड अभिनेता एडवार्ड नोर्टन तथा सुपर मोडल गिसेल बन्डचेनले प्रायोजन गरेका थिए ।