साप्ताहिक संवाददाता
मेरो चाहना चलचित्रमा नायिका हुने थिएन । मिस नेपालमा सहभागी भएर मिस ब्युटिफुल स्माइलको उपाधि प्राप्त गरेपछि म मोडलिङमा सक्रिय हुन थालें । रिद्धिसिद्धि ज्वेलरीको तिहार विशेष कार्यक्रमको एउटा निमन्त्रणापत्र निर्देशक ऋषि लामिछानेकहाँ पनि पुगेको रहेछ । त्यसमा मेरो तस्बिर देखेर उहाँले सम्पर्क गर्नुभयो । यो क्षेत्रका बारेमा केही नकारात्मक कुरा सुनेकीले ममा नायिका हुने इच्छा-चाहना केही थिएन, तर ऋषि दाइले कन्भिन्स गरेर 'सरी ल' मा नायिका बनाउनुभयो । सुटिङ स्पटमा मलाई अप्ठेरो पर्ला भन्ने कुराको निकै ख्याल राखियो । खानपिनदेखि मलाई घर पुर्याउने व्यवस्थासम्म निकै सहज ढंगमा सम्पन्न भयो । ऋषि दाइले आफ्नै दाइले जसरी केयर गर्नुभयो । चलचित्र क्षेत्रमा मलाई ल्याउने व्यक्तिका रूपमा म उहाँलाई सम्मान गर्छु । 'सरी ल'को छायांकनकै क्रममा चलचित्रसम्बन्धी मेरा नकारात्मक सोच कम हुँदै गए । पहिलो चलचित्रमा अभिनय गरेको धेरै समयपछि मैले चलचित्र 'अलबिदा' मा पनि अभिनय गरें । उपत्यकाबाहिर जानुपर्ने भएकाले मलाई पहिले त घरबाट अनुमति दिइएन, तर गइयो । काठमाडौंबाहिर छायांकन हुँदा छोरी मान्छेलाई चाहिँ गाह्रो हुँदो रहेछ । म त्यसमा पनि एडजस्ट भएँ । दुईवटा चलचित्रमा नायिका भैसकेर पनि अहिले चलचित्र क्षेत्रमा हुने अनावश्यक गसिपहरूबाट भने डर लाग्छ । यहाँ कसैसँग बोल्नै नहुने, हाँस्नै नहुने हुन्छ ।
अब मैले चलचित्रलाई निरन्तरता दिने कि नदिने भन्ने कुरा यी दुई चलचित्रको रिजल्ट हेरेपछि मात्र निधो हुन्छ । दुईवटा चलचित्रमा काम गरेपछि मलाई चलचित्र क्षेत्र भने राम्रो लागेको छ ।