दुई दशकभन्दा लामो समयदेखि हास्य कलाकारितामा सक्रिय अभिनेता तथा निर्देशक हुन् जितु नेपाल । नेपाल टेलिभिजनका लोकप्रिय हास्य कार्यक्रममध्ये दिनेश डिसीको निर्देशनको 'ट्वाक्क-टुक्क' तथा सन्तोष पन्तको 'आजभोलिका कुरा' मा अभिनय गर्दै हास्य कलाकारितामा सक्रिय भएका जितु नेपाल आज पनि यही विधामा व्यस्त छन् । दर्जनौं चलचित्रमा हास्यकलाकारको भूमिका निर्वाह गरेर दर्शकलाई हँसाइसकेका जितुले यो अवधिमा अभिनय गरेका टेलिश्रृंखलाको संख्या पनि केही दर्जन भैसकेको छ । जितु विभिन्न कम्पनीका ब्रान्ड एम्बेसडरका रूपमा समेत व्यस्त छन् । उनले अभिनय गरेका विज्ञापनहरूको संख्या नै करिब ८० पुगिसकेको छ । 'स्ट्यान्ड अप' कमेडीमा जितुको तुलनामा आउने हास्यअभिनेता निकै कम छन् । स्ट्यान्ड-अप कमेडीमार्फत दर्शकको मन जितिसकेका जितु बेलायत, युरोपसहित एसियाका अधिकांश देशमा बसोबास गर्ने नेपालीहरूमाझ प्रस्तुत भैसकेका छन् । हङकङमा हरेक वर्ष आयोजना हुने एउटा कार्यक्रममा ११ औं पटक सहभागिता जनाइसकेका जितु स्वदेशमै पनि महिनामा करिब डेढ दर्जन कार्यक्रममा सहभागिता जनाइरहेका हुन्छन् । चलचित्र 'वडा नम्बर ६' मा समेत नायककै भूमिकामा प्रस्तुत हुन लागेका जितुले अभिनय गरेका चलचित्रको संख्या करिब ५० पुगेको छ । यसबीच अर्का हास्यअभिनेता शिवहरि पौडेलसँग मिलेर जितुले निर्देशन गर्दै आएको हास्यश्रृंखला 'जीरे खुर्सानी' ले प्रसारणको ५ सय भाग पूरा गरेको छ । समसामयिक विषयमा तीखो व्यंग्य प्रस्तुत गर्ने यो कार्यक्रम उत्तिकै लोकप्रिय पनि छ । गत शनिबार जिरे खुर्सानीको ५ सय १ औं भागको छायांकनमा व्यस्त जितुसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न : ५ सय भाग पूरा भएको अवसरमा समाजसेवा नै गर्ने सोच कसरी पलायो ?
हामीले १ सयदेखि ४ सय भाग पूरा गरेको अवसरमा पनि समाजसेवा नै गरेका थियौं । गत साताको ऐतिहासिक उपलब्धिलाई होटलमा पार्टी आयोजना गरेर मनाउनुभन्दा एउटा वृद्धाश्रममा आश्रति बुवा-आमाको अनुहारमा खुसी ल्याउनुपर्छ भन्ने लागेर ५ सयौं श्रृंखलालाई नै उहाँहरूप्रति समर्पित गर्यौं ।
जीरे-खुर्सानीको लोकप्रियताको श्रेय कसलाई दिनुहुन्छ ?
लोकप्रियताको पहिलो श्रेय त दर्शकहरूलाई नै दिनुपर्छ । दर्शकहरूले मन पराएकै कारण आज यो सफलताको सिंढी चढ्न सफल भएको हो । त्यसबाहेक निर्देशक शिवहरि पौडेललगायत देशका वरिष्ठ हास्यकलाकारहरूको साथ र सहयोगले पनि यो उपलब्धि हासिल भएको हो ।
जीरे-खुर्सानीलाई थप आकर्षक बनाउने कुनै योजना छ कि ?
५ सय भाग पूरा भएलगत्तै हामीले श्रृंखलामा सेलिब्रेटीहरूलाई अतिथि कलाकारका रूपमा प्रस्तुत गर्ने योजना बनाएका छौं । आगामी सोमबारदेखि चर्चित र्यापर यमबुद्ध 'जीरे-खुर्सानी' मा प्रस्तुत हुँदैछन् । त्यसबाहेक समाजका पछिल्ला गतिविधि, विषयवस्तु एवं घटनाक्रमलाई मुख्य विषय बनाउने कार्यलाई निरन्तरता दिइनेछ ।