डेढ वर्षअघि 'कोसिस' शीर्षकको डेब्यू एल्बम सार्वजनिक गरेका दमकका गायक राज के गोस्वामी यतिबेला दोस्रो एल्बमको तयारीमा छन् । पहिलो एल्बमको भूषण दाहालद्वारा निर्देशित 'साँझ पख...' गीतको भिडियो लोकप्रिय भएपछि उत्साहित राजले दोस्रो एल्बमको शीर्षक 'कोसिस-२' राखेका छन् । तिहारअघि दोस्रो एल्बमको पहिलो गीत 'सोल्टिनी' को म्युजिक भिडियो सार्वजनिक गरिसकेका गोस्वामीले नयाँ एल्बममा ६ वटा गीत समावेश गर्दैछन् । अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा शिल्पा पोखरेल तथा किरण लाकौलले अभिनय गरेका छन् ।