मंगलपुरमा आयोजित तीनदिने एकादशी मेला तथा फुड फेस्टिबल गत सोमबार सम्पन्न भएको छ । स्थानीय ज्ञानेश्वर युवा समाजले सञ्चालन गरेको मेलामा कलाकारहरूको उपस्थितिमा दर्शकहरूले भरपुर मनोरञ्जन प्राप्त गरे । कार्यक्रममा टेलिचलचित्र भद्रगोलका अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री), ज्योति काफ्ले (नक्कली बाबुराम), आरपी भट्टराई (लाजालाम) र राजा राजेन्द्रले व्यंग्यात्मक प्रहसनमार्फत दर्शकहरूलाई हँसाए । उक्त अवसरमा गायक प्रमोद खरेल र शिव परियारले दर्शकहरूलाई घरी भावुक बनाए त घरी आफूसँगै नचाए । ख्यातिप्राप्त कलाकारहरू दैनिक उपस्थित उक्त कार्यक्रममा गायक डिजराज पौडेल, सुनिल गिरी, सञ्जितसिंह राना, सरिता गुरुङ श्रेष्ठ, प्रजापति पराजुली आदिले आ- आफ्नो प्रस्तुति दिएका थिए भने स्थानीय कलाकारहरूको नृत्यले आकर्षण थप्ने काम गरेको थियो ।