चितवन नेसनल पार्क क्षेत्रभित्र मौलिक एवं सुविधा सम्पन्न रेस्टुराँहरू प्रशस्तै छन्, जसमध्ये केसिएस रेस्टुराँ एन्ड बार हराभरा बगैंचासहितको मौलिक रेस्टुराँ हो । राप्ती नदीको किनारमा अवस्थित यो रेस्टुराँमा स्थानीय थारू संस्कृतिको मौलिकता तथा थारु परिकारका स्वादहरूमा रमाउन सकिन्छ । १ सय ८० जना क्षमता भएको यो रेस्टुराँले सौराहाको राप्ती किनारमा विशेष परिचय कायम गरेको छ । स्थानीय इँटा तथा घरेलु सामग्रीहरूले सजिएको यो रेस्टुराँमा बसेर स्थानीय मदिरा मात्र होइन, राप्ती नदीको माछाका परिकारहरू, फिस लेमोन ससेज तथा सिजलरको स्वाद पनि लिन सकिन्छ । पारिवारिक वातावरणले युक्त यो रेस्टुराँमा गाउँमै उत्पादित ताजा तरकारी प्रयोग गरिन्छ । नदीकिनारमा आरामदायक फर्निचरमा बस्दा वारेस्टुराँभित्रको शान्त वातावरणले यहाँ आउन जोकसैलाई लोभ्याउँछ ।