मैचा व बौचा, च्याङबा-मैच्याङजस्ता परम्परागत चरित्रलाई ब्रान्ड बनाएका बुकेश महर्जनले आफ्नो कलालाई टिसर्ट नेपाल नामक कम्पनीमार्फत बजारमा पुर्याइरहेका छन् । उनले सुरु गरेको मैचा व बौचा चरित्रलाई पछ्याउँदै अन्य ६ वटा कम्पनीले टिसर्ट उत्पादन गरिरहेका छन् । आफ्नो कलालाई टिसर्टमार्फत विश्व बजारमा पुर्याइरहेका बुकेशले चाडपर्व, सम्पदा आदिमा खोपिएको आर्ट, मौलिक जात्रा, जातीय पहिरन आदिलाई पनि टि-सर्टमा उकेर्ने गरेका छन् । 'मेरा धेरै चरित्रमध्ये छाता ओढेर हिडिरहेका महिला र पुरुष तथा नमस्ते गरिरहेको चित्र धेरैको रोजाइमा पर्यो', महर्जन भन्छन् । बुकेशको कलालाई टि-सर्ट नेपालले प्रिन्ट गरेर ४ सय ५० रुपैयाँमा बिक्री गर्छ । पोखरा, काठमाडौं, ललितपुर, भक्तपुरका साथै अस्ट्रेलिया, बेलायत, अमेरिका, अस्टि्रया तथा ओमनमा उनको टिसर्टको माग बढी छ । बुकेशका स्केच रुचाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।
भक्तपुरको गट्ठाघरमा शोरुम खोलेर सुरु गरेको 'बौचा व मैचा' ले उत्पादन गरेका टिसर्ट नेपालमा मात्र नभै विदेशमा पनि लोकप्रिय हुन थालेका छन् । कम्पनीका प्रमुख विज्ञान प्रजापतिका अनुसार उनीहरूले स्केच गरेको कला धेरैले रुचाएका छन् । 'विस्केट जात्रा र फ्रेन्डसिप स्केच धेरैको रोजाइमा पर्यो,' उनले भने । बौचा व मैचा टि-सर्ट अमेरिका, बेलायत तथा अस्ट्रेलियासम्म पुगेको प्रजापतिले बताए ।
कार्टुनिस्ट राजेश केसीले सञ्चालन गरेको 'फलानो लुगा'का उत्पादन पनि धेरैको रोजाइमा छ । अन्य नेपाली उत्पादनको तुलनामा केही महँगो फलानोका उत्पादन गुणस्तरीय मानिन्छन् । सुन्धाराको सिभिल ट्रेड सेन्टरमा शोरुम रहेको फलानोका उत्पादन विदेशीहरूको रोजाइमा पर्छन् । यता पुल्चोक इन्जिनियरिङ क्याम्पसको होस्टलमा बनेको टि-सर्ट कन्सेप्ट यतिबेला विश्वबजारमा छाएको छ । थ्रेड्सपेन्ट डटकमका आशिष श्रेष्ठको समूहले उत्पादन गरेको टिसर्ट यतिबेला विश्वका कतिपय सहरमा चल्तीको फेसन बन्न पुगेको छ । पृथ्वीनारायण शाहको वाणी तथा तस्बिर सजिएको टिसर्टले राम्रो बजार पाएपछि उनीहरूले अनलाइनमार्फत नेपाली टिसर्टलाई विश्व बजारमा पुर्याएका थिए ।