९७९१
यौनचाहनाको सञ्चालन
यौनचाहना मानव जीवनको अभिन्न पाटो हो । यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वभाविक शक्ति हो । यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ । यौनसम्पर्क गरेर वंशजलाई निरन्तरता दिनु प्राकृतिक नियमको पालना गर्नु पनि हो । अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन । त्यसैले आनन्दका लागि यसको प्रयोग बढी हुन थालेको पाइन्छ, तर यसमा आफ्नो इच्छाअनुसार नहुँदा बढी चिन्ता र चासो देखा पर्छ ।
यौनक्रिया कसरी सञ्चालित हुन्छ ? मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त भलमयअचष्लभ कथकतझ (इन्डोक्राइन सिस्टम) अन्तर्गतका रागरसहरूले यौनेच्छा सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातर्फ इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणाली । यौनेच्छा जाग्ने (विकसित हुने) कार्य वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ । यौन क्रियाकलापमा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताका लागि महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसमा स्वभाविक रूपमै इन्दि्रयहरूको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रा इन्दि्रयहरू दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वाद आदि पनि यौनसम्पर्क वा यौनेच्छासँग सम्बन्धित हुन्छन् । यौनसम्पर्क पनि एउटा विशेष किसिमको स्पर्श नै हो । यौन उत्तेजनाको स्रोत जे-सुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो' भनेर परिभाषित गर्न सकिन्छ । हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट सुरु हुन्छन् ।
किन मन नलागेको होला ?
तपाईको सन्देशमा भएको सीमित जानकारीका आधारमा यकिनका साथ भन्न सकिने कुरा भएन, तर पनि यसका महत्वपूर्ण पाटाहरूलाई हेरौं । माथि नै भनिसकियो, यौनसम्पर्क मानसिक तथा शारिरीक दुवै मिश्रति एउटा जटिल प्रक्रिया हो । सफल एवं सुखमय यौनसम्बन्धलाई निरन्तरता दिने कुरामा विभिन्न कुराले प्रभाव पार्छ । तपाईंले चाहे जस्तै र आफ्नो अनुकुलताअनुसार नै सबै कुरा नहुन सक्छ । यसमा दुई व्यक्ति संलग्न हुने भएकाले दुवैको चाहना अनि अनुकूलतालाई विचार गरेर कुनै मध्यबिन्दु फेला पार्नुपर्ने हुन्छ । यौन सम्पर्क राख्ने चाहना नहुनुको कारणलाई पत्ता लगाउने र त्यसलाई हटाउनेतर्फ ध्यान दिनुपर्ने हुन्छ ।
तपाईंकी केटी साथी यौन क्रियाकलापमै संलग्न हुन नरुचाउनुभएको हो भने पर्याप्त मात्रामा यौन चाहना नहुने, यौन उत्तेजना नै सुरु नहुने वा यौनसन्तुष्टि प्राप्त गर्न बाधा पार्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण हुन सक्छन् ।
मूल्य मान्यता केही खुकुलो भए पनि विवाहपूर्वको यौनसम्पर्कमा अहिले पनि बन्देज छ । विशेष गरेर महिलालाई यौनसम्बन्धी कार्यमा संलग्न हुने कार्यमा बन्देज गरिन्छ र उनीहरूमा त्यसै किसिमको धारणा विकसित भएको हुन सक्छ । यस्तो स्थितिमा तपाईंकी प्रेमिकालाई आफूले गलत कार्य गरिरहेजस्तो लाग्न सक्छ, अनि यौनसम्पर्कमा लाग्ने उत्साह सिर्जना हुन पाउँदैन ।
विवाहपूर्व यौन दुर्घटना भए त्यसको असर दुवैलाई पर्ने भए पनि महिलामा तुलनात्मक रूपमा धेरै नै पर्छ । अनिच्छित गर्भ अनि त्यसका शारीरिक, मानसिक अनि सामाजिक असरहरू पर्न सक्ने भयका कारण पनि समस्या भएको हुन सक्छ । अर्को महत्त्वपूर्ण कुरा तपाईंहरूको सम्बन्धको प्रगाढता हो । सम्बन्ध कति प्रेममय र विश्वास गर्न सकिनेछ त्यसमा पनि ध्यान पुर्याउनु आवश्यक छ ।
पाठेघर वा त्यसवरिपरिको संक्रमणका पीडा हुने हुँदा पनि महिलाहरूले यौनसम्पर्क गर्न मान्दैनन् । केही दीर्घरोगमा पनि यस्तो प्रभाव पर्न सक्छ । त्यसैगरी मानसिक कारणहरूमा यौन प्रतिको गलत मानसिकता, आफैंभित्रका मानसिक विरोधाभास, प्रेमीबाटै भए पनि यौन दुव्र्यवहारजस्ता निकै दु:खदायक वा आघातपूर्ण पूर्व यौनअनुभूतिहरूजस्ता कुराले यौन क्रियाकलापमा सहज रूपमा संलग्न हुनबाट रोक्न सक्छ । त्यसबाहेक दैनिक जीवनमा आईपर्ने तनावहरू जस्तै चिन्ता, निराशा, थकान, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा तनाव आदि यसका कारण हुन सक्छन् । यो तपाईंहरूको पारिवारिक जीवनका अन्य कतिपय कुरासँग पनि सम्बन्धित हुन सक्छ ।
के गर्ने त ?
तपाईंकी केटी साथीलाई यौन सम्पर्क राख्न मन नलागेको परिस्थितिमा जोर-जबरजस्ती गर्ने कुरा भएन । दबाबले कुरा अझ बिग्रन सक्छ । यौनसम्बन्धी आवश्यकता व्यक्तिअनुसार फरक-फरक हुन्छ भन्ने कुरा बुझ्नुपर्छ ।
तपाईंकी केटी साथीको सम्पूर्ण परिस्थितिका बारेमा उहाँपछि सबैभन्दा बढी तपाईलाई नै जानकारी हुने भएकाले तपाईंले माथि चर्चा गरिएका कुराको विश्लेषण गरेर कारण पत्ता लगाउनेतर्फ ध्यान दिनुपर्छ । कारण पत्ता लागेपछि समाधानको बाटो पहिल्याउन त्यति गाह्रो हुँदैन । यसका लागि उहाँसँग खुलेर कुराकानी गर्नुहोस् । तपाईंहरू दुवैको प्रयासले नै सुखमय यौन जीवनयापन गर्ने बाटो खोज्ने हो ।