साप्ताहिक संवाददाता
वी.पी.
प्रश्न पढ्दा तपाईंको श्रीमान्मा भन्दा पनि तपाईंसँग सम्वन्धित समस्या बढी भएजस्तो लाग्छ । पहिलो कुरा, तपाईंको श्रीमान्ले जे चाहना राख्नुभएको छ, त्यो अस्वभाविक होइन । किनभने हरेक प्राणीले यौनका बारेमा जे चाहना राखेको हुन्छ, उहाँले पनि त्यही चाहना राखेको सहजै अनुमान गर्न सकिन्छ । अझ पुरुषहरूको मस्तिष्कमा त हरेक समय यौनका बारेमा विभिन्न किसिमका सोच आइरहेका हुन्छन् भनिन्छ । धनी, गरिब, सानो, ठूलो, हरेक मानिसमा उस्तै यौनचाहना हुन्छ । जैविक आवश्यकताको चीज भएकाले यसलाई अस्वभाविक रूपमा रोकेर वा छेकेर राख्न सकिँदैन । बाँच्न खाना आवश्यक भएजस्तै महत्त्वपूर्ण पक्ष हो यौन । यौनजीवनको अभिन्न विषय हो । यसको अभावमा मानिसहरू असन्तुलित पनि हुन सक्छन् ।
संसारमा मानिसहरू यसको प्रचुर आनन्द लिएर सुखमय दाम्पत्य जीवन बिताइरहेका छन् । कतिपय मानिस यौनलाई सन्तुलित रूपमा सदुपयोग गर्न नसक्दा यौन जीवन दिक्दारीपूर्ण बनाइरहेका हुन्छन् । अस्ट्रेलियामा गरिएको एक अध्ययनअनुसार त्यहाँका ४२ प्रतिशत महिला यौन जीवनप्रति सन्तुष्ट छैनन् । त्यस्तै सोही अध्ययनअनुसार ५४ प्रतिशत पुरुष यौनजीवनप्रति असन्तुष्ट रहेको पाइएको थियो । उक्त अध्ययन विवाह भएको १० वर्ष पूरा भएका दम्पतीमा गरिएको हो । आधुनिकताको विकाससँगै मानिसहरू यौनसम्वन्धका लागि समय निकाल्न सक्न छाडेका छन् । यौनका लागि पनि घण्टौं समय आवश्यक हुन्छ । यो पनि रमाइलोसँग जीवन बिताउने प्रक्रियासँग सम्वन्धित विषय हो । विशेषज्ञहरूका अनुसार जसरी खानाका लागि वा कामका लागि समय छुट्याइन्छ, त्यसैगरी यौनका लागि पनि समय छुट्याएर एउटा तालिका बनाइयो भने अपेक्षाअनुरुपको आनन्द प्राप्त गर्न सकिन्छ । दोस्रो कुरा, तपाईंले आफू यौनका लागि इच्छुक भए-नभएको विषयमा श्रीमानसँग हँसमुख भएर आफ्ना भनाइ खुलस्त रूपमा राख्न थाल्नुहोस् । किनभने यौनमा सञ्चारको ठूलो भूमिका हुन्छ । यौन इच्छा भए त्यहीअनुरूपको आचरण गर्नुहोस् र अनिच्छा छ भने पनि आफ्नो श्रीमान्सँग स्पष्ट रूपमा हँसिलो भएर आज हुन्न है भन्दा चित्त नबुझ्ने प्रश्नै आउँदैन ।
तपाईका श्रीमान् वास्तवमै तपाइर्ंलाई माया गर्नुहुन्छ भने उहाँले जबर्जस्ती गर्ने चाहना राख्नुहुन्न होला । तेस्रो कुरा, जहाँसम्म शारीरिक तन्दुरुस्तीको प्रश्न छ, अहिले शारीरिक रूपमा आफूलाई फुर्तिलो राख्ने विभिन्न किसिमका शारीरिक अभ्यास गर्न सकिन्छ । आधुनिकताको विकाससँगै अहिले मनोरञ्जनका अनेकन् साधन उपलब्ध छन् । रमाइला तथा मनोरञ्जक स्थल घुम्ने वा चलचित्र हेर्ने, योग गर्ने वा यस्तै अन्य मनोरञ्जक गतिविधिहरूमा संलग्न भएर पनि आफूलाई स्वस्थ र ऊर्जाशील राख्न सकिन्छ । तपाईंले यसतर्फ पनि ध्यान दिनु आवश्यक छ । घरमा खाना मीठो लागेन भने रेस्टुराँ वा होटल जान सकिन्छ । त्यसैले घरमै खाना मीठो बनाउने प्रयास गर्नुपर्छ । यौनभित्र पनि विविधता छन् । तपाईंको श्रीमान्ले विविधता खोज्नुभएको छ भने त्यो पनि स्वभाविक हो । यसले उहाँलाई मात्र होइन, तपाईंलाई पनि राम्रै गर्छ । ठूला मान्छेले यौनका कुरा गर्दैनन् भन्ने होइन । यो सबैको आवश्यकता हो भन्ने कुरा बुझेर त्यसैअनुरूप व्यवहार गर्न थाल्नुहोस् । तपाईंका सारा शंका निवारण हुनेछन् ।