कुनै समय थियो कास्कीका मोहन गुरुङ (४०) का जुँगाका रेखी भर्खर मात्र बस्दै थिए । उतिबेला एसएलसी दिएर उनी फुर्सदमा थिए । छ महिनाको फुर्सद बिताउन उनलाई हम्मे-हम्मे परिरहेको थियो । कहिले वारि अनि पारि गाउँका साथीभाइहरूसँग हाँसखेलमा समय बितिरहेको थियो । पोखराको रमझममा उनका दिनहरू बित्थे । लाहुरे भर्ती पनि खुलेको थिएन । मोहनका त्यतिबेलाका दिनहरू रमाइलोसँग बित्दै थिए । उनका दाजु बि्रटिस लाहुरे थिए । त्यहीबेला दाजुको तालिम कोरियामा पर्यो । यही मौका छोपेर उनी कोरिया उड्ने तयारीमा लागे । ६ महिनाका लागि मात्र भनेर उनले कोरियाको तयारी गरेका थिए । एसएलसीको नतिजा आउँदा नआउँदै उनी पनि कामदारका रूपमा कोरिया उडे ।
कोरिया त पुगे तर कमाइ खासै भएन । सुरुमा हकरको काम गरे अनि त्यसपछि गार्मेन्ट उद्योगमा । गुरुङ कामदारका रूपमा धेरै कम्पनी चहार्दै हिंडे । यही मौकामा टाटु खोप्ने तालिम पनि लिए । पहिलो पटक उनले दुई महिनासम्म टाटु आर्टको तालिम लिएका थिए । कोरियामा त्यसताका टाटु फेसनका रूपमा प्रचलित थिएन । 'सौखका रूपमा मात्र तालिम लिएको थिएँ,' उनले भने । तीन वर्षसम्म कोरिया बस्दा उनले सुख भोग्न पाएनन् । 'पर्याप्त कमाइ हुन सकेन, दिनभरि मजदुरी गर्यो अनि बेलामौका ठट्यौली गर्दागर्दै पैसा सकिन्थ्यो',उनले कोरिया बसाइको अनुभव सुनाउँदै भने, 'अन्तत: साथीहरूसँग पैसा सापट मागेर नेपाल फर्किएँ ।'
नेपाल आएपछि पनि केही समय उनी फुर्सदिला नै भए । स्वदेशी भूमि टेकेपछि उनमा रहेको विदेश मोह पनि मरेर गयो । मोहन तीन वर्ष काठमाडौं बसेर पोखरा फर्किए । नेपालमा टाटु हान्ने प्रचलन खासै थिएन । यद्यपि तराई वा भारततिरबाट आएका मधेसी मूलका व्यक्तिहरू सानो-तिनो टाटु खोप्दै हिँड्ने चलन उतिबेला पनि थियो । उनलाई एकदिन जुक्ति फुर्यो । अब यसरी बेरोजगार भएर बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोच आयो । १९९७ ताका उनले पोखराको लेकसाइटमा सानो कोठा लिएर टाटु खोप्ने काम सुरु गरे । घरपरिवार उनीप्रति असन्तुष्ट भएकाले लगानी गर्न आनाकानी गरिदिए । उनको गोजीमा 'सुको' थिएन । 'आफूसँग पैसा नहुँदा त कसैको भइदो रहेनछ, उनले विगत सम्झिए । चिनजानकी दिदी सुष्मा गुरुङले मोहनको टाटु सेन्टरमा लगानी गरिदिइन् । लगभग १ लाख रुपैयाँको लगानीमा उनको टाटु सेन्टर खुल्यो ।
जब लेकसाइडमा पहिलो टाटु सेन्टर खुल्यो, मोहनको करियरको टर्निङ प्वाइन्ट त्यही नै भयो । 'सुरु सुरुमा त टाटु खोप्न आएका ग्राहकलाई कन्भिन्स गर्नै गार्हो भयो, बिस्तारै सबैले बुझ्दै गए ।' उनले सुरुवाती दिन सम्झिए । परिवार उनको व्यवसायप्रति सन्तुष्ट हुन सकेन । टाटुका बारेमा धेरैलाई बुझाउन गार्हो भयो । त्यतिबेला नेपालमा टाटु सेन्टरहरू भर्खर मात्र खुल्न थालेका थिए । ठमेलमा बाबुराजा महर्जनले खोलेको टाटु हाउस नै सम्भवत: पहिलो थियो, तर टाटु सेन्टर खोल्न पनि सहज थिएन । केश पाल्ने, कुण्डल लगाउने र टाटु खोप्नेहरूप्रति माओवादी तथा प्रहरीले निगरानी बढाएका थिए, तर ठूलो चुनौतीका बीच ठमेलको नर्सिङचोकमा 'मोहन्स टाटु इन' खुल्यो । मोहनले हिम्मतका साथ टाटु सेन्टर खोलेका थिए । पोखरा छाडेर जब मोहन काठमाडौं आए उनले पछाडि फर्केर हेर्नुपरेन । टाटु सौखिनहरू उनको कलामा रमाउन थाले । उनको कला मन पराउनेहरू प्रतिघण्टा ३ हजार रुपैयाँसम्म तिर्न तयार भए । सन् २००० मा खुलेको 'मोहन्स टाटु इन' मा यतिबेला थामिनसक्नुको भीड हुन्छ । टाटुका तस्बिरले भरिएको एउटा फ्ल्याटमा धेरै सौखिन विभिन्न आकृतिमा आफ्नो शरीर सजाइरहेका छन् । १४ वर्ष लामो टाटु व्यवसायबाट मोहनको जिन्दगीले छलाङ मारेको छ । टाटुलाई नयाँ तरिकाले प्रस्तुत गरेपछि उनीकहाँ विदेशीहरूको पनि भीड बढेको छ ।
यतिबेला टाटु र मोहन पर्यायवाची नै भैसकेका छन् । उनको जीवनमा ठूलो परिवर्तन आएको छ । कलिलै उमेरमा आमा गुमाएका मोहनले बुबालाई आफ्नै साथमा राखेका छन् । बुबा पारसमणि र आमा सिनामायाका कान्छा पुत्र मोहन डेराको दु:खजिलो जीवनबाट आफ्नै घरमा सुखको जिन्दगी बिताउन थालेका छन्, कार चढ्ने भएका छन् । 'समयअनुसार परिवर्तन त हुनैपर्यो,' उनले भने । एक छोरा र एक छोरीका बाबु मोहनलाई छोराछोरीले पनि काममा सहयोग गर्न थालेका छन् । श्रीमती हरहमेसा उनकै साथमा हुन्छिन । नौ जनालाई रोजगारी पनि दिएका छन् । 'यो व्यवसायले यस्तो परिवर्तन ल्याउँछ जस्तो लागेको थिएन,' मोहनले भने- 'आफ्नै शरीर भरी कलात्मक टाटु खोपेका मोहनले सुरु गरेको यो व्यवसाय यतिबेला टाटु-पर्यटनका रूपमा पनि विकास हुँदै गएको छ ।'
मोहन देश-विदेशमा साना-ठूला 'टाटु कन्भेन्सन'हरूमा सहभागिता जनाउन पनि पुगेकै हुन्छन् । 'नेपालमा मात्र चारवटा टाटु कन्भेन्सन भैसकको छ, यसले बृहत्तर रूप लिँदै गएको छ', उनले भने । चीन, थाइल्यान्ड, जर्मनी, बेलायत, अमेरिका, सिंगापुर, भारत आदि मुलुकका टाटु कन्भेन्सनमा पुगेका मोहनले विदेशमा पुरस्कारहरू पनि जितेका छन् । अमेरिकामा हुने इभेन्टहरूमा धेरै पटक मोहनले प्रथम पुरस्कार नै जितेका छन् । सौख र फेसनका रूपमा लिइने टाटुले यतिबेला पूर्ण व्यवसायिक रूप लिएको छ ।