साप्ताहिक संवाददाता
नीताको स्वीकारोक्ति
नायिका नीता ढुंगानाले आफ्नो प्रेम प्रसंग सार्वजनिक गरेकी छिन् । दिनेश डिसीको चलचित्र 'फूलैफूलको मौसम तिमीलाई' मार्फत डेब्यु गर्ने नायक आमेश भण्डारीसँग विगत तीन वर्षदेखि प्रेम-सम्बन्धमा रहेको कुरा नीताले फेसबुक स्ट्याटसमार्फत सार्वजनिक गरेकी हुन् । डिसीको चलचित्रमा यी दुवै जना मुख्य भूमिकामा छन् । नीताले आफ्नो स्ट्याटसमा 'विथ माइ लाइफ' लेख्दै आमेशसँगको प्रेम सार्वजनिक गरेकी हुन् । नीताका अनुसार आमेशसँग उनको पहिलो भेट तीन वर्षअघि एउटा विद्यालयको कार्यक्रमका क्रममा भएको थियो । 'एउटा हेन्डसम युवकले आफूलाई निरन्तर हेरेपछि लाज लागेको थियो, नीताका अनुसार त्यसपछिका भेटघाटले प्रेमको रूप लिन समय लिएन । प्रेमी नै नायक भएको पछिल्लो चलचित्रमा काम गर्न सहज भएको नीताको अनुभव छ । भनिन्छ, नीता र आमेशले सल्लाह गरेरै यो सम्बन्धलाई सार्वजनिक गरेका हुन् ।
निकिता पनि निर्देशक ?
निर्माता उद्धव पौडेलकी छोरी निकिता पौडेलले चलचित्र निर्देशकका रूपमा डेब्यु गर्ने पक्का भएको छ । सूत्रहरूका अनुसार गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेका थुप्रै चलचित्रमध्ये एउटा चलचित्र निर्देशन गर्ने जिम्मा निकिताले पाएकी छिन् । चलचित्रको निर्देशनका लागि निकिताले स्क्रिप्ट तथा गीत-संगीत समेत तयार पारिसकेको बताइन्छ । निकिताको चलचित्रको संगीत निर्देशन अर्जुन पोखरेलले गरिरहेका छन् भने किरण माईकलले चलचित्रको स्क्रिप्ट लेखेका छन् । गोपीकृष्णकै अर्को एउटा चलचित्रको निर्देशन भने निकिताकै दाई निरक पौडेलले गर्नेछन् । निकिता र निरकले निर्देशन गर्ने चलचित्रका शीर्षक भने सार्वजनिक गरिएको छैन ।
जेरीको रमाइलो अर्थ
नेपाली चलचित्रको निर्माणमा तीव्रता आउन थालेलगत्तै शीर्षकमा समेत विविधता देखिन थालेको छ । आज शुक्रबार प्रदर्शनमा आउने चलचित्र 'जेरी' को शीर्षक गुलियो खाद्य पदार्थको नामबाट सापटी लिइएको अनुमान गर्न गाह्रो पर्दैन । खानेकुराको नामबाट चलचित्रको शीर्षक जुराउनु नौलो कुरा होइन, तर 'जेरी' शीर्षक राखिनु खानेकुरासँग मात्र सम्बन्धित नरहेको चलचित्रका निर्माता मनोज शेरचनले स्पष्ट पारेका छन् । शेरचन भन्दै थिए—
'पहिलो कारण त जेरीको स्वाद जस्तो मीठो कथा भएकाले यसको शीर्षक जेरी राखिएको हो । दोस्राे कारण चलचित्रमा अनमोल केसीको पात्रको नाम नै जेरी छ । उनको पात्रको थर जंगबहादुर राणालाई छोटकरीमा जेरी भनिएको हो ।' तेस्राे कारण भने पृथक् छ । चलचित्रमा अनमोल केसीले चर्चित टेलिभिजन कार्यक्रम 'टम एन्ड जेरी' का जेरीको जस्तै चुलबुले पात्रको भूमिका निर्वाह गरेका छन् । चलचित्र निर्देशक हेमराज बिसीले यी तीनवटा कारणले चलचित्रको शीर्षक 'जेरी' जुरेको बताउँदै चलचित्रले 'जेरी' झैं स्वाद पस्कने दावी गरेका छन् ।
दीपककी प्रियंका
चलचित्रको छायांकन प्रारम्भ नहुन्जेल मुख्य कलाकार अनुबन्ध हुने, अनुबन्ध गरिएका कलाकार हटाएर पुनः नयाँ कलाकारलाई लिने चलन नयाँ होइन । केहीअघि विकास आचार्यले चलचित्र 'नाइँ नभन्नु ल-३' बाट जीवन लुइँटेलको स्थानमा आर्यन सिग्देललाई भित्र्याएका थिए । अहिले आएर निर्माता तथा हास्यअभिनेता दीपकराज गिरीले दर्शकहरूको अनुमान विपरीत प्रियंका कार्कीलाई आफ्नो नयाँ चलचित्र 'वडा नम्बर ६' का लागि अनुबन्ध गरेका छन् । पहिलो चलचित्र 'छ एकान छ' मा नीता ढुंगानाले ६ जना नायकको नायिका बन्ने अवसर पाएकी थिइन् । उक्त चलचित्रको व्यवसायिक सफलतापछि दीपकको नयाँ चलचित्रमा पनि नीता नै नायिका हुने अनुमान गरिएको थियो । अनुमानविपरित दीपकले नायिका प्रियंका कार्कीलाई नायिकाका रूपमा सार्वजनिक गरेर सबैलाई अचम्मित तुल्याए । भनिन्छ, चलचित्रमा प्रियंकालाई दीपककी जोडीका रूपमा प्रस्तुत गरिनेछ ।