साप्ताहिक संवाददाता
हामीसँग समय थोरै थियो, तर पनि काम गरेको पुरानो अनुभवका आधारमा हल्का डर लाग्दा लाग्दै पनि आँट गरे । अहिले मेरो निर्देशनको चलचित्र पोष्ट प्रोडक्सनमा छ । मंसिर २६ गते रिलिज हुन्छ । मलाई यो काममा सबै अंकलले साथ दिनुभएको छ । म सबैलाई धन्यवाद भन्न चाहन्छु । अब म गिनिज बुकमा आफ्नो नाम लेखाउन सक्छु भन्ने पूर्ण आत्मविश्वास छ किनभने उक्त चलचित्रमा मैले निर्देशकका रूपमा सीमित भूमिकामा मात्र निर्वाह नगरी प्राविधिक पक्ष पनि आफैं हेरेको छु । कलाकारहरूबाट पनि चित्तबुझ्दो काम गराएको छु । मेरो प्राविधिक टिमले पनि मलाई उत्तिकै साथ दिएको छ ।
अहिले म सूर्योदय ज्योति सेकेन्डरी स्कुल डिल्लिबजारमा कक्षा २ मा अध्ययनरत छु । स्कुल र होमवर्क सकेपछि पोष्ट प्रोडक्सनको काम हेरिरहेको छु । स्कुलका साथीहरूले पनि अहिले मलाई डाइरेक्टर सा'ब भन्न थालेका छन् । अहिले डबिङ पनि लगभग सकिएको छ भने कलर करेक्सनको काम भैरहेको छ । मैले गाह्रो काम रोजेको थिए, तर अब लगभग काम सकिएको छ, चलचित्र राम्रो बनेको छ । बाबु र छोरीको प्रेम यो चलचित्रको मूल कथा हो । पहिलो काम भएकाले केही स्थानमा चुकेको हुँला तर आगामी चलचित्रमा त्यस्ता कमजोरीहरू सच्याउने मौका पाउनेछु ।
मैले एउटा विज्ञापनमा अभिनय गर्ने मौका पाए । त्यसपछि कखरा र जन्मभूमि चलचित्रमा अभिनय गरे । अभिनयकै लागि काठमाडौं बाहिर पनि पुगे । मेरो कामलाई धेरैले मनपराउनु भएको थियो । चलचित्र निर्देशन गर्ने आत्मविश्वास जगाउन तिनै कामले भूमिका खेलेका थिए । उमेरको हिसाबले मैले चलचित्र निर्देशन गरेको कुरा पत्याउन सबैलाई गाह्रो लाग्छ तर मैले राति १२ बजेसम्म काम गरेर भोलिपल्ट बिहान ६ बजे फेरि सुटिङ सुरु गरेको थिए । बाबा लगायत अन्य कलाकारहरू पनि मेरो काम देखेर छक्क पर्नुभएको छ ।