साप्ताहिक संवाददाता
शाकाहारी चेतना
पशु अधिकार रक्षाका लागि सक्रिय संस्था पेटाले वर्षेनि मनाउँदै आएको विश्व शाकाहारी दिवस यस पटक लन्डनमा मनायो । शरीरमा कृत्रिम रगत छर्केर पेटाका सदस्यहरूले जनावरबाट आउने खाद्य पदार्थ सेवन नगरौं भन्ने आवाज बुलन्द गरे । लन्डनको ट्राफल्गार क्षेत्रमा पेटाका १ सय भन्दा बढी सदस्यले पशु अधिकारको पक्षमा नारा पनि लगाएका थिए । उनीहरूले प्रर्दशन हेर्न आउने मानिसहरूसँग शाकाहारी बन्न आग्रहसमेत गरेका थिए । अर्धनिर्वस्त्र रूपमा शरीरमा कृत्रिम रगत छर्केर प्रर्दशनमा उत्रिएका कार्यकर्ताहरूले बेलायतीहरू मोटो हुनुको मुख्य कारण मासुको अत्यधिक सेवन भएको बताएका थिए ।
कण्डमले विवाद बढ्यो
सिड्नीको एक पार्कमा राखिएको ठूलो आकृतिको कण्डमप्रति स्थानीय बासिन्दाहरू रुष्ट हुन थालेका छन् । सुरक्षित यौनसम्पर्कका विषयमा जनचेतना जगाउन स्थानीय एड्स काउन्सिलले हेडेपार्कमा १८ मिटर अग्लो कण्डमको आकृति राखेको थियो । बढ्दो समलिंगी यौन सम्बन्धले एड्स निम्त्याउने खतरातर्फ संकेत गर्दै नियमित परीक्षण गराउनु, चाँडै उपचारमा आउनु र सुरक्षित हुनुनै एड्स हुन नदिनु हो भन्ने सन्देश उक्त कण्डमको आकृतिले दिन्छ । कण्डम राखिएको पार्कमा बालबालिकाहरू खेल्न आउने हुनाले उनीहरूको मनस्थितिमा नकारात्मक असर पर्ने जनाउँदै स्थानीय अभिभावकहरूले उक्त कण्डमको आकृति हटाउन अनुरोध गरेका छन् । १ सय ५७ वर्ष पुरानो स्मारकमाथि राखिएका कारण उक्त स्मारक हेर्न आउने बालबालिकाको ध्यान कण्डम तथा यौनतर्फ जाने हुनाले अभिभावकले त्यसलाई हटाउने माग गरेका हुन् । कण्डम राख्ने निकाय भने अहिलेको अवस्थामा बालबालिकालाई पनि यौनका विभिन्न पक्षबाट जोगाउनु पर्ने हुनाले उक्त सन्देशले उनीहरूलाई सजग गराउने दाबी गरेको छ ।
युद्ध प्रचारमा सुन्दरी
रुसले हालै देशकी सर्वाधिक सुन्दरीका लागि भोटिङ गराउँदा मारिया जारिङको नाम अगाडि आएपछि विवाद सिर्जना भएको छ । रुस र युक्रेनबीच क्रिमियाको विषयलाई लिएर युद्ध भैरहेको छ । क्रिमियाले आफूलाई रुसमा बिलय गरे पनि युक्रेनले आफूसँगै रहेको दाबी गरिरहेको छ । यो विषयमा विवाद बढ्दै गएपछि पश्चिमेली मुलुकले रुसलाई एकल्याउँदै लगेका छन् । यस्तो अवस्थामा क्रिमियामा जन्मिएकी मारियालाई रुसले आफ्नो देशकै सर्वाधिक सुन्दरी घोषणा गरेपछि ती मोडल पनि विवादमा आएकी हुन् । आकर्षक वक्षस्थल तथा मुहारका कारण मारिया रुसमा लोकपि्रय छिन् । २८ वर्षीया यी मोडललाई रुस सुन्दरी घोषणा गरिएपछि उनले यसलाई राजनीतिक रूपमा नहेर्न अनुरोध गरेकी छिन् । मारियाले आफू कुनै पनि हालतमा राजनीतिमा संलग्न नभएको जनाएकी छिन् । उनले उपाधि पाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै आफ्ना बक्षस्थल, शरीर, उपाधि एवं मातृभूमिप्रति गौरव गर्ने कुरा बताएकी छिन् ।