मौलिक नाच हुर्रालाई लोप हुन नदिन नेपाल मगर संघ, धरान नगरको आयोजनामा हुर्रा नृत्य सम्पन्न भएको छ । धरानमा आयोजित हुर्रा नाच धनकुटाको मुडेबाट प्रारम्भ भएको किंवदन्ती रहेको संघका अध्यक्ष चित्रराज थापा मगरले जानकारी दिए । त्यसैले हुर्रा नाच पूर्वका मगरहरूले मात्र नाच्ने थापाले बताए । हुर्रा नाच अहिले मगरहरूका विभिन्न कार्यक्रममा पनि प्रदर्शन गरिने अध्यक्ष थापाले बताए । यो नाच तिहारको औंसीदेखि पूणिर्माको दिनसम्म नाचिन्छ । केही वर्षअघि पूर्वका सबै ठाउँका मगरहरू धरानमा भेला भएर हुर्रा नाच्ने गरेको उनले बताए, तर अहिले धनकुटाको नाम्जे र भेडेटारका मगरहरू मात्र यसमा सहभागी हुन्छन् । यो नाच लोप हुँदै गएको थापाको दुखेसो छ । हुर्रा नाचमा बूढापाकादेखि केटाकेटी सबै जना नाच्छन् । हुर्रा नाच्दा मौलिकता झल्कने खालको गीत पनि गाइन्छ ।