साप्ताहिक संवाददाता
फस्ट क्लास क्रिकेट सीमित ओभरको क्रिकेट होइन, यो तीन-चार अथवा पाँच दिन चल्छ र यसमा हुनेछन्, चार इनिङस् । टेस्ट यसको सर्वोच्च रूप हो । खेलाडीको वास्तविक परीक्षा कतै हुन्छ भने त्यो फस्ट क्लास क्रिकेटमा हुन्छ । युवा खेलाडीले सुरुमै सीमित ओभरको क्रिकेट खेल्नु राम्रो मानिँदैन, विशेषत: ट्वान्टी-२० क्रिकेट त खराब नै मानिन्छ ।
अहिले नेपाली राष्ट्रिय क्रिकेट श्रीलंकामा छ । श्रीलंकाको यो भ्रमण हाई परफरमेन्स प्रोगामअन्तर्गत हो । यो नेपालका लागि आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टुको तयारी पनि हो । यसै क्रममा नेपालले खेल्नेछ, दुई फस्ट क्लास क्रिकेट पनि । यसै साता नेपालले कुरुनेगाला कम्बाइन-११ विरुद्ध पहिलो खेल खेली पनि सकेको छ ।
यसअघि नेपालले चार फस्ट क्लास क्रिकेट खेलेको छ, जुन सबै सन् २००५ पछि हो । त्यति बेला तीन दिनको आईसीसी इन्टर कन्टिनेन्टल प्रतियोगिता हुन्थ्यो । नेपालले युएईविरुद्ध दुई तथा मलेसिया र हङकङविरुद्ध एक-एक खेल खेलेको थियो । किनभने आईसीसीले उक्त प्रतियोगितालाई निरन्तरता दिन चाहेन । मलेसियाविरुद्धको खेलमै पारसले डेब्यु गरेका थिए ।
त्यति बेला पारसको उमेर थियो, १७ वर्ष । अहिले श्रीलंका गएको टिमका अरू तीन खेलाडी शक्ति गौचन, मेहबुब आलम र शरद भेषवाकरसँग मात्र त्यति बेला खेलेको अनुभव छ । 'क्रिकेटमा केही सिक्ने भनेकै, फस्ट क्लास क्रिकेटमा हो,' नेपाली टिमका प्रशिक्षक पुबुदु दसानायके भन्छन् । पुबुदुका अनुसार अहिलेको दुई फस्ट क्लास क्रिकेटले आउने दिनहरूका लागि नेपाली खेलाडीहरूलाई ठूलो मद्दत गर्नेछ ।