कीर्तिपुरसँगैको मच्छेगाउँमा आयोजित 'सात गाउँले नेवा: जात्रा भोज' कार्यक्रममा सहभागीहरूले नेवारी परिकारसँगै गीत, संगीत तथा नृत्यबाट मनोरञ्जन प्राप्त गरे । गत शुक्रबार आयोजित कार्यक्रममा कीर्तिपुर, मच्छेगाउँ, सतुंगल, बोसीगाउँ, ल्वखा, नैकाप तथा पाँगा गरी सात गाउँका गाउँलेले नेवारी तिथिमिति, परम्परा तथा संस्कृतिअनुसार आगामी मंसिर १५ गते मनाउने जात्राको पूर्वसन्ध्यामा उक्त रमाइलो कार्यक्रम आयोजित गरिएको हो । सिचु नसा: त्वसा: रेस्टुराँले आयोजना गरेको कार्यक्रममा ऐतिहासिक, धार्मिक महत्त्व बोकेको मच्छेगाउँस्थित मच्छेनारायण मन्दिरको माथि र शान्तिका अग्रदूत गौतमबुद्धको मन्दिरसमेत रहेको शान्तिवनको मुनि सिनु नसा: मा विभिन्न नेवारी परिकार पस्किइएको थियो । नेवारी परिकारहरू बनाउन सिपालु स्थानीय पवन गोपाली, प्रकाश गोपाली, विष्णु महर्जन, निरेश गोपाली तथा अष्टमाया गोपालीले समारोहका लागि स्वादिष्ट परिकार तयार पारेका थिए । नेवा: जात्रा भोजमा किबोर्डिष्ट बालकृष्ण चौधरी, ड्रमर आकाश, ढोलकवादक कुल महर्जन तथा गितारिस्ट राज श्रेष्ठले प्रस्तुत गरेको सांगीतिक धुनले उपस्थित सबैको मन जितेको थियो । स्थानीय गायक-गायिका सानु कुमार, सुभास तथा आयुषा आदिले गीत-संगीत प्रस्तुत गरेर उक्त कार्यक्रमलाई संगीतमय बनाएका थिए ।