साप्ताहिक संवाददाता
तिनै राउल पछिल्लो साता काठमाडौंमा थिए । उनी एकाएक काठमाडौं आए र उनलाई अप्रत्याशित रूपमा सडक बजारतिर देखेपछि नेपाली फुटबल प्रशंसकहरू दंग परे । राउल नितान्त निजी भ्रमणमा काठमाडौं आएका थिए र मिडियासामु आउन रुचाएनन् । उनले केही प्रशंसकसँग तस्बिर खिचाउन भने कन्ज्युस्याइँ गरेनन् । राउल काठमाडौं आएका अन्तर्रराष्ट्रिय खेलकुदका एक्ला ठूला स्टार भने होइनन् । केही ठूला स्टार नेपाल आउने हल्ला पनि चल्यो, तर त्यस्तो हल्ला-हल्लामै सीमित रह्यो । जस्तो, फ्रान्सका जिनेदिन जिदान । केही स्टारले नेपाल आउने इच्छा पनि देखाएका छन् । जस्तो वेस्ट इन्डिजका ब्रायन लारा । पछिल्लो एकाध दशकमा नेपाल आएका चर्चित खेल हस्तीमा क्रिकेट खेलाडीको बाहुल्यता छ । एक समय टेम्पो लेजेन्ड कपका क्रममा सन् १९८३ को विश्वकप विजेता भारतीय कप्तान कपिल देव काठमाडौं आएका थिए । सन् १९९९ को टेम्पो लेजेन्ड कप खेल्न पाकिस्तानका अब्दुल कादिर पनि नेपाल आएका थिए । त्यसयता नेपाली क्रिकेट टिमलाई शुभकामना दिन वर्तमान भारतीय टिमका कप्तान महेन्द्रसिंह धोनी नेपाल आए ।
त्यसको अगाडि पछाडि सुनिल गावस्कर र भीभीएस लक्ष्मण पनि नेपाल आए । सम्भवत: नेपाल आएका अहिलेसम्मकै र्सवाधिक ठूला स्टार टेनिस खेलाडी मार्टिना हिंगिस हुन् । सन् १९९८ मा उनी नेपाल आएकी थिइन् र त्यति बेला हिंगिस किशोर उमेरमै थिइन् । विश्व स्वास्थ संगठनको सदभावना राजदूतका रूपमा उनी नेपाल आएकी थिइन् । नेपाल आएका फुटबलका अर्का चर्चित व्यक्तित्व इङलिस प्रिमियर लिग क्लब वेस्ट ह्यामका व्यवस्थापक साम एलाडाइसी पनि हुन् । उनी पोहर नेपाल आएका थिए, तर उनको भ्रमण पनि नितान्त गुपचुप र निजी रह्यो । साम टे्रकिङमा निस्किएका थिए र उनको नेपाल भ्रमण नेपाली मिडियाका लागि चर्चाको विषय पनि भएन, बरु विदेशी मिडियाले त्यसलाई ठूलो महत्त्व दिए ।