साप्ताहिक संवाददाता
सरकारी सार्कले क्षेत्रीय व्यापार सम्झौता, त्रिदेशीय विद्युत् सम्झौता, द्विदेशीय सीमा सम्झौता, अन्तरदेशीय सीमा संम्झौता, स्वदेशी शान्ति सम्झौता, एक देशीय पानी सम्झौता, आधा देशीय खानी सम्झौता, लिने सम्झौता, दिने सम्झौताजस्ता ठूल्ठूला सम्झौता गर्छ जनसार्कले त्यसभन्दा साना कार्य गर्छ ।
जस्तो कि, जनसार्कमा आँसुविरुद्धको एकता, हाँसो पक्षीय सम्झौता, भोक अन्त्यको सहकार्य, शोक समाप्ति सहयोग, बिजोक विरोधी अभियान, मैत्री विकासको भावना, भ्रातृत्व निर्माणको सम्भावनाजस्ता 'खुद्रा मसिना' विषयहरू समेटिनेछन् । समग्रमा दक्षिण एसियाका जनताको मन र पेटको सम्बन्ध बलियो बनाउनु जनसार्कको मुख्य उद्देश्य हुनेछ ।
जनसार्क सम्मेलनका सहभागीहरूले भाषणमा मीठा कुरा गरेर व्यवहारमा कुटिल चाल चल्ने छैनन् । क्षेत्रीय सहयोगको आवरणमा शक्ति बिस्तारको सपना देख्ने छैनन् । सार्क संगठनलाई मागी खाने केन्द्र बनाउने छैनन् । ठूला देशहरूको मोहरा बन्ने-बनाउने छैनन् । जनसार्कले दक्षिण एसियाका जनताको हितमा काम गर्नेछ, यस भेगका सम्पूर्ण सरकारहरूलाई खबरदारी गर्नेछ ।
जनसार्कमा सरकारी ढुकुटीको सत्यानास गरिने छैन । संगठनका सदस्यहरू चार्टर जहाजमा चढ्ने छैनन् । फजुल खर्च यसकारण कम हुनेछ कि, यो जनसार्क सम्मेलन दिल्ली, इस्लामाबाद, ढाका वा काठमाडौंमा हुने छैन । रुकुम-रोल्पाका जनताका घरमा जनसार्कका सम्मेलन हुनेछन् । चटगाउँ, जाफ्ना, दण्डकारन्यम्जस्ता दुर्गम गाउँमा हुने जनसार्कले त्यहाँका जनताले दिएकै मीठो पिठो खाएर सम्मेलन सम्पन्न गर्नेछन् ।
जनसार्कमा दक्षिण एसियाका राष्ट्रपति वा प्रधानमन्त्रीहरू उपस्थित हुने छैनन् । सत्ता र शक्ति बिनापनि जनतामा लोकप्रिय भएकी पाकिस्तानकी किशोरी मलाला, भूटानका किसान डण्डु भुटिया, बंगालादेशका मजदुर सोनार बंग्ला, पाकिस्तानका गरिर हसन महम्मद, श्रीलंकाकी एकल महिला माथुरीका प्रभाकरनलगायत द्वन्द्वपीडित, मालदिभ्सका मौसम पीडितजस्ता सर्वसाधारणहरू जनसार्कका सहभागी हुनेछन् ।
जनसार्कमा भाषाको खासै समस्या पर्नेछैन किनभने दक्षिण एसियाका जनता मनले मनको कुरा बुझ्न सक्छन् । किनभने यो भेगका जनताको मुख्यः समस्या भनेको भोक, शान्ति र सुरक्षा हो । सरकार सार्क सम्मेलनमा नउठेका विषय जनसार्कमा उठ्ने छन् । भूटानी शरणार्थी समस्यामा ठूला छिमेकीहरूले देखाएको दोहोरो चरित्र जनसार्कको एजेन्डा बन्नेछ । आतंकवादी तह लगाउने नाममा अफगान नागरिकमाथि विदेशी जहाजबाट भैरहेका विदेशी बम वषर्ाको कुराको जनसार्कमा सहभागी जनताले खुलेर विरोध गर्नेछन् ।
आफ्नो पक्षमा पल्ला भारी पर्ने गरी विभिन्न देशसँग भएका, भैरहेका र हुन सक्ने सन्धि-सम्झौताहरू जनसार्कका सहभागीहरूको तारो बन्नेछन् । तमिल विद्रोह दबाउने क्रममा श्रीलंकामा भएका युद्ध अपराधहरू, बंगालादेशका अल्प संख्यकहरूमाथि हुने कत्लेआमका घटनाहरू, विकसित भनिएको भारतका सडक गल्लीहरूमा एक छाक खान नपाएका करोडौं गरिब जनताको पक्षमा, भोक, रोग र शोकले ग्रस्त्ा नेपालीसहित सम्पूर्ण दक्षिण एसियालीको पक्षमा जनसार्कले आवाज बुलन्द पार्नेछ ।