साप्ताहिक संवाददाता
अहिले मासिक करिब ५४ हजार रुपैयाँ आम्दानी गर्ने हिताङ काम नसिकी कतार जानुभन्दा नेपालमै कुखुरा, बाख्रापालन, तरकारी खेतीजस्ता काम गर्नु उपयुक्त हुने सुझाव दिन्छन् । कतारमा मुख्यत: ट्राफिक नियम बुझ्न निकै गाह्रो भएको हिताङको अनुभव छ । 'सानो गल्ती भए पनि ठूलो कारबाही हुन्छ, ड्राइभिङमा अझ बढी गाह्रो हुन्छ,' -उनले भने । व्यवहार र काम राम्रो हुनुपर्छ, नत्र यहाँका केटाकेटीले पनि हेप्छन्- हिताङले आफ्नो अनुभव सुनाए ।
कतारको इभर ब्राइट सिपिङ कार्गाे कम्पनीमा कार्यरत निराजन लुइँटेल सन् २००७ मा कतार प्रवेश गरेका हुन् । चन्द्रगढी झापा घर भएका लुइँटेल उक्त कम्पनीमा अप्रेशन अफिसरका रूपमा काम गर्छन् । आफ्नो कामबाट सन्तुष्ट लुइँटेल भन्छन्, 'मेरो काम कार्यालयभित्रको भएकाले खासै गाह्रो छैन, शारीरिक श्रम गर्नु पर्दैन, मसँग यो कामको ५ वर्ष लामो अनुभव छ, त्यसैले खासै कुनै असहजता छैन ।' कम्पनीले पनि राम्रो सुविधा दिएको लुइँटेल बताउँछन् । लुइँटेल भन्छन्- 'राम्रो कोठा दिएको छ, पिउने पानी, वाषिर्क बिदा, लुगा धुने वासिङमेसिन, तातो चिसो पानी आदिको सुविधा छ ।'
जुनसुकै कामका लागि कतार आउने भए पनि सुरुमा कामका बारेमा पूर्व अभ्यास गर्नुपर्ने तथा दक्ष बन्नुपर्ने लुइँटेलको सुझाव छ । आफूले जानेको काममा जाँदा कतै दु:ख नहुने लुइँटेलको तर्क छ । मासिक करिब ८० हजार आम्दानी गर्ने लुइँटेल काममा दक्ष भइयो भने आम्दानीसमेत राम्रो हुने बताउँछन् ।
कतारको भाषा, कानुन इत्यादि बुझ्नुपर्ने तथा आफ्ना कागजातहरू आफूसँगै सुरक्षित राख्नुपर्ने लुइँटेलले बताए । 'भाषा र काम नजानेर धेरै नेपाली ठगिएका छन्, त्यसैले यी कुरामा सक्षम भएर आएको खण्डमा त्यति साह्रो/गाह्रो हुँदैन,' लुइँटेलले भने । कतारको कम्पनीले भन्दा पनि म्यानपावरको मनोमानीले गर्दा बढी दु:ख पाइने लुइँटेलको अनुभव छ । सन् २०२२ को विश्वकप कतारमा हुन लागेकाले केही नियमसमेत परिवर्तन गरिएको लुइँटेलले बताए । 'विश्वकपका लागि केही नियम परिवर्तन गरिएको छ, तर ती परिमार्जित नियमका बारेमा नेपालमा जानकारी दिइएको छैन, त्यसले गर्दा पछि समस्या ल्याउनसक्छ'- लुइँटेलले भने ।
कतारमा विशेषगरी नेपालीहरू बलिया हुन्छन्, कार्यालय बाहिरका काम गर्न सक्छन् भन्ने मानसिकता रहेको लुइँटेलको अनुभव छ । 'नेपालीले कतारमा पनि इमान्दार, मेहनती र बहादुरको छवि बनाएको लुइँटेलको बुझाइ छ तर दु:खको कुरा कतिपयले जाँड खाने, झगडा गर्ने तथा नियम मिच्ने जस्ता काम गर्नाले नेपालकै बेइज्जत हुन पुगेको छ,'- लुइँटेलले भने ।
सन् २००८ मा कतारको अम्माज फुड कम्पनीमा सरसफाइको काम गर्न पुगेका चित्लाङ, मकवानपुरका अजय बलामी अहिले क्याम्प इन्चार्जका रूपमा कार्यरत छन् । ६ वर्षअघि मासिक १५ हजार रुपैयाँ कमाउने अजय अहिले ४५ हजार रुपैयाँभन्दा बढी कमाउँछन् । यो कम्पनीमा मात्र ८३ जना नेपाली कार्यरत छन् । दुई पटक नेपाल आएर फेरि कतार फर्किएका बलामी अझै १२ वर्ष कतारमै बस्ने योजनामा छन् । पहिले गाह्रो भए पनि अहिले खासै गाह्रो महसुस नभएको बलामीले वताए । 'सुरुमा त गाह्रै थियो तर अहिले राम्रै छ, मेहनत र लगन ठूलो कुरा हो,'- बलामीले भने । आफ्नो कम्पनीमा नेपालीहरूप्रति निकै राम्रो व्यवहार हुने बलामीको अनुभव छ । 'नेपालीजस्तो काम गर्ने मानिसकहँा पाइन्छ ? भनेर नेपाली नै खोजीखोजी हिँड्छन्, त्यसैले पनि होला, हाम्रो कम्पनीले नेपाली कामदार नै माग गरिरहेको छ,' बलामीले भने ।
'कतिपय नेपाली चाडपर्व मनाउने भन्दै अत्यधिक रक्सी खाएर आपसमै झगडा गर्छन्, अनि नेपालीहरू यस्तो रे, त्यस्तो रे भन्ने वचन झेल्नुपर्छ ।' बलामीको गुनासो छ । कतारको कम्पनीले भन्दा पनि नेपाली म्यानपावर र नेपालीहरूबाटै नेपाली ठगिने गरेको बलामीको तितो टिप्पणी छ । 'परदेशमा आएर रमाइलो मात्र गर्ने, काम ठग्ने जस्ता प्रवृत्ति त्याग्नुपर्छ ।' बलामीको सुझाव छ । सके धेरै नत्र व्यावहारिक भए पनि नियम-कानुनहरू बुझेर आउनुपर्छ । कतारमा प्रहरीले समातेपछि काममा र्फकने सम्भावना अत्यन्तै कम हुन्छ । त्यसरी समातिनेहरूलाई एक साताभित्र घर फर्काइन्छ । ट्राफिक नियम नबुझेर पनि कतिपय नेपालीले ज्यान गुमाइरहेका हुन्छ ।
कतार जानुअघि
- वैदेशिक रोजगारमा पठाउने इजाजत लिएको म्यानपावरबाट मात्र प्रक्रिया अघि बढाउनुपर्छ ।
- केही सीप सिकेर मात्र जानुपर्छ अन्यथा अर्काे काम गर्न लगाउने वा पारिश्रमिक कटौती हुने समस्या उत्पन्न हुनसक्छ ।
- अभिमुखिकरण तालिम लिनुपर्छ । तालिम नलिई प्रमाणपत्र किनेर विदेश जाँदा आफैंलाई समस्या पर्छ । कतारी कानुनका बारेमा पनि बुझ्नुपर्छ ।
- नेपाल सरकारले कतार जान तोकेको अधिकतम लागत ७० हजार रुपैयाँ हो । यसमा सबै कुरा समावेश हुन्छ । नि:शुल्क भिसा र हवाई टिकटको व्यवस्था गर्ने कम्पनीमा त्यसभन्दा कम लागतमा जान सकिन्छ ।
- जीवन बिमा गर्न बिर्सनु हुँदैन ।
- म्यानपावर कम्पनीसँग सम्झौता गर्दा विशेष ख्याल राख्नुपर्छ । सम्झौतापत्र आफ्नो साथमा राख्नुका साथै घरमा पनि एक प्रति पठाउनु उपयुक्त दिँदा उचित हुन्छ, जसले सम्झौताअनुसार काम र तलव नपाए उजुरी गर्न सहज हुन्छ ।
- आफ्नो खोजीमा सधैं केही कतारी मुद्रा राख्नुपर्छ ।
कतारको श्रम कानुन : ध्यान दिनुपर्ने कुरा
कतार सरकारले आप्रवासी कामदारका लागि छुट्टै नीति नियम बनाएको छ । त्यसमा पनि घरेलु, औद्योगिक तथा कामको प्रकृतिअनुसार छुट्टाछुट्टै नियम छन् । त्यसका साथै कम्पनीहरूको आफ्नो छुट्टै आन्तरिक नियम पनि हुन्छ । कतारमा बस्दा ती नियम, कानुन एवं व्यावहारिकताको हेक्का राख्नुपर्ने हुन्छ ।
बिदाको सन्दर्भमा इद-उल-फित्र ३ दिन, इद-उल-जोहा ३, दिन स्वतन्त्रता दिवस १ दिन, अपर्झट बिदा ३ दिनको व्यवस्था हुन्छ । बिदाका दिनमा काम गरे ओभरटाइमबापत खाइपाई आएको तलबको २५ प्रतिशत र सोही अवधिमा राति ९ बजेदेखि बिहान ४ वजे सम्म काम गरे ५० प्रतिशत तलब पाइन्छ । ५ वर्षभन्दा कम काम गरेको कामदारले वाषिर्क ३ साता र ५ वर्षभन्दा बढी काम गरेको कामदारले वाषिर्क ४ साताका दरले बिदा पाउँछन् । काम सुरु गरेको तीन महिना पछि चिकित्सकको सिफारिसमा बिरामी बिदा पाइन्छ ।
कतारमा १६ वर्ष मुनिका नावालकलाई काममा लगाउन नपाइने नियम छ । महिलालाई कडा परिश्रम लाग्ने खतरायुक्त, नैतिक पतन हुने किसिमको काममा लगाउन नहुने, काम गर्ने क्रममा नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने, पर्याप्त यातायात तथा बसोबासको व्यवस्था कम्पनीले नै गर्नुपर्ने, सफा पानीको व्यवस्था गर्नुपर्ने नियम छ । काम गर्ने क्रममा मृत्यु भए तत्काल प्रहरी र श्रम विभागलाई कामदारको नाम, उमेर, पेसा, ठेगाना तथा नागरिकतासहित जानकारी दिनुपर्छ भने घाइते कामदारले रोजगारदाताको खर्चमा उपचार गराउने अधिकार हुन्छ । कार्यअवधि भित्र मृत्यु वा अपांग भए १ वर्षभित्र क्षतिपूर्ति माग्न पाइने तर कामदारले जानाजान चोटपटक लगाए, नशालु पदार्थ सेवन गरेर बिरामी वा मृत्यु भए, चिकित्सकको सल्लाहअनुसार उपचार नगरे उपचार खर्च र क्षतिपूर्ति पाइँदैन । नक्कली कागजात पेस गरे, सम्झौता पालना नगरेमा, संस्थाको गोपनियता भंग गरे, कम्पनीलाई ठूलो आर्थिक नोक्सानी पुर्याए, सहकर्मीसँग झगडा गरे वा लागूऔषध सेवन गरे कम्पनीले कामबाट निकाल्न सक्ने प्रावधान छ ।
कतारमा बस्दा
- कतार पुगेपछि गरिने सम्झौताको विशेष ख्याल राख्नुपर्छ । केही गडबडी भए दूतावासमा खबर गर्नुपर्छ ।
- सडक पार गर्दा ट्राफिक नियम पालना गर्नुपर्छ ।
- दिनभर चर्काे गर्मीमा काम गरेर राती एसीमा सुत्नु हुँदैन ।
- आन्दोलन र धर्ना जुलुसतिर लाग्नु कानुनविपरीत मानिन्छ ।
- चाडपर्व मनाउने नाममा धूम्रपान, मद्यपान गर्ने वा झै झगडा गर्ने जस्ता कार्यमा सम्लग्न हुनुहुँदैन ।
- आफूले काम गरेको कम्पनी चित्त नबुझेको भन्दैमा कम्पनी फेर्नुहुँदैन । त्यसलाई कतारमा गैरकानुनी मानिन्छ ।
- कुनै अप्ठेरो आइपरे दूतावासमा खबर गर्नुपर्छ ।