साप्ताहिक संवाददाता
'क्या कमाल छौं तिमी' मा नायिका श्रेष्ठका साथमा गजित विष्ट, गौरव पहाडी, विल्सन विक्रम राई तथा प्रदीप तिमिल्सिनाले नृत्य गरेका छन् । कविराज गहतराजको नृत्य निर्देशनको उक्त गीतमा युवराज चौलागाईं, निशा देसार तथा राजन इशानको स्वर सुन्न सकिन्छ ।
वडा नम्बर ६ प्रारम्भ
दीपकराज गिरी, दीपाश्री निरौला तथा निर्मल शर्माको दोस्रो चलचित्र 'वडा नम्बर ६' को छायांकन गत मंगलबार प्रारम्भ भएको छ । जोरपाटीस्थित चापागाईं स्टुडियोमा क्यामेराको पूजा गर्दै छायांकन थालिएको यो चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गर्दैछन् । छायांकनको थालनीमा दीपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई तथा अरुणा कार्कीले पहिलो सट दिएका थिए । चलचित्रमा जितु नेपाल, सीताराम कट्टेल, केदार घिमिरे, किशोर खतिवडा, विल्सन विक्रम राई, शिवहरि पौडेल आदि कलाकारले अभिनय गर्नेछन् ।
विकास बोर्डमा सुरेश
मन्त्रिपरिषद्को निर्णयअनुसार निर्देशक सुरेशदर्पण पोखरेल चलचित्र विकास बोर्डको सदस्य पदमा नियुक्त भएका छन् । २ वर्षको कार्यकालका लागि बोर्डको सदस्य नियुक्त भएका सुरेशले नेपाली चलचित्रको विकास तथा विस्तारमा आफ्नो भूमिका रहने प्रतिक्रिया दिएका छन् । मन्त्रीस्तरको बैठकले नायिका मेलिना मानन्धरलाई पुन: चलचित्र जाँचपास समितिको सदस्य पदमा नियुक्त गरिएको छ ।
छविराजको बर्थडे
चलचित्रकर्मी छविराज ओझाले मंसिर ७ गते आफ्नो पचासौं जन्मदिन मनाउने क्रममा चलचित्र क्षेत्रमा २५ वर्ष बिताएको उल्लेख गरेका छन् । चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको समारोहमा छविले चलचित्र क्षेत्रको २५ वर्षको केक नायिकाहरू शिल्पा पोखरेल, रजनी केसी, पूजना प्रधान तथा दीपाश्री निरौलासँग मिलेर काटेका थिए । जन्मदिनको केक काट्दा भने उनलाई केही अभिनेताले साथ दिएका थिए । 'युगदेखि युगसम्म' बाट चलचित्र क्षेत्रमा भित्रिएका छविराजको १७ औं चलचित्र 'हवल्दार सुन्तली' चैत २७ गतेदेखि प्रदर्शनमा आउँदैछ । समारोहमा छविराजले 'किस्मत-२' निर्माण गर्ने घोषणा गर्दै श्याम भट्टराईले त्यसको निर्देशन गर्ने बताए ।
४२ दिनमा प्याकअप
निर्माता विकास आचार्यको चलचित्र 'नाईँ नभन्नु ल-३' को छायांकन ४२ दिनमा सम्पन्न भएको छ । मुस्कान ढकालको डेब्यू निर्देशनको यो चलचित्रमा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, प्रियंका कार्की, सुरजसिंह ठकुरी, अनुभव रेग्मी, संयम पुरी, आष्मा डिसी आदिले अभिनय गरेका छन् । यो चलचित्र चैत २७ गतेदेखि प्रदर्शनमा आउनेछ ।
आभाषको गीत प्रिमियर
चलचित्र सम्पादकबाट निर्देशक बनेका सुरेन्द्र पौडेलको चलचित्र 'आभाष' को एउटा गीत यसै साता प्रिमियर गरिएको छ । उक्त गीतमा नायिका निशा अधिकारी र संयम पुरीले अभिनय गरेका छन् । सुजन सुवेदीको शब्द, प्रकाश नेपालीको संगीत तथा सन्तोष लामाको स्वरको यो गीतलाई गम्भीर बिष्टले नृत्य निर्देशन गरेका छन् । पुस २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र आभाषमा आस्मा डिसी तथा सलोन बस्नेतले पनि अभिनय गरेका छन् ।
आवेगको फस्टलुक
फागुन ८ गते सार्वजनिक हुने वसन्त निरौलाको चलचित्र 'आवेग' को फस्टलुक यसै साता सार्वजनिक भएको छ । सूर्य कार्कीको प्रस्तुतिमा तयार भएको यो चलचित्रको पोस्टरमा कलाकारको साटो हतियारलाई चित्रण गरिएको छ । चलचित्रमा आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना डेलाला, पवित्रा आचार्य आदि कलाकारले अभिनय गरेका छन् ।