करिब ६ वर्षअघिको उक्त अभिनयको अभ्यासपछि मैले कहिल्लै अभिनय गरेकी थिइन् । केही महिनाअघि एउटा फेसन शोमा क्याटवाक गर्नुबाहेक म सार्वजनिक समारोहमा सहभागी नै भएकी थिइन । त्यही फेसन शोका क्रममा मेरो भेट ममीकी साथी रक्षा लामा (पाइलट विजय लामाकी श्रीमती) की छोरी आकांक्षासँग भयो । पहिलो भेटमै हामी साथी भयौं । उक्त भेटको केही दिनपछि आकांक्षाले 'एउटा नेपाली चलचित्रमा अभिनय गर्ने हो ?' भनेर सोध्नुभयो । पहिलो पटक त मलाई जिस्क्याएजस्तो लाग्यो । आकांक्षाले फेसबुकमार्फत मेरा केही तस्बिर चलचित्र 'जेरी' निर्माण गर्ने संस्थालाई देखाउनुभएको रहेछ । भोलिपल्ट उहाँले बिहान पुन: त्यही जिज्ञासा राखेपछि मेरी आमाले चलचित्र निर्माण गर्ने संस्था, कलाकार, निर्देशक, निर्माता आदिका बारेमा बुझ्नुभयो । उक्त चलचित्रमा आवद्ध व्यक्तिहरूसँगको भेटघाट, मैले निर्वाह गर्नुपर्ने भूमिका, कथा आदिका बारेमा जानकारी हासिल गरेपछि मात्र म अभिनयका लागि तयार भएँ ।
क्यामेरा सामु उभिएर चलचित्रको मुख्य पात्रको भूमिका निर्वाह गर्ने प्रस्ताव त स्वीकार गरें, तर अभिनय कसरी गर्ने भन्ने कुराले मलाई चिन्तित बनायो । सह-कलाकार अनमोल केसी, निर्देशक हेमराज बिसी, स्क्रिप्ट राइटर सम्राट शेरचनसहितको समूहसँग म पनि दुई साता लामो वर्कसपमा सहभागी भएँ । वर्कसपका क्रममा मैले निवर्ाह गर्नुपर्ने भूमिका, अभिनय गर्ने कला आदि विषयमा धेरै कुरा सिकें । छायांकनको पहिलो दिन के होला भन्ने लागेको थियो, पहिलो दिन गीतको छायांकन भएकाले तथा सह-कलाकार अनमोल केसी पनि मसँगै हुने भएकाले सहज भयो । तीन दिनपछि संवाद बोल्नुपर्ने दृश्यमा अभिनय गर्नुपर्ने भयो । उक्त दृश्यमा साथीहरूको बीचमा बसेर संवाद बोल्नुपर्ने भएकाले थप सहज भयो । त्यसपछिका दिनमा भने मलाई चलचित्रको युनिट, कलाकार, प्राविधिक सबैसँग घुलमिल भएकाले अभिनय गर्न खासै गाह्राे परेन ।
म भर्खर १६ वर्षकी भएँ,म कक्षा ११ मा अध्ययरत छु । 'जेरी' को सफलतासँगै ममा चलचित्रको अभिनयलाई निरन्तरता दिनुपर्ने चुनौती थपिएको छ । मैले चाहिं कक्षा १२ को परीक्षा दिएपछि मात्र दोस्रो चलचित्रमा अभिनय गर्ने निर्णय गरेकी छु । 'जेरी' मा अभिनय गर्नुअघि कुनै पनि नेपाली चलचित्र नहेरेकी म आज यही क्षेत्रको नायिका बन्न पाएकोमा भाग्यशाली महसुस गरिरहेकी छु ।