साप्ताहिक संवाददाता
सुस्मिताको विवाह ?
गत साता बलिउड बाला सुस्मिता सेन ३९ पूरा भएर ४० वर्षमा प्रवेश गरिन् । उमेरले चार दशक पुग्दा पनि उनी अविवाहित नै छिन् । मिस युनिभर्स सुस्मिता धेरैको आँखामा गढेकी सुन्दरी हुँदाहुँदै पनि उनी विवाहबाट परै रहिन् । १९९६ मा हिन्दी चलचित्र दस्तकबाट करियर सुरु गरेकी सुस्मिताले १८ वर्षको करियरमा दर्जनौं चलचित्रमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिसकेकी छिन् । बलिउडमात्र होइन, तमिल र बंगाली चलचित्रमा पनि उनले काम गरेकी थिइन् । सुस्मिता आफ्नो करियरको दौरान फिल्मफेयर एवार्ड, आइफा अवार्डलगायतका अतिरिक्त सन् २००६ मा राजीव गान्धी एवार्डबाट समेतसम्मानित भैसकेकी छिन् । सुस्मिताका रोमान्सका थुप्रै किस्सा सार्वजनिक नभएका होइनन् । विभिन्न व्यक्तिसँग जोडिए पनि सुस्मिताले तीमध्ये कसैसँग विवाह गरिनन् । समकालीन नायिकाहरूले विवाह गरिसकेको अवस्थामा उनी भने सही समयको पर्खाइमा रहेको बताइरहेकी छिन् । यद्यपि विवाह नगरे पनि सुस्मिता दुई बच्चाकी आमा भने बनिसकेकी छिन् । सुस्मिताले दुई बच्चा एडप्ट गरेकी हुन्, जसमा एक आलिसा हुन् भने अर्कीको नाम रेने हो ।
अनुष्कालाई आमिरको साथ
क्रिकेटर विराट कोहलीका साथमा अफेयरमा रमाइरहेकी नायिका अनुष्का शर्मालाई मिस्टर पर्फेक्टनिस्ट अभिनेता आमिर खानले दह्रै साथ दिइरहेका छन् । समाचारअनुसार अनुष्का आफ्नो ब्यानरको पहिलो चलचित्र 'एनएच टेन' लाई यही वर्ष रिलिज गर्न चाहिरहेकी थिइन्, तर आमिरका साथमा उनले अभिनय गरेको चलचित्र 'पिके' को रिलिज डेट ढिलो मात्र तय भयो । त्यसकारण अनुष्काले आफ्नो चलचित्रलाई पछि धकेल्नुपर्यो । अब उक्त चलचित्र अर्को वर्ष मात्र प्रदर्शनमा आउनेछ । आफ्नो चलचित्रको भव्य रिलिज गर्ने तयारीमा रहेकी अनुष्काले यही क्रममा आमिर खानसँग सल्लाह गरेकी थिइन् । आफ्नो चलचित्र सार्वजनिक हुने बेला त्यसमा काम गर्ने कलाकारहरूद्वारा अभिनीत अरू चलचित्रको ट्रेलरसम्म सार्वजनिक गर्न नदिने अनुष्काको तयारीमा आमिरले साथ दिने बताएका छन् । यही क्रममा अनुष्का निर्देशक नवदिपसिंहका साथमा एनएच टेनको फाइनल टे्रलर बनाउन व्यस्त छिन् । आमिरको सहयोगकै कारण पिकेका निर्माता विधुविनोद चोपडा आफैं बसेर त्यसलाई फाइनल टच दिँदैछन् ।
पिटिन्छन् सल्लुभाइ
बलिउडका सल्लुभाइ अर्थात् सलमान खान अरूलाई पिट्ने मामिलामा माहिर मानिन्छन् । चलचित्रको पर्दामा त उनी आक्रामक ढंगले अरूलाई कुटिरहेेका देखिन्छन् । चलचित्र उद्योग बाहिर पनि उनको 'ब्याड ब्वाइ' इमेज छ । यद्यपि यी खान भाइ आफ्नै घरमा भने पिटिँदा रहेछन् । हालै सलमानले दिएको एक अन्तर्वार्तामा भनेका छन्- 'मम्मीले सानोमा त पिट्नु नै भयो, अहिले पनि पिट्नुहुन्छ, तर मम्मीको थप्पड सानो छँदा पनि प्यारो थियो, अहिले पनि प्यारो नै लाग्छ ।' तीन दाजुभाइ सलमान, अरबाज र सोहेलमध्ये सलमान सानोमा सोझा थिए, अन्य दुई भाइ भने सक्दो बदमासी गर्थे । यी तीन मस्ती गर्थे, तर गल्तीको सजाय भने सधैं दाइ सलमानले मात्र भोग्नुपथ्र्यो । अरबाज र सोहेल छट्टु भएकाले मम्मी-पापा आउनुपुर्व नै कुलेलम ठोकिसकेका हुन्थे, सलमानका अनुसार त्यसपछि सलमानको रामधुलाइ हुन्थ्यो । त्यसो त पापा सलिम खानको गाली मम्मीको थप्पड भन्दा पीडादायक हुने सलमानको अनुभव छ ।