काठमाडौंमा कार्यरत फेसन डिजाइनर रोजिना श्रेष्ठले तयार पारेका पहिरनहरू हङकङमा प्रदर्शन हुँदैछन् । पोखरास्थित गुडमर्निङ पोखरा वृद्धाश्रमलाई सहयोग गर्ने उद्देश्यले पूर्व खेलाडी खुशी गुरुङद्वारा आयोजित 'कायरा बुटिक अन द रनवे फेसन सो-२०१४' का क्रममा रोजिनाका पछिल्ला पहिरनहरू प्रदर्शन हुन लागेका हुन् । पर्सि आइतबार साँझ ६ बजे प्रारम्भ हुने फेसन शोमा हङकङमै मोडलिङ गरिरहेका एक दर्जन मोडलले क्याटवाक गर्दैछन् । उक्त फेसन सोमा सीमा गुरुङ, अनु लिम्बू, सुमी पुन, अञ्जना पुन, लुना पुन, पूजन राना, रिया गुरुङ, सपना गुरुङ, मीरा पुन, लिना थापा, रोशनी श्रेष्ठ तथा सोइता गुरुङले क्याटवाक गर्दैछन् । अभिनेता निरज बराल विशेष अतिथिका रूपमा सहभागी हुने फेसन सोका क्रममा स्थानीय गायक-गायिकाहरूले गीत-संगीत प्रस्तुत गर्ने कार्यक्रम पनि छ ।