आठ महिनादेखि सञ्चालित राइजिङ स्टारको उपाधि बिरेन लिम्बू र भारती तिमल्सिनाले जितेका छन् । गायन एवं नृत्यका उत्कृष्ट प्रतिभा छनौट गर्ने उद्देश्यले पूर्वाञ्चलका पाँच जिल्लाबाट छनौट भएका प्रतिस्पर्धीलाई उछिन्दै शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उनीहरू उत्कृष्ट ठहरिएका हुन् । मन्जरी कला केन्द्रले आयोजना गरेको राइजिङ स्टार छनौटको फाइनल चरणमा गायनतर्फ गायक कुबेर राई र शिव परियार निर्णायक थिए । नायिका ऋचासिंह ठकुरी तथा सुवास लिम्बूले नृत्यमा निर्णायकको भूमिका निर्वाह गरे । प्रतियोगितामा गायनमा कमला पालुङ्वा र मिथुन मादेन तथा नृत्यमा संकोच श्रेष्ठ र सिर्जना लिम्बू दोस्रो एवं तेस्रो भए । गौतमबुद्ध सभागृहमा सम्पन्न प्रतियोगिताको फाइनलमा शिव परियारले आफ्ना चर्चित गीतहरू गाए भने ऋचाको नृत्यले पनि दर्शकहरूलाई उत्तिकै ततायो ।