दौरा-सुरुवालसँग चप्पलको तालमेल मिलाइएको हुन्छ । कम्मर पेटीमा डाइमन्ड, सितारा, स्टोन, पोते र जरी भरिएको हुन्छ । कतिले धागो र जरी भरिएको पनि रुचाउँछन् । दुलाहाको अनुहारको रंग र आकार अनुसार दौरा-सुरुवालको डिजाइन तयार गरिन्छ । नभरिएको ढाकाको दौरा-सुरुवाल ८ हजार रुपैयाँमा पाइन्छ भने भरेको दौरा-सुरुवाललाई १६ देखि २५ हजार रुपैयाँसम्म पर्छ ।
सुटपाइन्ट पनि दुलहाहरूले प्रयोग गर्ने आकर्षक पहिरन हो । यसको तयारी मौसमअनुसार नै गरिन्छ । सुट पाइन्ट, सर्ट, टाइ, ढाकाको टोपी र छाला जुत्ताको सेटले दुलाहाको व्यक्तित्वमा निखार ल्याउँछ । दुलाहाको सुटपाइन्टको मूल्य १५ देखि २५ हजार रुपैयाँसम्म पर्छ ।
विवाहका बेला दुलाहाहरूले सेरवानीसमेत प्रयोग गर्छन् । सेरवानी पनि रातो सल, गोल्डेन सल र चप्पलको सेटसहित नै पाइन्छ । सेरवानीमा विभिन्न स्टोन, डाइमन्ड, जरी तथा पोते वर्क गरेर सुन्दर बुट्टा बनाइएको हुन्छ । सेरवानी लगाउँदा दुलाहाको उचाइ, शरीरको बनावट एवं अनुहारको रंगमा ध्यान पुर्याउनुपर्छ । सेरवानीको मूल्य १५ देखि ३५ हजार रुपैयाँसम्म पर्छ ।