साप्ताहिक संवाददाता
यसपल्ट पनि फाइनलमा नेपाल भारतकै हातबाट पराजित भयो । यसअघिका दुई संस्करणमा पनि नेपाल फाइनल पुगेको थियो र दुवैपल्ट नेपाल भारतकै हातबाट हार्न बाध्य थियो । सन् २०१० को फाइनलमा १-० हारेको नेपाल त्यसको दुई वर्षपछि ३-१ ले पराजित भयो । यसपल्ट फाइनलमा हारको अन्तर बढेर ६-० पुग्यो । फाइनलमा यो नेपालको अहिलेसम्मकै सबैभन्दा खराव प्रदर्शन हो ।
सेमिफाइनलमा बंगलादेशले नेपाललाई बलियो चुनौती पेस गरेको थियो जसमा नेपाल १-० को जित निकाल्न मात्र सफल भयो । उक्त खेलमा पनि नेपालको प्रदर्शन ओहो भन्न लायक थिएन र नेपालको निर्णायक गोल पनि पेनाल्टीबाट सम्भव भएको थियो । आफ्ना खेलाडीको प्रदर्शनबाट प्रशिक्षक कुमार कटुवाल समेत खुसी हुन सकेनन् । उनलाई लागेको छ, नेपाली फुटबलका लागि अब ठोस केही गर्ने समय आएको छ ।
केही खेलाडीको भनाइ मान्ने हो भने प्रशिक्षक कटुवाल टिमको नेतृत्व र व्यवस्थापनसँगै नाखुस छन् । सम्भवत: उनी एउटा प्रतिवेदन तयार पार्दै छन् र त्यसमा उनले नेपाली महिला फुटबलको कमजोरी कहाँ छ स्पष्ट उल्लेख गर्ने छन् । यसपल्टको वुमेन्स साफ च्याम्पियनसिपलाई सरसर्ती हेर्दा भने स्पष्ट दुई तथ्य अगाडि आउँछ । पहिलो, भारत दक्षिण एसियाका बाँकी सात टिमभन्दा निकै बलियो छ ।
इन्चन एसियाली खेलकुद खेलेर फर्किएको अहिलेको भारतीय टिम पहिलेका टिमको तुलनामा निकै सुधारिएको छ । खासमा भारत र बाँकी टिमबीचको अन्तर आकाश पातालजस्तै छ, कित्तै छुट्टन्िछ । दक्षिण एसियामा भारतपछि दोस्राे बलियो टिम नेपाल नै हो, तर समस्या के छ भने नेपाल र बाँकी छ टिमबीचको अन्तर भने कम हुँदैछ । यसको अर्थ नेपाली महिला फुटबल जहाँको त्यहीं छ, बरु यसको, स्तर घट्दैछ ।
दक्षिण एसियाका अरू टिमको स्तर भने बढ्दै छ, ढिलो-चाँडो उनीहरूले नेपालको बराबरी गर्नेछन् । यसपल्ट सेमिफाइनलमा बंगलादेशले नेपालसामु तेर्साएको चुनौतीले पनि त्यसलाई प्रस्ट पार्छ । एउटा अर्को तथ्य के पनि हो भने नेपाली महिला फुटबल टिम अहिले परिवर्तनको बाटोमा छ, यसपल्ट खेलिएका २० मध्ये १० खेलाडी नयाँ थिए । यही टिमबाट आशा भने राख्न सकिन्छ । नेपाली टिमलाई एक्सपोजरको ठूलै आवश्यकता देखिन्छ ।