- आमा बन्न नसकेका विदेशी दम्पतीहरू विगत एक दशकदेखि नेपाल आएर भाडाको कोखमार्फत सन्तान जन्माइरहेका छन् । एक महिलाले २ वर्षअघि एक विदेशी दम्पतीका निम्ति भाडाकी आमाको जिम्मेवारी पूरा गरेको बताइन् । उनले भनिन्- 'मलाई पैसा आवश्यक थियो, उनीहरू सन्तान अभावको पीडाबाट गुज्रिरहेका थिए । मैले श्रीमान्कै सल्लाहमा ९ महिना अरूको गर्भ बोकें र सन्तान जन्माएर उनीहरूलाई जिम्मा लगाइदिएँ ।' उक्त कामबापत ती महिलाले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गरेकी थिइन् । यसबीच चिकित्सकीय खर्च तथा उनको पालनपोषणको जिम्मा पनि उक्त दम्पतीले लिएका थिए । इजरायली दम्पतीको वीर्य र डिम्ब निषेचन गरेर उनको कोखमा राखिएपछि ती महिलाले ९ महिना आफ्नो कोखमा बच्चा हुर्काएकी थिइन् । उनी एकपटक फेरि यो काम गर्न तयार भएको बताउँछिन् ।
- वैधानिक रूपमा नेपालमा 'सरोगेसी' अर्थात् सट्टा आमा वा कोख भाडामा लिन पाइने वा नपाइने केही उल्लेख छैन । यद्यपि नेपाल सरोगेसीका निम्ति 'हब' बन्ने बाटोमा छ । नेपालका विभिन्न अस्पताल तथा आइभिएफ (इनभिट्रो फर्टिलाइजेसन) सेन्टरमार्फत सरोगेसीको काम भैरहेको छ, तर सरोगेसीको काम गरिरहेको कोही बताउन चाहँदैनन् । उनीहरू विदेशी दम्पतीको हकमा काम गरेकोसम्म स्वीकार गर्न तयार हुन्छन् । सरोगेट्स मदर बन्न चाहनेहरूको संख्या पनि उत्तिकै छ । सरोगेसीका निम्ति कार्यरत एक स्रोतका अनुसार सरोगेट्स मदर बन्न करिब दुई दर्जनभन्दा बढी नेपाली महिला लाइनमा छन् । त्यही एजेन्सीमा भेटिएकी दुई छोराकी आमाले भनिन्- 'म सम्पन्न परिवारकै बुहारी हुँ, मेरा आफ्ना दुई सन्तानसमेत हुर्किसकेका छन्, नि:सन्तान दम्पतीका निम्ति सेवाभावले पैसा नलिई 'सरोगेट्स' मदर बन्न चाहेकी हुँ, यसमा मेरा श्रीमान्को समेत सहमति छ ।'
- केही वर्षअघि काठमाडौं जिल्ला अदालतमा तीनवर्षे बालिकाको कानुनी हैसियतलाई लिएर एउटा मुद्दा दर्ता भयो । फरक प्रविधिबाट जन्म लिनु नै ती बालिकाका निम्ति कानुनी अड्चन बन्यो । काठमाडौं सुकेधाराका उज्ज्वलशमशेर राणाले श्रीमतीबाट बच्चा जन्मिन नसक्ने बताउँदै काठमाडौंकै एक युवतीको कोखबाट सन्तान जन्माउन असोज २०६४ मा कोख भाडामा लिएका थिए । त्यसक्रममा उनले युवतीसँग लिखित सम्झौता पनि गरेका थिए तर बालिका जन्मिसकेपछि भने उज्ज्वलकी श्रीमती शाम्भवीले आफ्ना श्रीमान्ले आफ्नो स्वीकृतिबिना भाडाको आमाबाट बच्चा जन्माएको भन्दै पारपाचुके गर्ने निर्णय गरिन् । अदालत पुगेको उक्त विवादमा निर्णय लिन न्यायाधीशहरूलाई पनि गाह्रो पर्यो । मुख्य समस्या थियो, श्रीमान्-श्रीमतीको सम्बन्धविच्छेदमा अंशबन्डा हुँदा भाडाकी आमामार्फत जन्मिएकी बालिकाले अंश पाउने कि नपाउने ? असार २०६६ मा दायर भएको उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले फागुन २०६७ मा फैसला गर्दै उज्ज्वलले पत्नीको अनुमति नलिई भाडाकी आमासँग गरेको सम्झौता कानुनी रूपमा समेत मान्यताप्राप्त नभएकाले शिशुलाई कानुनी मान्यता दिन नमिल्ने तर बालिकालाई तेस्रो अंशियार मान्दै अंश दिनुपर्ने निर्णय सुनायो ।
- नेपालका तराईक्षेत्र खासगरी वीरगन्ज आसपासका महिलाहरू बर्सेनि भाडाकी आमा बन्न दिल्ली र गुजरात पुर्याइन्छन् । त्यहाँ पुगेपछि भाडाका आमाका रूपमा एक वर्ष गर्भ बोकेर बच्चा जन्माइसकेपछि उनीहरू निश्चित रकम लिएर र्फकन्छन् । एजेन्सीसँग बलियो डिल गर्न सक्ने महिलाले राम्रो पारिश्रमिक पाए पनि भारत पुर्याइने महिलाहरूले निकै कम रकममै पनि गर्भ बोक्ने जिम्मेवारी लिन्छन् । नेपालको हकमा कतिपय नि:सन्तान दम्पतीले त परिवारकै सदस्यसँग आग्रह गरेर पनि सन्तान जन्माउन सरोगेसी प्रक्रिया अपनाएको पाइन्छ । विदेशीको हकमा समलिंगी वा एकल महिला वा पुरुषहरू पनि सरोगेसीमार्फत सन्तान लाभका निम्ति नेपाल आउने गरेका छन् ।
राजधानीको चक्रपथ क्षेत्रमा एउटा डर्मेट्रीहोस्टलमा पुग्दा जो कोही छक्क पर्न सक्छन् । उनीहरू आफ्नो परिचय खुलाउन त चाहँदैनन् तर भाडाको आमाको भूमिकामा काम गरिरहेको बताउँछन् । विदेशीहरूको हकमा बच्चाको अनुहार म्याचिङ होस् भन्ने अभिप्रायले पनि उनीहरू आफ्नै वर्णको भाडाकी आमा लिएर आउँछन् । कतिपय विदेशी दम्पती नेपाली महिलाबाट पनि यो सेवा चाहन्छन् । एक अस्पताल अन्तर्गतका कर्मचारीका अनुसार नेपाली महिलालाई प्रयोग गर्ने कानुनी प्रावधान नभएकाले अक्सर नेपाली महिला प्रयोगमा आउँदैनन् तर विगत देखि नै नेपाली महिला पनि सरोगेट्स मदरका रूपमा प्रयोग हुँदै आएका छन् ।
काठमाडौं जिल्ला अदालतले सरोगेसी के हो ? भनेर व्याख्या भने गरिदिएको छ । उज्ज्वलशमशेर जबराको मुद्दा प्रकरणमै फागुन २०६७ मा भएको फैसलामा भनिएको छ- 'बच्चा जन्माउन असक्षम दम्पतीले बच्चा जन्माउन सक्षम कुनै पनि महिलासँग सम्झौता गरी दाताको वीर्य तथा अन्डाणु लिएर कृत्रिम गर्भाधान प्रक्रियाबाट गर्भधारण गरी निजको कानुनी तथा जैविक मातापितालाई जन्मिएको बच्चा सुम्पन तयार हुन्छिन् भने त्यस्तो बच्चा जन्माउने आमालाई सट्टा आमा अर्थात सरोगेट मदर भनिन्छ ।'
काठमाडौं अदालतले सरोगेसीका बारेमा व्याख्या त गरिदियो तर यसको अन्तर्राष्ट्रिय स्वरूप हेर्दा यतिले मात्र व्याख्या पूरा हुँदैन । विदेशको हकमा एकल महिला वा पुरुष अथवा समलिंगीहरूले पनि सरोगेट्स मदरको माध्यमबाट सन्तान लाभ गरिरहेका छन् । हालसालै भारत सरकारले एकल तथा समलिंगीको हकमा भने सरोगेसी नगर्न कानुनी प्रावधान तयार पारेको छ । अन्यथा त्यहाँ सरोगेसीको बृहत परिभाषा गरिएको थियो ।
नेपालमा सरोगेसीको विषयलाई लिएर विज्ञहरूका विभिन्न धारणा छन् । यो विषयका पक्षपातीहरू नै खुलेर अगाडि आउन नसक्नुको पछाडि सरोगेसीका बारेमा राज्यको आधिकारिक धारणा नहुनु पनि हो । सरोगेसी कति आवश्यक छ ? डा. भोला रिजाल भन्छन्- 'आवश्यक छ, तर नीति सही हुनु आवश्यक छ ।' आइभिएफ प्रविधिबाट टेस्टट्युब बेबी जन्माई नि:सन्तान दम्पतीहरूलाई सन्तानसुखको अवसर मिलाइरहेका डा. रिजालका अनुसार उनको अस्पतालमा सरोगेसीको काम गर्न लगानीका लागि तयार थुप्रै एजेन्सीका प्रोपोजल आएका छन् । 'तपाईंले यो काम गरिदिनुपर्यो भन्नेहरू थुप्रै हुनुहुन्छ,' डा. रिजालले साप्ताहिकसँग भने- 'यसका लागि अत्याधुनिक फर्टिलिटी सेन्टरको आवश्यकता पर्छ तर राज्यले नीति नबनाएसम्म हामी काम गर्दैनौं ।' रिजालले थपे- 'भारतको जत्तिको कानुन भए पनि पुग्छ ।'
नेपाल किन सरोगेसीको हब बन्ने प्रक्रियामा छ त ? पहिलो उदाहरणकी युवती भन्छिन्-
'आम्दानीको कुनै विकल्प नभएपछि मैले शरीर बेचेर पेट पाल्नुपर्ने अवस्था थियो, केही गर्दा पनि नभएपछि म वेश्यावृत्तिका निम्ति विदेश जाने तयारीमा थिए ।' आर्थिक रूपमा विपन्न हुनु नै नेपाली महिलाहरू सरोगेट्स मदर बन्न तयार हुने पहिलो कारण हो । त्यसो त अविवाहित युवती सरोगेट्स मदर बन्न नपाउने विश्वव्यापी मान्यता पनि छ । मासिक धर्मपछि उत्सर्जन हुने डिम्ब बेच्ने सूचीमा त सयौं नेपाली महिला छन् । त्यसो त ककेसियन जातिका अर्थात् रुस लगायत पूर्वी युरोपका महिलाहरू तथा पछिल्लो समयमा चाइनिज महिलाको डिम्ब सबैभन्दा बढी प्राथमिकतामा पर्छ । सौन्दर्यका हिसाबले आकर्षक उनीहरूको डिम्ब टेस्टट्युब बेबी तथा सरोगेसीमा प्रयोग गरिन्छ । नेपाली महिलाहरू दक्षिण एसियाली क्षेत्रका निम्ति उपयुक्त हुन सक्ने भएकाले उनीहरूको डिम्बको माग पनि उत्तिकै भएको एजेन्सीहरू बताउँछन् । नेपालका करिब एक दर्जन मोडलले आफ्नो डिम्ब बिक्री गरेको एक एजेन्सीले जिकिर गर्यो । 'यो सूची अझै धेरै हुने थियो' एजेन्सीका ति व्यक्तिले भने- 'चुरोट र रक्सीको अत्यधिक सेवनका कारण कतिपयको स्वास्थ खराब देखिएकाले उनीहरू अयोग्य भएका हुन् ।'
नि:सन्तान दम्पती जसले सन्तान लाभका निम्ति टेस्टट्युब बेबीसम्मको प्रक्रियामा समेत असफलता हात पारेका छन्, उनीहरूको हकमा भने सरोगेसी ठूलो राहतको कुरा हो । सन्तानविमुख दम्पतीलाई सन्तानसुख दिलाउन मात्र सरोगेट्स मदर बन्न चाहेको तेस्रो उदाहरणकी महिलाले बताएकी थिइन् । चिकित्सकहरू पनि यो अवस्थामा सरोगेसी राम्रो विकल्प भएको स्वीकार गर्छन् । डा. रिजालका अनुसार नि:सन्तान दम्पतीले सन्तान लाभका निम्ति चिकित्सकको सल्लाहमा सरोगेसीमार्फत सन्तान हासिल गर्नु कुनै अवैधानिक प्रक्रिया होइन, तर सरोगेसीमार्फत भित्रन सक्ने विकृति रोक्न भने कडा कानुन चाहिने उनी बताउँछन् । मुख्य समस्या, तेस्रो व्यक्ति अर्थात् ९ महिना गर्भ बोक्ने महिलाको हकमा छ । गर्भ बोक्ने महिलाले स्वास्थ्य बच्चा जन्माएको धेरै पछिसम्म पनि उनी कमजोर रहन सक्छिन् । जुन आम्दानीको लोभमा उनी सरोगेट्स मदर बन्छिन् त्यो पैसाले पनि नपुग्ने गरी उनी अस्वस्थ हुन सक्ने सम्भावना पनि उत्तिकै हुन्छ । यो विषयलाई अधिकारवादी संस्थाहरूले जोडदार रूपमा उठाएका छन् । ९ महिना गर्भ बोकिसकेपछि हुने आत्मियताका कारण ती आमाले बच्चा दिन चाहिनन् भने के हुन्छ भन्ने प्रश्न पनि उत्तिकै जटिल छ । जसले सरोगेसी मार्फत सन्तानलाभ खोजिरहेका छन्, उनीहरूले जन्मिएको शिशु ग्रहण नगर्दाको अवस्थामा देखा पर्नेसमस्या पनि उत्तिकै छ ।
हालै भारतमा एक अस्टे्रलियन दम्पतीले सरोगेसीमार्फत जन्मिएको उनीहरूको शिशु जिम्मा लिन अस्वीकार गर्यो । उक्त घटनाले त्यहाँको सरोगेसी कानुनलाई नै हल्लाइदियो । यो प्रकरणमा श्रीमान्को वीर्य र श्रीमतीको डिम्ब निषेचन गरी सरोगेट्स मदरको पाठेघरमा राखिने प्रक्रिया नै अपनाइएको थियो तर जन्मिएको शिशु र उसका प्यारेन्ट्सको डिएनए नमिलेपछि दम्पतीले शिशुलाई आफूले स्वीकार नगर्ने कुरा बताए । यो घटना अपवाद भएको सरोगेसी एवं आइभिएफ सेन्टर सम्बद्ध बहुराष्ट्रिय कम्पनी न्यु लाइफ जर्जियाकी संस्थापक एवं संचालक मरियम कुकुनासिभ्लीले अनलाइन कुराकानीमा बताइन् । मरियमका अनुसार आमरुपमा चिकित्साक्षेत्रमा देखिने समस्या जस्तै सरोगेसीमा केहि समस्या हुनसक्छन् तर पनि आजको विश्वले सरोगेसीलाई उपयुक्त विकल्प ठानेको छ । यद्यपी स्वस्थ एवं तन्दुरुस्त शिशु जन्माउनका निम्ती आइभिएफ सेन्टरहरुले विकलांग शिशु जन्मिने सम्भावना देख्ने वित्तिकै सरोगेट्स मदरलाई गर्भतुहाउन दबाब दिने गरेको विज्ञहरुको भनाई छ । कन्फडेरेसन अफ इन्डियन इन्डस्ट्रीका अनुसार भारतमा बर्सेनि १० हजार विदेशीले सरोगेसीको सुविधा लिन्छन् । सरोगेसी क्लिनिक डटकमका अनुसार अमेरिकामा सरोगेसीमार्फत एउटा बच्चा जन्माउन ५० हजार देखि १ लाख डलर खर्च गर्नुपर्ने हुन्छ भने भारतमा त्यसको ७५ प्रतिशत मात्र खर्च लाग्ने हुँदा पश्चिमा समाजका निम्ति भारत प्रजनन केन्द्र बनेको छ ।
उज्ज्वलशमशेरकै प्रकरणमा शिशुलाई कानुनी मान्यता नदिन् श्रीमती शाम्भवीले श्रीमान्सँग पारपाचुके माग्दै अंशमुद्दा दायर गरिन् । अन्तत: उक्त शिशुले कानुनी रूपमै अंशको अधिकार हात पारिन्, तर मुद्दाका क्रममा अदालतले अस्पतालको डकुमेन्ट खोज्दा उज्ज्वलशमशेरले जुटाउन सकेनन् । भारतको अस्पतालमा गरिएको भनिए पनि स्रोतका अनुसार नेपालमै गरिएकाले पर्याप्त प्रमाण जुटाउन उनी असमर्थ भएका थिए । जिल्ला अदालतले प्रतिवादी उज्ज्वललाई कहाँको कुन अस्पतालमा शुक्रकीट प्रत्यारोपण गरिएको हो १५ दिनभित्र प्रमाण उपलब्ध गराउन भनेको थियो । त्यतिबेला उज्ज्वलले विदेशमा रहेकी सरोगेट्स मदर -युवती) सँग सबै कागजपत्र रहेको भन्दै थप १५ दिनको समय माग गरेका थिए । भारतमा गरिएको भने पनि उनले अस्पतालको नाम खुलाएका थिएनन् ।
नेपाल म्यागजिनमा प्रकाशित एक समाचारअनुसार ललितपुरका एक मारवाडी दम्पतीले पनि आफ्नै भाउजूको पाठेघर प्रयोग गरेर बच्चा जन्माएका थिए । पाटन अस्पताललाई उद्धृत गर्दै लेखिएको उक्त समाचारमा मारवाडी दम्पतीले भाउजूको पाठेघरमा आफ्नो निषेचित भ्रूण प्रत्यारोपण गराएको कुरा बताइएको थियो । अधिवक्ता सपना मल्ललाई उद्धृत गर्दै नेपाल म्यागजिनले एक दम्पती सट्टा आमाको प्रयोगले कानुनी अड्चन आइपर्ला कि नपर्ला भन्ने जिज्ञासाको उत्तर खोज्दै मल्लको कार्यालयमा पुगेको पनि उल्लेख छ ।
स्रोतका अनुसार बिजुली बजारस्थित उमा श्रीवास्तवको नि:सन्तान केन्द्र, बयोधा अस्पताल वल्खु, ग्लोबल अस्पताल ग्वार्को, ग्रान्डी अस्पताल धापासीले सरोगेसीको माध्यमले सन्तानलाभको अवसर जुटाइदिएका छन्, तर ती अस्पताल भने विदेशी दम्पतीहरूको हकमा विदेशी नै सरोगेट्स मदर राखेर मात्र सरोगेसी सुविधा उपलब्ध गराउने दाबी गर्छन् । उमा श्रीवास्तवको नि:सन्तान केन्द्रमा त बर्सेनि दर्जनौं दम्पती सरोगेसी सुविधाका बारेमा जानकारी लिन आउँछन् । नेपालको हकमा विराट मेडिकल कलेजका डा. ज्ञानेन्द्रबहादुर कार्की, ग्लोबल हस्पिटलकी डा. सानुमैया श्रेष्ठ, ग्रान्डी अस्पतालका चिकित्सकहरु सरोगेसी एक्सपर्ट चिकित्सक मानिन्छन् ।
के हो सरोगेसी ?
आइभिएफ (टेस्टट्युब बेबी जन्माउन लागि अपनाइने प्रक्रिया) प्रविधि नै सरोगेसीको पनि मुख्य आधार हो । आइभिएफ असफल भएको अवस्थामा बच्चा जन्माउने प्रक्रिया जसरी टेस्टट्युबका लागि सम्भव हुँदैन, त्यसरी नै सरोगेसीका निम्ति पनि असम्भव हुन्छ । आइभिएफ त्यो प्रक्रिया हो, जहाँ पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई प्रयोगशालामा राखेर निषेचन गराइन्छ । निषेचन गरिएको उक्त भ्रूणलाई तीन देखि चार दिनभित्रमा पाठेघरमा राखिन्छ । टेस्टट्युब बेबी प्रक्रियामा भ्रूण सम्बन्धित महिलाकै पाठेघरमा राखिन्छ भने सरोगेसीमा तेस्रो व्यक्ति अर्थात् भाडाकी महिलाको पाठेघरमा राखिन्छ । भ्रूण राखिसकेपछि फर्टिलाइजेसनको प्रक्रिया सुरु हुन्छ, र प्राकृतिक रूपमै भ्रूण पाठेघरमा विकास हुँदै जान्छ । त्यसपछि ९ महिना नियमित चिकित्सकको परामर्शमा रहेर सरोगेट्स मदरले शिशु जन्माउँछिन् र सम्बन्धित आमाबाबुलाई हस्तान्तरण गर्छिन् । त्यसपछि उक्त शिशु हुर्काउने सम्पूर्ण अधिकार दम्पतीमा निहित हुन्छ । दम्पतीको शुक्रकीट र डिम्बमध्ये कुनै एक अयोग्य ठहरिएमा दाताको शुक्रकीट वा डिम्बसमेत लिइन्छ । यसमा आइपी अर्थात् इन्टेन्डेड प्यारेन्ट्स (सरोगेसीको माध्यमबाट बच्चा जन्माउन चाहने दम्पती) को सहमति आवश्यक हुन्छ । डिम्ब दिने नेपाली महिलाले त्यसको मूल्य प्राप्त गरे पनि शुक्रकीट दिने पुरुषलाई भने कुनै सेवा शुल्क प्रदान गरिँदैन । सरोगेसी एजेन्सी न्युलाइफ ग्लोबल नेटवर्कमा शुक्रकीट दाता नेपाली पुरुषहरूले पनि शुक्रकीट बेच्न भनेर सम्पर्क राख्ने गरेका छन् तर उनीहरूलाई त्यस्तो सुविधा नभएको जानकारी गराइन्छ । सरोगेसीलाई मान्यता दिएका राष्ट्रहरूले सरोगेट महिला विवाहित तथा कम्तीमा एउटा स्वस्थ बच्चा जन्माइसकेको हुनुपर्ने, शारीरिक एवं मनोवैज्ञानिक रूपले स्वस्थ हुनुपर्ने, गर्भवती भएको समयमा धूम्रपान, मद्यपान गर्न नपाउने जस्ता विभिन्न नियम बनाएका छन् ।
सरोगेसी, कानुन र यथार्थ
नेपाली समाजका निम्ति नौलो भए पनि सरोगेसी प्रक्रियालाई आत्मसात् गर्नेहरू प्रशस्तै भेटिन थालेका छन् । नि:सन्तान दम्पतीका हकमा त यो सन्तान लाभको राम्रो विकल्प हुन थालेको छ भने गतिलो आम्दानी नभएर कष्टकर जीवन विताइरहेका स्वस्थ महिलाहरूका लागि कमाउने राम्रो माध्यम बनेको छ । वास्तवमा सरोगेसी प्रक्रिया महँगो छ । राम्रो विदेशी एजेन्सीमार्फत जाँदा पनि ५० लाख रुपैयाँसम्म खर्च हुन्छ । भाडाकी आमाको स्वास्थ्य बिगि्रएको खण्डमा अझ बढी खर्च हुन सक्छ, तर सामान्यत: नेपालमा १५ लाख रुपैयाँमा यो सुविधा उपलब्ध गराउनेहरू पनि छन् । भारतको हकमा पनि तुलनात्मक रुपमा सस्तो मुल्यमै सरोगेसी सेवा लिन सकिन्छ । मल्टिनेसनल कम्पनी न्यू लाइफ ग्लोबल नेटवर्कको नेपालमा सेवा संचालन भैनसकेको भएपनि उसको अन्तर्राष्ट्रिय सेवा हेर्दा न्यूनतम ७ हजार डलर सट्टा आमालाई उपलब्ध गराउँने देखिन्छ । जुन रकम नेपालीमा ७ लाख रुपैयाँ हुन्छ । भ्रूण राखेपछिको ९ महिना सट्टा आमाको स्याहार, बस्ने खाने सबै सुविधा त्यसबाहेकको रकमबाट विनियोजित हुन्छ । भारत लगिएका महिलाहरूले तथा यहाँ गुपचुप सम्झौता गरेर सट्टाआमा बनेकाहरूले भने बढीमा २ लाख रुपैयाँमात्र पाएको जानकारहरू बताउँछन् । शिशु जन्माइसकेपछि महिलाको शारीरिक कमजोरीमा पनि ध्यान दिनुपर्ने उनीहरूको तर्क छ । सन् १९८६ अर्थात २८ वर्ष अघि अमेरिकाबाट सुरु भएको यो प्रविधि भारत हुँदै नेपाल आएको हो । शुक्रकीट र डिम्ब स्वस्थ भएको अवस्थामा पनि शिशु जन्माउन असमर्थ दम्पतीको हकमा यो प्रक्रिया अघि बढाइएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार ८ देखि १२ प्रतिशत महिलामा बाँझोपनको समस्या छ । स्वास्थ्यविज्ञहरूका अनुसार नेपालमा ६ प्रतिशत दम्पतीमा बाँझोपन देखिएको छ । नेपालको कानुनले विवाह गरेको १० वर्षसम्म जीवित बच्चा जन्मिन नसकेको अवस्थामा अर्को विवाह गर्न पाउने कुरा पनि उल्लेख गरेको छ । बाँझोपनका कारण अहिले विश्वभर सट्टाआमाबाट सन्तान जन्माउने क्रम बढ्दो छ । ३० वर्षयता २० लाखभन्दा बढी मानिसको जन्म सट्टाआमाबाट भएको तथ्यांक छ ।
अमेरिकी, युरोपेली खास गरी ककेसियन जातिका महिलाहरूले सट्टा आमा बनेबापत ५२ लाख नेपाली रुपैयाँसम्म हासिल गर्न सक्ने एजेन्सीहरूको वेबसाइटमा उल्लेख छ । भारतमा सट्टा आमाहरूलाई २ देखि ५ लाख भारतीय रुपैयाँ दिइन्छ । नेपालमा सञ्चालित सरोगेसी एजेन्सीहरू सन्तान जन्माउन असमर्थ नेपाली दम्पतीलाई भारत वा तेस्रो मुलुक जान पनि उत्तिकै उत्प्रेरित गर्छन्, नेपालमा कानुनी झमेला बेहोर्नुभन्दा नेपालीलाई बाहिर लाने, अनि विदेशीलाई नेपाल ल्याउने उनीहरूको योजना हुन्छ । दम्पती मात्र होइन, सरोगेट्स मदर बन्न चाहनेहरूलाई विदेश लाने चलन पनि सुरु भैसकेको छ ।
नेपाली समाजमा सट्टा आमा बनेका दर्जनौं महिला छन्, उनीहरू समाजबाट बहिष्कृत हुने डरले पहिचान लुकाउन बाध्य छन् । यस्ता कुरा मुद्दाकै तहमा आउँदा मात्र सार्वजनिक हुने हो, कानुनविदहरू भन्छन्- जसले सरोगेसीको सहारा लिएको छ, उसले त कम्तीमा भन्नुपर्ने हो तर ऊ पनि यो कुरा लुकाउन नै चाहन्छ ।' विकलांग शिशु जन्मिएर दम्पतीले अस्वीकार गरेको अवस्थामा के हुन्छ भन्ने कुरा कानुन भएकै मुलुकहरूमा पनि समस्या बनेको छ । भारत सरकारले असहाय तथा अभिभावकविहीन बालबालिकाका निम्ति भरणपोषण कोष बनाएकाले त्यहाँ शिशु बेसहारा हुने अवस्था रहँदैन, तर नेपालमा त्यस्तो सुविधा छैन । अधिवक्ता सपना मल्ल प्रधानका अनुसार कानुनी मौनताका कारण सट्टाआमाको परम्पराले नेपाली महिलाको शोषण हुन सक्ने सम्भावना प्रवल छ ।
यौन तथा प्रजनन विज्ञ डा. खेम कार्की भाडाका महिलाद्वारा शिशु जन्माउने मुद्दालाई अब खुला बहसमा ल्याउनुपर्ने तर्क गर्छन् । कानुनले निर्देशित नगर्ने हो भने यसले आफ्नो स्वरुपलाई खतरनाक रूपमा विकास गर्नसक्छ, पेसागत रूपमा पनि यो काम अघि बढ्नेछ । कानुनविद्हरूका अनुसार कानुनी मान्यता दिने कुरामा पनि निश्चित मापदण्ड तयार गर्न सकिन्छ । 'यदि सही हो भन्ने लाग्छ भने निश्चित कानुनी मापदण्ड बनाएर काम गर्न दिनुपर्छ,' सरोगेसी एजेन्सी न्यू लाइफकी प्रमुख कार्यकारी मरियम भन्छिन् ।
निर्देशिका पनि
२०७० चैतको अन्तिम साता परराष्ट्र मन्त्रालयको संयोजनमा गृह, कानुन, स्थानीय विकास तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूको बैठकले सरोगेसीसम्बन्धी निर्देशिका शीघ्र बनाउन स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डा. गुणराज लोहनीको संयोजकत्वमा सात सदस्यीय टोली बनायो । डा. लोहनीको टोलीले डेढ महिनामै तयार पारेको निर्देशिका मन्त्रिपरिषद्मा पेस गर्न गएको भदौमै पठाइएको थियो । सरोगेसीलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने कुरा नै निर्देशिकाको चुरो हो ।
विदेशी नागरिकले नेपाल सरकारबाट मान्यताप्राप्त अस्पताल मार्फत यहाँ आएर भाडाकी आमाबाट बच्चा जन्माए तिनलाई सहज रूपमा सम्बन्धित देशमा लान सकिने प्रावधान उक्त निर्देशिकाले समेटेको छ । यो निर्देशिका पारित भएपछि विदेशी नागरिकले विदेशी भाडाकी आमाबाट बच्चा जन्माएर लिएर जान पाउनेछन् । यो निर्देशिका तयार गर्ने क्रममा सरोगेसी जस्तो गम्भीर विषयमा सरोकारवालाहरूसँग छलफल गरिएन भन्ने कतिपयको भनाइ छ । हतारमा निर्देशिका ल्याउनुका पछाडि धेरैको स्वार्थ हुन सक्ने उनीहरू बताउँछन् । भारतमा महँगो र झन्झटिलो बन्दै गएको सरोगेसी नेपाल भित्र्याउने प्रयास भएको उनीहरूको कथन छ । भारतमा लागूऔषधका अम्मली, समलिंगी वा एकल पुरुष-महिला (सिंगल प्यारेन्ट) को हकमा सरोगेसी सेवा नदिने भनिएकै बेला नेपालमा निर्देशिकाको पहल भएको थियो । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालका अनुसार भारतमा यो काम धेरै अघिदेखि सञ्चालनमा रहेकाले त्यहाँका सबै अनुभव हेरेर हामीले आफ्नो बाटो तय गर्नुपर्छ । भारतले सेवा बन्द गर्ने, यहाँ छलफल नै नगरी खोल्ने होइन, डा. रिजाल भन्छन्, मलाई ५० करोड लगानी गर्न तयार छु, तपाईं सरोगेसीको कामलाई वैधानिक बनाउन पहल गर्नुहोस् भन्नेहरू पनि छन् । सरोगेसी सुरु गर्ने नै भए सम्बन्धित विज्ञसँग रायसल्लाह लिनुपर्ने रिजाल बताउँछन् । विराट मेडिकल कलेजमा आइभिएफ इनभिट्रोफर्टिलाइजेसन सेवा सञ्चालन गरेका डा. ज्ञानेन्द्र मानसिंह कार्की विदेशी नागरिकले विदेशी नै भाडाका आमा ल्याएर बच्चा जन्माए कुनै समस्या नहुने नेपाल म्यागेजिनसँगको कुराकानीमा बताएका छन् । डा. कार्कीका अनुसार भाडाकी भारतीय आमालाई नेपाल ल्याएर शिशु जन्माई लाने सुविधा दिन लागिएको हो भने त्यसले समस्या निम्त्याउँछ । स्पष्ट कानुनी एवं नीतिगत व्यवस्था भए विदेशीलाई सेवा दिने गरी सरोगेसी र आइभिएफ प्रक्रियामा गएर नेपाललाई मेडिकल टुरिज्मको केन्द्र बनाउन सकिन्छ ।
डा. बाबुराम मरासिनी
विज्ञ, सरोगेसी
नेपालमा सरोगेसीका बारेमा यहाँलाई अवगत भएको कुरा के हो ?
पहिलो कुरा नेपालमा सरोगेसीसम्बन्धी कानुन नै छैन । यससम्बन्धी प्रस्ट कानुनको खाँचो छ । यो 'अर्जेन्ट इस्यु' हो । नेपालमा भ्रूणहत्यासम्बन्धी कानुन ज्यान मार्ने कर्तव्य ज्यानसँग सम्बन्धीको मुद्दामा पर्छ, जसलाई सामान्य संसोधनबाट वैधानिकता दिइएको छ । जबकि यससम्बन्धी छुट्टै कानुनको खाँचो छ । सरोकारवाला धेरैले यस्ता विषयमा ध्यान दिएका छैनन्, परिवार नियोजनकै प्रसंगमा पनि विवादास्पद वातावरण छ । यस्तो अवस्थामा सरोगेसीका विषयमा जसरी चासो लिइनुपर्ने हो, त्यो बिल्कुलै छैन् ।
तपाईंले त सरोगेसीको विषयमा लबिङ गर्नुभएको हो नि होइन ?
मैले सरोगेसीको विषयमा मात्र होइन, समग्र प्रजनन स्वास्थ्य ऐनको कुरामा आफ्नो विचार व्यक्त गरेको हुँ, जसमा सरोगेसी पनि पर्छ । अघिल्लो संविधानसभामा सम्भवत: प्रजनन स्वास्थ्य समिति वा यस्तै नाम गरेको विषयगत समिति थियो, जसमा मैले प्रेजेन्टेसन दिएको थिएँ । त्यतिबेला मैले प्रजनन स्वास्थ्य ऐन किन आवश्यक छ भनेर कुरा राखें । सरोगेसीलाई पनि ऐनका रूपमा प्रस्ट रूपले व्याख्या गरिनुपर्छ भन्ने हो । यो आवश्यक छ भने किन छ भन्ने विषयमा मैले कुरा राखेको हो ।
सरोगेसी के कारणले आवश्यक भयो ?
पहिलो कुरा प्रजननसम्बन्धी डिफेक्ट भएका दम्पतीको हकमा अझ भनौं नि:सन्तान दम्पतीको हकमा के गर्ने भन्ने हो ? आईभीएफ अर्थात टेस्टट्युब बेबीकै सन्दर्भमा पनि कानुन प्रस्ट हुन आवश्यक छ । दोस्रो कुरा कसैसँग भनेजति पैसा छ, उसलाई सन्तान जन्माउन मन लागेको छैन, कोही फुर्सदमा छ र ऊ अरूका लागि निहित उद्देश्यले शिशु जन्माइदिन तयार छ भने त्यहाँ सरोगेसीको कुरा आउँछ । यस्तो अवस्थामा के गर्ने भन्ने कुरा सम्बन्धित मुलुकको कानुनले प्रस्ट पार्नुपर्छ । जहाँसम्म सरोगेसीको कुरा छ, यो त संसारभरका निम्ति कन्ट्रोभर्सी छ भन्ने कुरा मान्न म तयार छु, टेस्टट्युब बेबी र यो दुवै कुरामा धेरै विवाद छन् । यी दुवै विषय गरिबीसँग पनि जोडिएका छन् ।
गुपचुप रूपमा त सरोगेसीको काम त भैरहेको छ नि होइन ?
हो, नेपाली चिकित्सकहरू सरोगेसीमा संलग्न छन् तर उनीहरू भित्रभित्रै शान्त रूपले काम गरिरहेका छन् । कानुनले नछेक्ने भएपछि काम गर्नै नहुने भन्ने पनि छैन । सरोगेसीका कारण नै केही समयअघि नेपालकै अदालतमा मुद्दा परेर निर्णय पनि भैसकेको छ । जिल्ला अदालतले सरोगेसीका बारेमा सामान्य व्याख्या पनि गरिसकेको छ । त्यसैले यो विषयमा कानुन आवश्यक भैसकेको छ । अन्यथा विदेशीहरूबाट यसको गलत प्रयोग हुन सक्ने खतरा छ । सरोकारवालाहरूले यो विषयमा बोल्न आवश्यक पनि भैसकेको छ ।
कानुनले सरोगेसीका सबैपक्षलाई सम्बोधन गर्छ त ?
लो क्वालिटीको कानुन भए त सबै पक्षलाई कहाँ समेट्न सकिन्छ र ? यहाँ संसदले बल्ल बल्ल कानुन बनाउँछ तर त्यो लागू हुने बेलामा संशोधन गर्नुपर्ने अवस्था सिर्जना भैसकेको हुन्छ । अंग प्रत्यारोपणसम्बन्धी कानुनमा सम्बन्धित बिरामीको अंगप्रत्यारोपण गरेपछि निर्धारित समयभित्र मृत्यु भएको खण्डमा चिकित्सकलाई ज्यान मुद्दा लाग्ने प्रावधान छ, त्यस्तो अवस्थामा कुन चिकित्सक अंगप्रत्यारोपण गर्न तयार हुन्छन् ? त्यसैले कानुन आउँदैमा सबै समस्या समाधान हुने होइन, बलियो र प्रस्ट कानुनको खाँचो छ, सरोगेसीको मुद्दालाई सम्बोधन गर्न ।
ज्योति पौडेल
अधिवक्ता
सरोगेसीको विषयमा कानुन मौन छ ? यस्तो अवस्थामा सरोगेसीको काम गर्न पाइन्छ कि पाइँदैन ?
कानुनी भाषामा कानुनले गर भनेको नगर्नु र नगर भनेको गर्नुचाहिँ दण्डनीय अपराध हुन्छ । जहाँसम्म सरोगेसीको कुरा छ, यो विषयमा कानुन मौन रहेकाले जे गर्न पनि छुट छ । यो अहिले चासोको एउटा विषय हो । यो इस्युमा राज्य तथा सरोकारवालाहरूबीच व्यापक बहस आवश्यक भैसकेको छ । एकातर्फ महिला अधिकारको दृष्टिले हेर्दा माई बडी माई राइट्सको कुरा पनि छ, अर्कातर्फ आर्थिक रूपमा कमजोर हाम्रो समाजमा आर्थिक कारण नै यो कामका निम्ति सजिलो बाटो पनि भएको छ । यो विषयमा प्रवेश गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ राज्यले विचार गर्नुपर्छ ।
सरोगेसीलाई वैधानिकता दिने प्रक्रिया चलिसकेको अवस्थामा के भन्नुहुन्छ ?
मैले सरोगेसीकै विषयमा आधारित एउटा चलचित्र हेरेको थिए, जहाँ नायिका भन्दै थिइन्- 'मान्छे पेटका लागि काम गर्छ तर मलाई चाहिँ यही पेटले पालेको छ ।' यो डायलग विचारणीय छ । यद्यपि त्यो चलचित्रको कुरा हो, म आफूले पनि यो विषयमा अझै अध्ययन गर्न बाँकी छ, सहमति वा मायाका आधारमा सरोगेसी ठीकै हुनसक्छ तर महिला अधिकारको दृष्टिबाट हेर्दा यो विषय संवेदनशील पनि छ । यो अहिलेको मुख्य बहसको विषय हो । कस्तो अवस्था वा आधारमा सरोगेसी भन्ने कुरा पनि हुन्छ ।
नि:सन्तान दम्पतीको हकमा त यो राम्रो विकल्प हुनसक्छ नि ?
नि:सन्तान दम्पतीको हकमा सरोगेसी राम्रो विकल्प हो, त्यतिमात्र होइन, सन्तान अरूको कोखबाट जन्माउन चाहने दम्पतीले पनि कुनै महिलालाई सहमत गराएर आपसी सहमतिमा सरोगेसीमा जान सक्छन्, तर त्यसमा 'पुस-फ्याक्टर' हुनु भएन । आर्थिक रूपमा कमजोर भएको अवस्थामा कुनै महिला सरोगेट्स मदर बन्न सक्छिन् तर उनलाई आर्थिक प्रलोभनको नाममा विना जानकारी यो काममा लगाउनु हुँदैन ।
सरोगेसी कानुन कस्तो हुनुपर्छ त ?
यो व्यापक बहसपछि आउने अवधारणाले तय गर्ने कुरा हो । नेपालको कानुन निर्माणका क्रममा पर्याप्त अध्ययन-अनुसन्धानको कमी देखिन्छ । यहाँ विदेशी मुलुकको कानुन हुबहु कपि गरिन्छ । सरोगेसीको विषयमा हामीले राम्रो अध्ययन गरेर कानुन निर्माण गर्यौं भने समस्या कम हुन सक्ला, तर पुरानो टे्रन्ड हेर्दा यसमा पनि कपि नै गर्न सकिने सम्भावना छ । उदाहरणका लागि घरेलु हिंसालाई लिन सकिन्छ । महिलामुखी भए पनि सुरुवातदेखि नै उक्त कानुन संशोधनको बाटोमा छ । पर्याप्त अनुसन्धानको कमीले त्यस्तो भएको हो । इस्युको सकारात्मक एवं नकारात्मक पक्ष अध्ययन हुनु आवश्यक छ ।
सरोगेसीको कुनै संवेदनशील पक्ष पनि छ ?
सरोगेसीलाई अधिकारकर्मीहरूले ट्राफिकिङको नयाँ रूपसमेत भनेका छन् । मेरो विचारमा सन्तान जन्माउने आमा र उसको बच्चाबीचमा 'कनेक्सन थ्योरी' लागू भैरहेको हुन्छ । पेटमा बच्चा आइसकेपछि आमाको स्वभावमै परिवर्तन आउँछ, त्यस्तो अवस्थामा ९ महिनापछि जन्मिएको शिशु अर्कालाई सुम्पिनुपर्छ । अवश्य पनि यसले उसलाई जिन्दगीभरि पीडाबोध हुन्छ । यो आमा भैसकेका नारीले अनुभव गर्ने कुरा हो । कनेक्सन थ्योरीको यो पक्षलाई कसरी सम्बोधन गर्ने भन्ने पनि छ, अन्यथा बच्चा जन्माउने महिलामा साइकोलोजिकल समस्यासमेत देखापर्न सक्छ ।
यसको समाधान के त ?
परिवार वा कसैको दबाबमा आएर उसले काम गर्ने अवस्था हुनु हुँदैन । आर्थिक पक्षलाई मात्र ठूलो मान्ने अवस्था हुनुहुँदैन । कसैको पाठेघर छ भन्दैमा तिमीले बच्चा जन्माउनैपर्छ भन्नचाहिँ मिल्दैन ।
यो विषयमा निर्देशिका पनि जारी भएको छ नि ?
मैले थाहा पाएअनुसार विदेशीलाई सरोगेसीका लागि खुला व्यवस्था गर्न तयार हुने अनि नेपालीलाई कानुनले बाँध्ने भन्ने कुरा व्यवहारिक हुँदैन, अनि निर्देशिका बनाएर मात्र पनि पुग्दैन । प्रस्ट कानुन हुनुपर्छ र त्यो कानुन सबैका लागि हुनुपर्छ । सरोगेसी ठिक हो भने किन नेपालीले गर्न नपाउने ? कानुन प्रस्ट भएर यो विषयमा सम्बद्ध हुन चाहनेहरूम चेतना जगाएर अघि बढ्नु उपयुक्त हुन्छ । सरोगे