चालक भनेको के हो ? चालक अर्थात् चलाख । चालक चलाख हुनुपर्छ । चारै दिशामा पूरै ध्यान दिएर हेर्नुपर्छ ।
मलाई सुरुमै उनका कुरा रुचिकर लागे ।
उनी भन्दै थिए, '६ वटा कुरामा ध्यान दिनुस् ।'
१. एक्सिलेटर : जुनसुकै चीज पनि चल्नका लागि शक्ति चाहिन्छ । एक्सिलेटर भनेको शक्ति हो । यसले आराम गरेको गाडीलाई ऊर्जा दिँदै चलायमान बनाइदिन्छ । जबसम्म हामी शक्ति खर्च गर्दैनौँ, तबसम्म हाम्रो दैनिक जीवन चल्दैन । जसरी हाम्रो जीवन चल्न हामीलाई ऊर्जा चाहिन्छ, गाडीलाई चल्न पनि एक्सिलेटर चाहिन्छ ।
२. स्टेरिङ : गाडीलाई .कुन दिशामा लाने ? यसले सहयोग गर्छ । नमिल्दा गलत दिशामा जान सक्छ । हाम्रो जीवन पनि त कहिलेकाहीं गलत दिशामा जान सक्छ । हामी आफैँले त्यसलाई उचित दिशा दिन सक्नुपर्छ । नभए जीवन पनि कुनै भँड्खालोमा गएर जाकिन के बेर ?
३. ब्रेक : गाडीलाई रफ्तार वा दुर्घटनाबाट जोगाउन ब्रेकको आवश्यकता पर्छ । कहिलेकाहीं हाम्रो जीवन पनि अन्धाधुन्ध बहकिन्छ । चाहिने भन्दा रफ्तार खोज्छ जीवनले । यस्तै बेला हो संयम चाहिने । संयम नै जीवनलाई दुर्घटनाबाट जोगाउने ब्रेक हो ।
४. क्लच : चाहे एक्सिलेटर होस् चाहे ब्रेक, क्लच लिनैपर्छ । जीवनमा पनि रफ्तार लिन होस् वा विश्राम लिन होस् हामीलाई इच्छाशक्ति चाहिन्छ ।
५. गियर : कुन ठाउँमा रफ्तार चाहिन्छ ? कुन ठाउँमा धैर्य चाहिन्छ ? बुझ्न आवश्यक छ, गाडीमा पनि जीवनमा पनि । गाडीको स्पिड लिनुपर्दा गियर बढाउँदै लानुपर्छ । जीवनको स्पिड लिन, अर्थात् धेरै अघि बढ्न लगनशीलता एवं परिश्रम बढाउँदै लानुपर्छ ।
६. लुकिङ ग्लास : गाडीको ब्याक मिरर वा लुकिङ ग्लासले पछाडिको दृश्य देखाउँछ । कहिलेकाहीँ जीवनमा पछाडि फर्केर हेर्दा धेरै कुरा छर्लङ्ग देखिन्छ । कहिलेकाहीं सही ढंगले अघि बढ्न पछाडि पनि हेर्नुपर्दो रहेछ । सिक्न त गाडी नै भनेर गएको थिएँ, तर उनले मलाई जीवनको पाठ पनि सिकाइदिए, त्यो पनि नि:शुल्क ।