'बिहान ४ बजे उठ्छु, त्यसपछि नित्यकर्म सकेर पूजापाठ गर्छु' डा. रिजालले आफ्नो दिनचर्या बताउँदै भने- 'मेरा कारणले कसैलाई दु:ख नहोस्, सबैलाई सन्तोष प्रदान गर्न सकौं भन्ने कामना गर्छु ।' हालै नेपाल सरकारले पेसाकर्मीको रुपमा सबैभन्दा बढी कर बुझाउने व्यक्तिका रूपमा डा. रिजाललाई सम्मान गरेको थियो । पेशाप्रतिको दायित्व बोध गर्ने डा. रिजाल साढे ६ बजे हल्का नास्ता खाएर अस्पताल पुगिसक्छन् ।
डा. रिजाल एसोसिएसन प्राइभेट हेल्थ इन्स्टिच्युट (अफिन) का निवर्तमान अध्यक्ष पनि हुन् । डा. रिजाल ओम हेल्थ फाउन्डेसनका अध्यक्ष पनि रहिसकेका छन् । यस्तै स्वामी कमलनयनाचार्य श्री जी च्यारिटेबल ट्रष्टका उपाध्यक्ष डा. रिजाल मुक्तिनाथ आराधना परिषद्का अध्यक्ष छन् । आधा दर्जनभन्दा बढी संघसंस्थामा सक्रिय डा. रिजाल जीवनको पछिल्लो कालखण्डमा आफूलाई सामाजिक कार्यकर्ताका रूपमा अग्रसर गराउन रुचाइरहेका छन् ।
केही समयअघि उनको नेतृत्वमा मुगुमा ४५ जना चिकित्सकको समूहले ६ दिने स्वास्थ्य शिविर सञ्चालन गरेको थियो, जुन नेपालकै इतिहासमा सबैभन्दा ठूलो नि:शुल्क स्वास्थ्य शिविर थियो । त्यहाँ अस्पताल निर्माणका निम्ति भागवत महापुराण पनि लगाइएको थियो । डा. रिजालका अनुसार मुगुमा अस्पताल निर्माण गरेर ओम अस्पतालमार्फत त्यहाँका नागरिकलाई टेलिमेडिसिनको सुविधा उपलब्ध गराउने फाउन्डेसनको लक्ष्य छ । यस्तै मुक्तिनाथमा पनि अस्पतालको सेवा उपलब्ध गराउन फाउन्डेसनमार्फत उनले सहयोग गरेका छन् ।
बिहान दुध, सुख्खा रोटी, अन्डा तथा कर्नफ्लेक्समध्ये कुनै दुई सेवन गर्ने डा. रिजाल दिउँसो घरबाटै ल्याइएको लन्च लिएपछि ओपिडी छिर्ने बताउँछन् । बेलुका ५ बजेपछि फेरी अपरेशन गरेका बिरामीको अवस्था बुझ्न राउन्डमा निस्कन्छन् । त्यो क्रम ७ देखि ८ बजेसम्म चल्छ । ९ बजे घरपुगेपछि श्रीमतीसँगै बसेर खाना खान्छन् र केही लेखपढ वा सक्नुपर्ने काममा लाग्छन् । डा. रिजाल भन्छन्- 'अस्पतालबाट बाहिरिएर गाडीको स्टेरिङ समातेपछि अस्पताल बिर्सिएर केहि आफ्ना व्यक्तिगत योजना र कार्यक्रमका सम्बन्धमा अपडेट हुन्छु ।'
गीत रचनामा विशेष रुचि राख्ने डा. रिजाल सिर्जनाका निम्ति कुनै समय छुट्याएर नहुने तर्क गर्छन् । त्यही भएर अपरेसनको समय होस् वा ओपिडीको समयमा कुनै सिर्जना आउनेबित्तिकै उनी आफूसँग भएको डिजिटल साउन्ड रेकर्डर वा नोटबुकमा टिपिहाल्छन् । कुनै समय डा. रिजालले 'गौंथली' शीर्षकको गीतिचलचित्र नै तयार पारेका थिए । डा. रिजालले मेरो पौवा पाटी, मैना चरी, मैले आँखाको भाका बुझिन्, के साइनोले बोलाऊ, लजालु ती नजर, मैना ए मैना, चोरी भो चोरी भो, सित्तंैमा लौ सित्तैंमा, र्याफ्टिङ बिसाउने जस्ता हिट गीत सिर्जना गरेका छन् ।
डा. रिजालका तीन छोरामध्ये डाक्टर कपिल बेलायतमा छन् भने माइला मनिष अमेरिकामा इन्जिनियरका रूपमा कार्यरत छन् । त्यस्तै कान्छा छोरा प्रलय नर्वेमा छन् । जेठा छोरा कपिल हरेक महिना बा आमासँग भेट्न काठमाडौं आउँछन् । कुनै कार्यक्रममा जानुपर्यो भने श्रीमतीलाई लिएर नै जान्छन् । करियरको ४ दशकमा उनले पेसा र सिर्जनामा कहिल्यै सम्झौता गरेनन् । गीत रचना मात्र होइन, संगीत र स्वर समेत दिए । डा. रिजालले ९ वटा चलचित्र निर्माण गरेका छन् ।
डा. भोला रिजालका रूपमा पेसामा सक्रिय रहँदा कत्तिको चुनौती आउँछन् ? डाक्टर रिजालले भने- 'धेरै नै, मकहाँ प्राय जटिल केसहरू आउँछन्, जसलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, त्यहिभएर अरू बिरामीले पर्खिनुपरेको हो, अन्य अस्पतालले नसकेका केसहरू आउँछन्, जुन सफल हुँदा प्राप्त हुने सन्तुष्टि गजबको हुन्छ । डा. रिजालको चिकित्सकीय रेखदेखमा जन्मिएका हजारौं शिशु अहिले आफैं करियरको शिखरयात्रामा छन् । अहिले अक्सर कार्यक्रममा डा. रिजाललाई 'सन्तानेश्वर महादेव' का रूपमा सम्बोधन गरिन्छ, जुन उनको कर्मले बनाएको नाम हो ।कुनै समय प्रोफेसर टिए चौधरीले भोला, पैसाको पछाडी कहिल्यै नदौडनु, पैसा तिमीलाई आफैं पछ्याउँदै आउँछ भनेको कुरा उनको दिमागमा सधैं आइरहन्छ । डा. रिजाल यसैलाई आफ्नो सफलताको मन्त्र मान्छन् । डा. रिजाल भन्छन्- 'जीवन सुखमय छ, सेवा गर्न पाएकाले कर्ममा पनि सन्तुष्ट छु, इज्जत कमाएको छु, केही समय सिर्जनामा बिताउन पाएको छु, मलाई यति भए पुगेको छ ।'
छोराले उपहार दिएको ओमेगा घडी लगाउने डा. रिजालले १० महिनायता ग्यालेक्सी नोट फोर चलाइरहेका छन् । सिआरबी होन्डा तथा फिएट उनले चढ्ने सवारी साधन हुन् । डा. रिजाल आफूलाई ब्रान्ड कन्सस नभएको बताउँछन् ।