यसबीच गत साता सम्पन्न दक्षिण एसियाली संगठन (सार्क) का बेला काठमाडौंमा धेरै नयाँ विकास सम्पन्न भए । उक्त कार्यमा अर्का प्रधानमन्त्री सुशील कोइरालाले ठूलो चासो राखे । रातारात काठमाडौंका सडक फराकिला भए, रंगरोगन गरिए, बोट-बिरुवा रोपिए । अनावश्यक रोड डिभाइडर हटाइए । यो काममा दुई महिनाको समय र ५० करोडजति खर्च भयो । यति थोरै समय र खर्चमा विश्वस्तरको कार्य सम्पन्न भएकोमा सार्क प्रतिनिधिले पनि प्रशंसा गरे । यसले राम्रो काम गर्दा सबैले प्रशंसा गर्दा रहेछन् भन्ने महसुस सरकार एवं कर्मचारीतन्त्रलाई पनि भएको छ । यही विषयमा गएको वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका भाइकाजीसँग साप्ताहिकले लामो कुराकानी गरेको थियो ।
सार्कका बेला त अचम्मै गर्नुभयो, सरकारले चाह्यो भने नसोचेको विकास हुँदो रहेछ भन्ने प्रमाणित भयो । यस्तो कसरी सम्भव भयो ?
जब देशकै इज्जतको प्रश्न आउँछ र सरकारले काम गर्ने वातावरण बनाउँछ भने यस्तो काम हुनसक्छ । मैले त पहिलेदेखि नै भन्दै आएको कुरा हो, बजेट, वातावरण र सोचेजति म्यानपावर लगाउने हो भने विकास सम्भव छ ।
भनेपछि अरू बेला सरकारले नै वास्ता गर्दैन भन्न खोज्नुभएको हो ?
त्यसो त होइन, सरकार पक्कै पनि विकासमा चिन्तित हुन्छ, तर त्यसमा समन्वय मिल्दैन । यसपटक प्रधानमन्त्री आफैंले पटक-पटक चासो राख्नुभयो, बिरामी भए पनि सबै मिटिङमा उपस्थित हुनुभयो । जसलाई जे पर्छ, सम्पर्क राख्नु भन्नुभयो । बजेटको कमी हुन दिन्नँ भनेर हौसला दिनुभयो । यसले सबै निकायलाई एकै ठाउँमा ल्याउन मद्दत गर्यो । सार्कलाई सबैले आफ्नो इज्जत सम्झिए । कुन पार्टीको सरकार छ, कुन निकाय मेरो हो, कसलाई असहयोग गर्दा मलाई फाइदा हुन्छ भन्ने सोच हुर्कन पाएन । देशको इज्जतको सवाल छ भन्ने कुरा नै मुख्य रह्यो ।
सधैं यही गतिमा किन काम हुँदैन भनेर नागरिकले प्रश्न गर्न थालेका छन्, कमजोरी कहाँ छ ?
समस्या परम्परागत सोचमा छ । यो तिवारीले ठूलो कुरा गर्यो भन्छन्, तैपनि सत्य के हो भने कर्मचारीहरू काम गर्न आउँदैनन्, जागिर खान आउँछन् । जबकि काम गर्ने निकाय नै कर्मचारीतन्त्र हो । अर्को कुरा, तँ ठूलो कि म ठूलो, तैंले यो काम गर्ने होइन, यो तेरो भागमा पर्दैन भनेर काम गर्नेलाई अड्काउने चलन छ । हामी स्पष्ट कार्य विभाजन नगरिदिने, काम गर्ने मानिसलाई बजेट नदिने परम्परागत रोगले थलिएका छौं । जेमा पनि फाइदा खोज्ने चलन हाबी छ ।
तपाईं उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भैसकेको मानिस, प्रधानमन्त्रीलाई यी समस्या भन्नुभएको छैन ?
प्रधानमन्त्रीज्यू धेरै चिन्तित हुनुहुन्छ । उहाँ मिटिङहरूमा तपाईंहरू नै हो काम गर्ने, मैले फिल्डमा खट्ने कुरा भएन, सहयोग गर्ने मात्र हो भन्नुहुन्छ । मिटिङमा सबै जना यसरी कुरा गर्छन्, मानौं प्रधानमन्त्रीको निर्देशनअनुसार तुरुन्तै काम फत्ते हुन्छ । जसै मिटिङ सकिन्छ, उल्टै यो भएन, त्यो भएन भनेर सरकार र मन्त्रीको गुनासो गर्दै र्फकन्छन् । जब मैले नजिकबाट यी कुरा देखें, प्रधानमन्त्रीलाई यस्तो प्रवृत्ति छ, तपाईं चिन्तित हुनुहुन्छ, तर समयमा काम हुँदैन । अहिले जसले सबैभन्दा बढी तपाईंका कुरा सुनेजस्तो गरे, जसले तपाईं नै महान नेता हो भने, उनीहरूले नै काममा बाधा पुर्याउँछन् भनेर सुनाएँ । उहाँले नाम दिनुहोस्, म ठाडै कारबाही गर्छु भन्नुभयो ।
नाम दिनुभयो त ?
कति जनाको नाम दिनु ? यो प्रवृत्ति हो । जबसम्म प्रवृत्ति ठीक हुँदैन, व्यक्तिको नाम टिपाएर मात्र के हुन्छ ? यो कर्मचारीको मात्र होइन, आमजनताको पनि प्रवृत्ति हो । प्रतिबद्धता जाहेर गर्ने तर पूरा नगर्ने ।
भनेपछि सार्कमा भएको विकास दीर्घकालीन हुँदैन भन्ने बुझ्नुपर्यो, होइन ?
हामीले करोडौं रुपैयाँ लगाएर काठमाडौंका भित्ता-भित्ता रंगरोगन गर्यौं । सबैले वाहवाही गर्नुभयो । अस्तिको दिन मात्र म मख्ख्ा पर्दै गाडीमा महाराजगन्जतिर जाँदै थिएँ । भैरवनाथ गणको भित्तामा ठूला-ठूला अंग्रेजी अक्षरमा एलएपी लेखिएको रहेछ । अनि नेपाली अक्षरमा राजनीतिक क्रान्तिका नारा कोरिएका थिए । त्यति दु:ख गरेर रातारात गरेको काम त्यसरी बिगारेको देख्दा मलाई त रुन मन लाग्यो । जनताको करले ओभरटाइम गराएर गरेको सफाइ अभियानको त्यो विद्रुप अवस्थालाई के भन्ने ? साँच्चै भन्ने हो भने यो बेला काठमाडौंको विकास र सुन्दरता ऐतिहासिक अवस्थामा छ । राजा महेन्द्रको राज्याभिषेकका क्रममा बेलायती महारानी आउँदा काठमाडौं दुलहीझैं सिँगारिएको थियो रे, तर अहिले त्योभन्दा बढी राम्रो तर दीर्घकालीन काम भयो भन्नेहरू छन् । यसलाई जोगाउने काम जनताको हो । यस्तो बेला भित्ताहुँदी राजनीतिक नारा देखिनु दु:खद कुरा हो ।
यहि बेला जथाभावी बाटो काट्ने, रोपेका बोटबिरुवा निमोठ्ने, मार्ने काम पनि भैरहेको छ, के भन्नुहुन्छ ?
त्यस्तो प्रवृत्ति तीनकुनेदेखि माइतीघरसम्म निकै बढेको थियो । उक्त क्षेत्रलाई अहिले नेपाल टेलिकमले आफ्नो हातमा लिएको छ । अब त्यहाँ सधैं हरियाली कायम राख्ने, फूल फुलाउने जिम्मेवारी टेलिकमको हो । नेपाल प्रहरी र नगर प्रहरीले त्यहाँका सम्पत्ति बिगार्नेहरूलाई कारबाही गर्न थालेको छ । त्यसैले अब उक्त समस्या समाधान हुन्छ । सडक विभागले केही ठाउँमा जेब्रा क्रसिङ बनाउने योजना बनाएको छ । सामाजिक सञ्जाल एवं सञ्चारमाध्यमले यो काममा धेरै चासो राखेकाले त्यो क्षेत्रमा विनाश हुन पाएन । हिजोका दिनमा सरकारी सम्पत्तिमा कसैले चासो राख्दैनथे । आज सरकारको सम्पत्ति पनि आफ्नै सम्पत्ति हो, यसको संरक्षण गर्नुपर्छ भन्ने चेतना जागेको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले यसमा निकै राम्रो काम गरेका छन् । मलाई चिन्ता लागेको कुराचाहिँ बल्ल-बल्ल सुन्दर भएका भित्ताहरूमा राजनीतिक नारा लेख्दै हिँड्ने प्रवृत्ति हो । नजानीकन बिगार गर्नु र बिगार्ने उद्देश्यले नै काम गर्नु फरक कुरा हुन् ।
तपाईंको नेतृत्वमा सडक फराकिलो बनाउने काम भैरहेको थियो, अहिले अड्किएको छ, किन अड्कियो ?
सार्क सम्मेलनका कारण हामीले फराकिला भएका तर बन्न बाँकी रहेका संरचनाको काम गर्यो । सार्क सकियो, अब बाँकी सडक फराकिलो पार्ने र बनाउने काममा लाग्छांै । यसरी काम गर्दा हामी जनताले अनुरोध गरेका स्थानमा जान्छौं या त हाम्रो प्राथामिकतामा परेका मार्ग बनाउँछौं । अहिले पनि गल्ली वा भित्री नगरमा हाम्रो ध्यान पुगेको छैन । अहिलेसम्म एकतिहाइ सडकमात्र फराकिला भएका छन् । बाँकी दुईतिहाइ सडकमा हात हाल्न पाइएको छैन ।
किन होला ?
समग्र नगरको विकास गर्न नगर विकास प्राधिकरण गठन भएको हो । यसको उद्देश्य भारतका दुई मुख्य सहर दिल्ली र मुम्बईको जस्तो छुट्टै निकायले गर्ने विकासको मोडलमा आधारित छ । आजका दिनसम्म यो कार्यालयमा भर्ना गर्ने भनिएका १ सय ३७ कर्मचारी छैनन् । काजमा बाहिरबाट कर्मचारी मगाउनु परिरहेको छ । भनेको समयमा बजेट निकासा हुँदैन । बजेट र कर्मचारीबिना कसरी काम हुन्छ ?
तपाईंको विचारमा नगर सुन्दर बनाउने सबैभन्दा ठूलो योगदान कसको हुन्छ ?
सबैभन्दा ठूलो जिम्मेवारी नागरिकको हो । सार्कपछिका दुई-चार दिन नागरिकले चासो राखेकै कारण सडकमा देखिएको हेपाहा प्रवृत्तिको अन्त्य भयो । अहिले जेब्रा क्रसबाट मात्र बाटो काट्ने बानीको विकास हुँदैछ । अब प्रत्येक नागरिकले आफ्नो घरको फोहोर बाटोमा नफाल्ने, ठीक अवस्थामा रहेको सवारी साधन मात्र चलाउँछु, अनावश्यक हर्न बजाउँदिन भनेर प्रतिबद्धता जनाउनुपर्छ । दोस्रोमा जसरी ट्राफिक प्रहरीले मापेसे चेक गरिरहेका छन्, ठीक त्यसैगरी यातायात व्यवस्था विभागले 'धुपसे' चेक गर्नुपर्छ र द अन द स्पट' कारबाही गर्नुपर्छ ।
यो धुपसे भनेको के हो ?
मापसे भनेको मादक पदार्थ सेवन गरे नगरेको भन्ने त बुझ्नुभयो होला । त्यसैगरी धुपसे भनेको सवारी साधनले धूवाँ ठीक फालिरहेको छ छैन भन्ने परीक्षण गर्ने माध्यम हो । यसलाई मैले नै धुपसे नाम दिएको हुँ । यो जनता जाग्ने बेला हो, जनता नजागे फेरि काठमाडौंको सौन्दर्य ओइलाउन सक्छ ।
टेलिफोन र विद्युत्का खम्बाहरूमा जथाभावी तानिएका तारले पनि सहरको सौन्दर्य बिगारिरहेका छन् ?
धेरै पटक प्रधानमन्त्रीले, सम्बन्धित मन्त्रीहरूले टेलिकम तथा विद्युत् प्राधिकरणलाई अनावश्यक तार हटाउन निर्देशन दिनुभएको छ, तर कार्यान्वयन हुँदैन । किनभने ती तार कतिपय टेलिभिजन च्यानल -केबल नेटवर्क)तथा इन्टरनेट सेवा प्रदायकका छन् । उनीहरूसँग त्यसका लागि पैसा लिइएको हुनसक्छ । त्यो काट्नेबित्तिकै नियमित आम्दानी गुम्छ । यो ओपेन सेक्रेट कुरा हो । यही कारणले ती तार हट्न सकेका छैनन् ।
यो त देखिएको भष्ट्राचार हो, किन कारबाही भैरहेको छैन्ा ?
यो तपाईं हामी सबैले देखिरहेको कुरा हो, तै पनि यो काम भैरहेको छैन । तपाईं पनि नागरिक त्यसमाथि पत्रकार । म तपाईंसँगै सोध्छु— यो भष्ट्राचार हो, तर किन कारबाही भैरहेको छैन ?