साप्ताहिक संवाददाता
नेपालीका लागि इटालीमा मुख्य समस्या भाषा हो, यहाँ अङ्ग्रेजीले काम चल्दैन । इटालीमा रहेका नेपालीको सबैभन्दा ठूलो समस्या भाषा रहेको रोम समाजका पूर्वअध्यक्ष प्रकाश महर्जन बताउँछन््् । अधिकांश नेपाली इटालीका बारेमा ठोस जानकारीबिना नै आएको देखिन्छ । इटालीमा अमेरिका र बेलायतमा जस्तो दक्षता र क्षमताको कुनै अर्थ छैन । यहाँका ठूला-ठूला कम्पनीमा काम पाउनु भनेको चन्द्रमाको यात्रा गर्नुसरह हो । इटालीमा ट्याक्सी ड्राइभर मात्र बन्न पनि इटालियन हुनुपर्छ । सीप भएकाहरूले कुनै अवसर पाइहाले पनि भाषा तगारो भैदिन्छ ।
इटालीमा विदेशीले पाउने काम भनेको स्थानीय इटालियनहरूले नगर्ने काम हो । अहिले इटालीमा बेरोजगारीको समस्या तीव्र भएकाले विदेशी भनेपछि हेप्ने संस्कृति मौलाउँदै गएको छ । रोजगारीका सिलसिलामा इटाली पुग्ने विदेशीलाई राम्रो नजरले हेरिँदैन । इटालीको हरेक क्षेत्रमा हरेक किसिमका काम इटालीयनहरू आफैं गर्छन् ।
यहाँ अरू मुलुकमा जस्तो गि्रन कार्डको व्यवस्था छैन । यहाँ विदेशी नागरिकलाई सीमित बसोबासको अनुमतिपत्र मात्र प्रदान गरिन्छ । त्यसका लागि यहाँ काम प्राप्त गरेको हुनुपर्छ, कामको करार अवधि तोकिएको हुनुपर्छ । इटालीमा कुनै पनि विदेशीलाई तबसम्म बस्ने अनुमति दिइन्छ, जबसम्म उसले रोजगारी प्राप्त गर्छ । बसोबास अनुमतिपत्र हरेक दुई वर्षमा नवीकरण गराउनुपर्छ । ५ वर्षसम्म लगातार करारमा काम गरिसकेको व्यक्तिले भने असीमित समयका लागि बसोबास अनुमति पत्र पाउन सक्छ । त्यसका लागि पनि विभिन्न नियम-कानुन पालना गर्दै जानुपर्ने हुन्छ । यस्तो अनुमति प्राप्त व्यक्तिले हरेक ११ वर्षमा अनुमतिपत्रको आफ्नो तस्बिर परिवर्तन गर्नुपर्छ, जसका लागि नवीकरणसरह नै प्रवि|mया पूरा गर्नुपर्छ ।
विदेशीद्वारा मात्र होइन, यहाँ नेपालीबाटै नेपाली ठगिएका उदाहरण पनि छन् । सन् २००७ सम्म इटाली आइपुग्ने नेपालीहरूको कथा बेग्लै छ । तीमध्ये एक असीम पाठक -नाम परिवर्तन) भन्छन्- मलाई नेपाली दलालले ७ लाख रुपैयाँ लिएर रूस पुर्यायो । रूसको अनकन्टार जंगलमा भोकभोकै बसेर, अनेकन मानसिक एवं शारीरिक यातना खपेर म रूसबाट इटाली आइपुगेको हुँ । त्यतिबेला मैले इटाली गएर के गर्ने ? कस्तो काम पाइन्छ ? कस्तो देश हो ? के हुन्छ ? भनेर सोचेको पनि थिइनँ । मैले त्यतिबेला एउटै कुरा सोचेको थिएँ- मलाई जसरी पनि इटाली पुग्नु छ, त्यहाँ पुगेपछि मेरो भाग्य खुल्नेछ, मेरा छोरा-छोरीहरूको सपना पूरा गर्नु छ ।
पाठकले झैं दु:ख भोगेर इटालीसम्म त आइपुगिन्छ तर त्यसपछि त्यहाँ स्थापित हुन गर्नुपर्ने संघर्षको नयाँ अध्याय सुरु हुन्छ । यहाँ आइपुग्ने नेपालीले आफूले जे-जस्तो देखे-भोगे पनि त्यसलाई बिर्सेर आफ्ना दाजुभाइलाई यहाँ बोलाउन दलालहरूमार्फत लाखौं रुपैयाँ खर्च गर्न तयार हुँदा दलालहरूले थप प्रोत्साहन पाएका छन् । फलस्वरूप नेपाली दलालबाटै ठगिने नेपालीहरूको संख्या पनि बढ्दो छ ।
इटाली सरकारले बेला-बेलामा जारी गर्ने आप्रवासन कार्यक्रममार्फत पनि इटाली आउन सकिन्छ । यस्तो आप्रवासन कार्यक्रमअन्तर्गत इटाली आइपुग्नेहरूको हकमा इटाली सरकारले छुट्टै नीति-नियम बनाएको छ । इटाली सरकारको आप्रवासन कार्यक्रमसम्बन्धी जानकारी नहुँदा धेरै नेपाली दलालहरूको फन्दामा पर्ने गरेका छन् । इटालीको आप्रवासन नीतिका बारेमा थोरैमात्र जानकारी संकलन गर्ने हो भने पनि कम खर्चमै इटाली आउने तथा यहाँ बस्ने आधिकारिक अनुमति पत्र प्राप्त गर्न सकिन्छ ।
इटालीमा सबै कुरा नराम्रो छ भन्ने पनि होइन । विभिन्न विषय र उद्देश्यअन्तर्गत स्थायी तथा अस्थायी अनुमतीपत्र पाएका व्यक्तिहरूले न्यूनतम मापदण्ड पूरा गरे उनीहरूले आफ्नो परिवारलाई पनि इटाली ल्याउन सक्छन् । त्यसका लागि सम्बन्धित व्यक्तिले आफ्नै नाममा अपाटर्मेन्ट लिएको हुनुपर्छ । त्यस्ता व्यक्तिलाई इटालीमा आफ्नै उद्योग-व्यापार गर्न कुनै कठिनाइ हुँदैन । आफूले जानेको क्षेत्रमा उचित लगानी गर्न सकियो भने इटालीमा व्यवसाय गर्न सकिने सम्भावना प्रसस्त छ । आज अनेकौं नेपाली इटालियन रेस्टुराँमा कुकका रूपमा काम गर्छन् । इटालीमा कुकले ठूलो सामाजिक सम्मान प्राप्त गरेका हुन्छन् ।
आफन्तहरू इटालीमा छन् भने उनीहरूका माध्यमबाट कतै न कतै काम पाउन सकिन्छ । त्यसरी पाइने काम भनेको रेस्टुराँ, घरेलु सहयोगी, कियर गिभर, गार्डेनर आदि हुन् । ठूला कम्पनीमा काम प्राप्त गर्न सकियो भने कम्पनीका प्रचलित बिदाहरू, बोनस, स्वास्थ्य बिमाजस्ता सुविधा पनि उपयोग गर्न सकिन्छ । त्यसका लागि धैर्यता एवं लगनशीलता आवश्यक छ ।
दिनेशबाला श्रेष्ठ