साप्ताहिक संवाददाता
कान्छी मट्याङट्याङ
हास्यप्रधान चलचित्र 'कान्छी मट्याङट्याङ' को सार्वजनिक प्रदर्शन मंसिर २६ गतेदेखि प्रारम्भ हुने भएको छ । अभिनेता पुरन थापाले आफ्नै लेखन तथा निर्देशनमा यो चलचित्र तयार पार्न लागेका बताएका हुन् । चलचित्रमा जय किशन बस्नेत, सारिका केसी, राजाराम पौडेल, पुरन थापा, लय संग्रौला, शोभित बस्नेत, लक्ष्मी गिरी, रमेश मट्टारे, राजेन्द्र खड्गी आदि कलाकारले अभिनय गर्ने छन् ।
इच्छाको ट्रेलर
मुनाल घिमिरेद्वारा निर्देशित चलचित्र 'इच्छा' को ट्रेलर यसै साता सार्वनिक भएको छ । माघ २ गतेदेखि प्रदर्शन हुने यो चलचित्रमा दयाहाङ राई, सुवास थापा तथा शिखा शाही मुख्य भूमिकामा छन् ।
आभासको टिजर
चलचित्र सम्पादकका रूपमा स्थापित सुरेन्द्र पौडेलको डेब्यु निर्देशनको चलचित्र 'आभास' को टिजर सार्वजनिक भएको छ । निशा अधिकारी, संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृति श्रेष्ठ आदि कलाकारले अभिनय गरेको यो चलचित्र पुस २५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
फूलैफूलको मौसम.....
दिनेश डिसीको निर्माण तथा निर्देशनको चलचित्र 'फूलैफूलको मौसम तिमीलाई' को छायांकन सम्पन्न भएको छ । चलचित्रमा नीता ढुंगाना तथा डेब्यु अभिनेता आमेश भण्डारीको मुख्य भूमिका छ ।
जिन्दगी रक्सका कुरा
पुस १८ गते सार्वजनिक हुने चलचित्र 'जिन्दगी रक्स' का कलाकार अकेशा विष्ट तथा सौरभराज तुलाधर प्रचारप्रसारका क्रममा चितवन पुगेका छन् । युवाहरूको जीवनशैली तथा मायाप्रेम प्रस्तुत गरिएको यो चलचित्रको 'लखर-लखर' गीत अहिले लोकप्रिय भैरहेको छ । निकेश खड्का यो चलचित्रका निर्देशक हुन् ।
छायांकनमा हाउ फन्नी
चलचित्र 'हाउ फन्नी' को छायांकन भोलि शनिबार वनस्थलीको एक अनाथ आश्रमबाट प्रारम्भ हुँदैछ । निलु डोमा शेर्पाको डेब्यु निर्देशनको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी तथा अनुप विक्रम शाहीले अभिनय गर्नेछन् ।
लभ यू बाबाको सेन्सर
आठवर्षे बालक सौगात विष्टद्वारा निर्देशित चलचित्र 'लभ यू बाबा'ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएपछि सबै उमेरका दर्शकले यो चलचित्र हेर्न पाउने भएका छन् । सेन्सरपछि बोर्ड सदस्य मेलिना मानन्धरले बाल निर्देशक सौगातलाई चुम्बन गरेकी थिइन् । मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा गजित विष्ट र संगम विष्ट मुख्य भूमिकामा छन् ।
पुसमा दि रेन्ज
चलचित्र दि रेन्ज पुस ४ गते नेपालभर एकसाथ प्रदर्शन हुने भएको छ । गौतम वुद्धलाई कथाको पृष्ठभूमिमा राखिएको चलचित्रमा एउटा साधारण मानिसलाई प्राप्त हुने अलौकिक दैवी शक्तिको सही प्रयोगबाट प्राप्त हुने परिणाम तथा दुरुपयोग गर्दाको परिणाम समेटिएको छ । यो चलचित्रमा राज क्षितिज, लोकेन ओली, दीपा थापा, गणेश उप्रेती, सुनिता आचार्य, गोपी तामाङ, सुजन वन, रमेश तामाङ, निशा सुनुवार आदि कलाकारको महत्त्वपूर्ण भूमिका छ ।